fbpx
राष्ट्रिय समाचार

चनाचटपट बेचेरै मासिक ७५ हजार कमाउँछन् ७० वर्षीय 'चटपटे बाजे'

फाइल फाेटाे

म्याग्दी । धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । सक्रिय जीवन बिताउन चाहँदैनन् । साठी वर्ष कटेपछि अब मैले के गर्न सक्छु र भन्ने हिनताबोधले ग्रस्त भएर छोराछोरी र परिवारको भर पर्छन् । 

तर, म्याग्दीका ७० वर्षीय एक वृद्धले छोराछोरी र आफन्तहरुको कुनै आश नगरी तीन हजार रुपैयाँको लगानी जुन व्यवसाय सुरु गरे, त्यसले अहिले उनलाई मासिक रु. ७५ हजार आम्दानी जुटाइदिन्छ ।

बिहान उज्यालो भएदेखि राति १० बजेसम्म चनाचटपटे बनाउन भ्याइनभ्याई हुन्छ म्याग्दीका ७० वर्षीय लालबहादुर पुर्जा र उनकी श्रीमती ६५ वर्षीया लीलामती पुर्जालाई ।

बेनी बजारको मंगलाघाटमा २०६७ सालदेखि चनाचटेपटेको व्यवसाय सुरु गरेका पुर्जा दम्पतीले चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टा तारेर बिक्री गर्दै आएका छन् । 

अमिलो, पिरो र स्वादिलो चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टाका परिकार बेचेर नै मासिक रुपमा रु. ७५ हजार भन्दा बढी कमाइ हुने बताउने पुर्जा दम्पतीको संसार अनि, सम्पत्ति दुबै बनेको छ, चटपटे व्यवसाय ।

‘मैले जिन्दगीमा खानुसम्मको हण्डर खाएँ, केही शीप नलागेर आत्महत्या गर्ने सम्मको विचार गरें’, आफ्नो अतितलाई सम्झँदै सफलताको कुटुरो फुकाउन सुरु गर्नुभयो हँसिला र रसिला पुर्जाले । आफ्नो विगतको विरसिला कुराहरू सुनाइरहँदा पुर्जाकी श्रीमती लीलामती आडैमा बसेर आँसु पुछिरहेका थिए ।

सत्र वर्षको उमेरमा आफ्नो गाउँ म्याग्दीको कुहूँ थाइबाङबाट गरीबीका कारण लखेटिएर भारतका विभिन्न शहरहरुमा चौकीदारी र मजदूरी गर्दा पनि परिवार पाल्न नसकेपछि आत्महत्या गर्ने मनस्थितिमा पुग्नुभएका पुर्जाको जीवन अहिले रहरलाग्दो बनेको छ । 

परिवार पाल्न पुग्ने कमाइ नभएपछि नेपाल फर्किएका पुर्जाले बेनी बजारकै एउटा निजी विद्यालयमा ढोकापालेको काम गरे । त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेपछि उनले शुरु गर्नुभयो चनाचटपटे व्यवसाय ।

‘मैले बोर्डिङका सञ्चालकलाई ५०० रुपैयाँ तलब बढाइदिन भनें’, चनाचटपटे व्यवसाय शुरु गर्दाका दिनहरु सम्झँदै पुर्जाले भने, ‘बोर्डिङ सञ्चालकले नबढाइदिए पछि त्यसैको झोंकमा आफन्तसँग तीन हजार रुपैयाँ सापटी लिएर यो व्यवसाय सुरु गरेको हुँ ।’ यसरी तीन हजार रुपैयाँबाट सुरु गरेको उनको व्यवसाय अहिले फलेफुलेको छ ।

पुर्जालाई उनका ग्राहकहरुले ‘चटपटे बाजे’ भनेर सम्बोधन गर्छन् । हँसिला, फरासिला र रसिला पुर्जाले आफ्ना ग्राहकहरुलाई स्वादिलो चनाचटपटे मात्र खुवाउनु हुन्न, रसिला कुराहरु गरेर पेट मिचिमिचि हसाउँछन् ।

‘बाजे नमस्कार’ भन्दै पसलमा आउने ग्राहकहरुलाई  नमस्कार फर्काउँदै चनाचटपटे बनाउन व्यस्त हुन्छन् पुर्जा । उनकी श्रीमती लीलामती कुखुराको टाउको र खुट्टा भुट्न थाल्छिन् । 

ग्राहकलाई देख्ने बित्तिकै उनीहरुलाई के चाहिन्छ भन्ने कुरा बुझिसक्ने हुने पुर्जा फटाफट चटपटे बनाएर प्लेटमा राखिदिँदै पैसा उठाउन थाल्छन् । मुख र हात सँगसँगै चलाउने पुर्जाका कुरा सुन्दै हाँस्दै ग्राहकहरु खान थाल्छन् स्वादिलो चटपटे र कुखुराका परिकार ।

मंगलाघाटमा एउटा घरको सटर भाडामा लिएर पुर्जाले चनाचटपटेको पसल चलाएका छन् । मासिक रु तीन हजार भाडा तिरेर सञ्चालन गरेको सो पसलमा बिहानदेखि राति १० बजेसम्म ग्राहकहरुको भीड लाग्छ । बस्ने ठाउँ भरिएपछि कतिपय ग्राहकहरुले उठीउठी नै खाने गर्छन् भने कतिपयलाई आधा घण्टासम्म पालो कुर्नुपर्छ ।

चनाचटपटे किन्न आधा घण्टाभन्दा बढी प्रतीक्षा गरिरहेकी जमुना श्रीषले यहाँ जतिको स्वादिलो चटपटे अरु कुनै ठाउँको पनि नहुने भएकाले पालो कुरेर बसेको बताइन् । 

पुर्जा आलु, प्याज, धनियाँ, कागती, खुर्जानी, भुजा, पेस्ता र बदाम मिलाएर चटपटे बनाउने गर्नुहुन्छ । अरु ठाउँको भन्दा बेग्लै स्वाद र धेरै पनि पाइने भएकाले यहाँ दिनहुँ ग्राहकको भीड लाग्ने स्थानीयवासी धनु बानियाँले बताइन् ।

पुर्जाले रु. २० देखि १५० सम्मको प्रतिप्लेट चटपटे बेच्छन् । सामान्य चटपटे प्रतिप्लेट रु. २० मा पाइन्छ भने कुखुराको खुट्टा र टाउको सँगैको चटपटेलाई १५० रुपैयाँ लिन्छन्र । 

दश वर्ष अघि बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाका पुर्जा पछिल्लो दश वर्षको अवधिमा चनाचटपटे बेचेर नै लाखौं सम्पत्तिको मालिक बनेका छन् । चार तोला सुनका औंठी र सिक्री झल्काउँदै फटाफट चटपटे बनाउने पुर्जाको कमाइ देखेर कतिपय मानिस हेरेको हेर्‍यै हुने गर्छन् । 

बेनीका बैंक तथा वित्तीय संस्थाहरुमा बचत गर्नुका साथै सार्‍हो गार्‍हो परेकाहरुलाई आर्थिक सहयोगसमेत गर्दै आएका छन् उनले । तीन छोरा र दुई छोरीका बुबा पुर्जाले कहिल्यै पनि छोराछोरीको आश नगरेको बताए । उनले भने, ‘हातखुट्टा चलुञ्जेलसम्म यही व्यवसाय गर्छु । मलाई यसैमा मस्ती छ ।’ (रासस)