fbpx
समाचार

माधव कमरेड, विप्लवको जिम्मा लिन सक्नुहुन्छ ?

ओली सरकारले लगानी सम्मेलन यही चैत्र १४ गतेदेखि गर्दैछ । यसलाई सफल बनाउन लागि सरकार प्रयत्नमा लागिरहेको बखत नेकपा विप्लव समूहले अरुण जलविद्युत आयोजनाका महत्वपूर्ण उपकरण ध्वस्त पार्ने, टेलिफोन टावरमा आगजनी गर्ने, चन्दा आतंकका नाममा निजी उद्यम र उद्योग तथा व्यक्तित्वहरुलाई समाप्त पार्नेसम्मका चरम आतङ्ककारी तथा आततायी गतिविधि बढाइरहेको देखिन्छ । यो भनेको सानोतिनो र चानचुने कुरा होइन ।

नेपालजस्तो मुलुकमा वैदेशिक लगानी अपरिहार्य हुन्छ । यो लगानी सम्मेलन ऐतिहासिक अवसर हो । यो असफल हुँदा यो सरकार त असफल हुन्छ हुन्छ र देश पनि असफलताको गर्तमा जाकिन्छ । यो कुरा १५ वर्ष सम्म पार्टी प्रमुख भएका र प्रधानमन्त्री भएका वरिष्ठ नेता माधव नेपालले नबुझ्ने कुरा होला जस्तो लाग्दैन । तर, बुझीबुझी बुझ पचाएजस्तो लागेको छ ।

मन्त्रिपरिषदले मंगलबार विप्लव पार्टीका गतिविधिहरुलाई प्रतिवन्धित गरेपछि नेकपाका केही उपल्ला तहका नेताहरुको निद्रा हराम हुन गएको खबर भाइरल भएको छ । यसमा वरिष्ठहरु नै अग्रस्थानमा देखिन्छन् ।

स्वयं माधव नेपालले सिके राउतसम्बन्धी विषय पार्टी सचिवालयको वैठकमा भएको सरसल्लाहसमेत नभएको भन्ने  पत्रिकामा प्रकाशित देख्दा अचम्म लाग्यो ।

विप्लव पार्टीसित वार्ता संयोजक सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ता समितिले विप्लव पार्टीका बुद्धिजीवी गुणराज लोहनी मार्फत् सहजीकरण गर्न आग्रह गरेको यथार्थ सत्य जगजाहेर भएको छ । लोहनीकै आग्रहमा वार्ताको अनुकूल र सहज वातावरण बनाउन विप्लव पार्टी नेताहरु खड्गबहादुर विश्वकर्मा, उमा भुजेल, मोहन कार्की र पदम राई लगायतलाई सरकारले थुनामुक्त पनि गर्‍यो ।

अनि पत्रसहित वार्तामा आउन गरेको आग्रहलाई विप्लव पार्टीले अस्वीकार गरेको देखिन्छ । यस्तो यथार्थ र वास्तविकता हुँदाहुँदै माधव नेपाललाई चाहिँ सरकारले विप्लवलाई वार्तामा पत्रसहित नबोलाएको भन्ने कुरा कसरी थाहा भयो ?

वार्ता समितिले विप्लव समूहलाई राजनीतिक भनिएको अवस्थामा एकाएक प्रतिवन्ध लगाएको र यसले पार्टी र सरकारको छवि धुमिल भएको पत्रिकामा प्रकाशित छ ।
माधव कमरेड, कुनै पनि पार्टी सधैं राजनीतिक हुन्छ र ? विप्लव पार्टीले लगानी सम्मेलन विथोल्न जनधनको गम्भीर क्षति र नोक्सानी गर्ने र यसलाई अरु बढावा दिने आतङ्ककारी गतिविधि गरेपछि पनि यस पार्टीलाई राजनीतिक भनिरहन सुहाउँछ कमरेड ?

