fbpx
बिशेष

विप्लव समूहको बन्दः मनोवैज्ञानिक त्रासले देखिएको आंशिक प्रभाव

३० फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले एक साताअघि नै बिहीबारको नेपाल बन्दको घोषणा गरेको थियो । महासचिव विप्लव आफैंले हस्ताक्षर गरेर २४ फागुनमा विज्ञप्ति जारी गर्दैै प्रचार–प्रसार र पूर्वतयारीका लागि ६ दिन बन्द घोषणा गरिएको बताएका थिए ।

उनले २५ र २६ गते प्रचारप्रसारका लागि छुट्टाएका थिए भने २७ गते कोणसभा, २८ गते र्‍याली र २९ मसाल जुलुस गर्ने घोषणा गरेका थिए । समूहले नेपाल बन्द घोषणा गरेको ४ दिनपछि उसका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगायो ।

एकातिर प्रतिबन्धित भएका कारण विप्लव कार्यकर्ता उग्ररुपमा प्रस्तुत हुने सर्वसाधारणको अनुमान थियो भने सुरक्षा संयन्त्र समूहका कोही पनि नेता, कार्यकर्ता सार्वजनिक रुपमा देखा नपर्नेमा ढुक्क थियो । समूहले यसअघि घोषणा गरेको बन्दका कार्यक्रममा झैँ निष्फिक्री सवारी आवत जावत हुने सुरक्षा अधिकारीहरु दाबी गर्थें ।

समूहले घोषणा गरेको बन्दको पूर्वसन्ध्यामा अनलाइनखबरसँग कुरा गर्दै काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले भनेका थिए, ‘सरकारले समेत प्रतिबन्ध लगाइसकेको अवस्थामा विप्लव समूहका जोकोहीलाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्छौं । त्यसैले हामीचाहिँ होइन, उनीहरु डराउनुपर्छ । गाडी चल्छन्, पसल ढुक्कले खुल्छन् ।’

तर, बिहीबारको बन्दले दुवै अनुमानलाई गलत साबित गराइदिएको छ । न त सर्वसाधारणले सोचेझैँ विप्लव कार्यकर्ता सडकमा देखिए न त सुरक्षा अधिकारीहरुले भने झैँ सवारी आवतजावन नै भए । शैक्षिक संस्था