माधव नेपाल लगायत नेताहरुले विप्लवका आतङ्ककारी गतिविधिको विरोध गरेका छन् । सरकारका सकारहरुलाई बिट मारेर प्रभावशाली रुपमा कतै समर्थन गरेका छन् ? गोयवल्स शैलीको सरकारविरोधी मिडियाका भरमा भ्रमित भएका जनताका भ्रमित विचारलाई आधार मानेर जनता यसै भन्छन् भन्ने केही नेताहरुको बेहोरा देख्दा अचम्म लाग्छ । ओली सरकार र पार्टी अध्यक्षका ससाना र झिना मसिना विषयमा मिडियामा बुरुक्क उफि्रने वरिष्ठ नेताहरु किन सतही वक्तव्यबाजी गर्छन् ?

ओली र प्रचण्डका बीच चिया कपमा तुफान होइन, सुनामी सिर्जना गर्न भगिरथ प्रयन्त गर्ने नेताहरु पनि देखिएका छन् । सिके राउत सहमति विषय सन्दर्भमा प्रधानमन्त्री ओलीले राउतसित समान स्थानमा रखेर दाँजे भनेर पनि कोकोहोलो मच्चाइरहेको देखिन्छ ।

प्रधानमन्त्रीले बोल्दा तौलेर प्रचण्डको साहसको उच्च प्रशंसा गर्नुभएको छ भने राउतलाई भने थोरै भए पनि साहस गरेको स्पष्ट उल्लेख गरिएको पाइन्छ । न पत्याए फेरि एकपल्ट दोहोर्‍याएर पढे हुन्छ ।

संसारमा साम्राज्यवादीद्वारा पालित पोषित एक हज्जार जति कम्युनिष्ट नामका पार्टीहरु क्रियाशील छन् । हँसिया हथौडा झण्डा बोक्तैमा सबै कम्युनिष्ट पार्टी हुँदैनन् कमरेड नेपाल ?

झण्डा, नारा र कथित नीति हेरेर होइन, उसका कृत्य हेरेर पार्टी पहिचान छुट्याउनुपर्छ ।

विप्लव पार्टी त्यस्तो नहोला र नहोस् तर नेपालजस्तो सामरिक दृष्टिले अत्यन्त संवेदनशील मुलुकमा कुनै पनि पार्टी र अझ कम्युनिष्ट पार्टीलाई आफ्नो स्वार्थ अनुकूल परिचालित गर्ने कुरा विगतका कैयौँ राजनीतिक गतिविधिहरुबाट जगजाहेर भएकै छ ।

नेपालजस्तो सामरिक दृष्टिले अत्यन्त संवेदनशील मुलुकमा आˆनो स्वार्थअनुसार नेपालका पार्टीहरु के कसरी, कुन रुपमा परिचालित गर्छन्, प्रतिक्रियावादीहरुले भन्ने कुरा नेपाललाई बताइरहनु नपर्ला ।

यो पनि पढ्नुहोस
विप्लव समूहलाई प्रतिबन्ध गर्नु अपरिपक्व निर्णय : माधव नेपाल

विप्लव पार्टीले लगानी सम्मेलनका मुखमा देशव्यापी आतङ्कारी गतिविधि तीव्र पार्नुको नियत के हुन सक्छ ? के यो पनि देश र जनताको अगं्रगमनका लागि गरिएको र गर्न खोजिएको हो माधव कमरेड ?

के अहिले पञ्चायतकाल हो ? के अहिले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रकाल हो ? अहिले त संघीय लोकतान्त्रिक गणतान्त्रिक काल होइन र ? संविधानमा आफूले चाहेको राजनैतिक व्यवस्था ल्याउन अब बन्दुक बोक्नै पर्दैन भनेको थाहा छैन ? अनि यसबेला शान्तिपूर्ण वैधानिक राजनीति गर्ने बाटाहरु खुल्ला, खुलस्त भएका बेला बन्दुक नै बोक्नु पर्छ र ? धरानबाट धनकुटा जाने अनेक बाटाहरु हुँदाहुँदै अक्कर र भीरको बाटो हिँड्नु पर्छ । के बन्दुक बोक्दा मात्र क्रान्तिकारी भइन्छ ? के द्वन्द्ववादका नाममा घाँटी नै रेट्नुपर्छ ? बेलाको बोली र मौकाको काम गर्न सकिएन भने समयले तपाइर्ंलाई पर्खिँदैन ।

लगानी सम्मेलन आगामी चैत्र १४ गते हुने निश्चित छ । विप्लव यसलाई बिथोल्न पूरै तयारीमा रहेको देखिन्छ । यसलाई ऐन मौकामा रोक्न सकिएन भने चाहिँ पार्टी, सरकार र देशकै ठूलो बदनामी हुने कुराचाहिँ नेपालले देख्नुभएन ?

नेकपाका वरिष्ठ र उपल्ला नेताहरुको हुलिया यस लेखकलाई पूरै थाहा छ । आफू राष्ट्रपति हुन नपाउँदा, भनेकै बेला मन्त्री पद नपाउँदा, सदा सर्वदा पार्टीको प्रमुख हुन नपाउँदा कुन कुन नेता के कस्ता बेसरम बेहोरा देखाउँछन् सब यस लेखकलाई थाहा छ ।

देश र जनताको हितलाई भातसित तुलना गर्ने कथित नेताको बेहोरा सुन्दा र देख्दा आफैँलाई धिक्कार्न मन लाग्छ । कस्ता कस्तालाई नेता भनिरहनु पर्ने हो, देख्नेलाई नै लाज हुन थालेको छ । कुनै वरिष्ठ नेतालाई देश,जनता र पार्टी भड्खालोमा परे पनि जीवनमा एक पल्ट प्रधानमन्त्री बन्नु छ ।

राजनीतिक बिचौलियाहरु नेकपाभित्र चाहिँ छैनन् भन्नै सकिन्न । अनि के घर जलेपछि कुवा खन्ने हो र । पार्टी अध्यक्ष प्रचण्डलाई यो विषय जानकारीमा रहेको थाहा पाइन्छ । तर देश डुब्न लागेको देखेपछि पार्टी बैठक बसेर छलफल गरेर समय खेर फाल्ने हो र ?

म्ााधव नेपालजी, यो सरकार पार्टी र अझ तपाइर्ंहरु वरिष्ठ नेताको असहयोगका कारण नै असफल हुन सक्छ । सरकार र सरकार प्रमुख यसरी दूरदृष्टिका साथ अहोरात्र खटेको अहिलेसम्म देखिएको छैन ।

कृपया सरकारका तमाम काममा परोक्ष रुपमा बाधा अवरोध पुर्‍याएर आफ्नो उचाइ नघटाउनु होला । झलक्क हेर्दा प्रधानमन्त्री ओलीले उपल्ला तहका नेताहरुलाई सामान्य जानकारी सम्म नदिएको जस्तो कुरा बाहिर आएको छ । त्यस हदसम्मको काम भएकै हो भने यसमा गम्भीर हुनुपर्छ । तर, पार्टीको उपल्लो तहमा चुृहुने भाँडाहरु पनि छन् ।

प्र्रचण्डलाई समेत बिहान जानकारी दिएर बेलुका सरकारले प्रतिबन्ध लगाएको देखिन्छ । यस कुराले पनि विषयको विशेष संवेदनशीलता जाहेर हुन्छ । तर, के माधव नेपाल जसरी विप्लव पार्टीका गतिविधिमाथि सरकार प्रतिबन्ध लगाएकोमा प्रचण्ड चिन्तित हुनुहुन्छ ? के माधव नेपाल विप्लव पार्टीको जिम्मेवारी लिनसक्नुहुन्छ ? होइन मैले त भनिदिएकै, सुनाइदिएकै हो भन्ने मात्र हो भने अब यसरी काम चल्दैन । नेताले देखेको सही सत्यलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्छ । नत्र बन्दुक आफ्नो र अर्को भन्ने हुँदैन ।

विप्लवले पड्काउने बन्दुक कम्युनिष्टको हो भनेर चेपारे मायाप्रेमले देश बन्दैन । सच्चा मित्रले अवगुण देखाएर मित्रशक्तिलाई सच्चिने मौका र समय देखाउँछ माधव नेपालजी ।

(लेखक डा. पोखरेल सत्तारुढ नेकपाका बुद्धीजीवी हुन्)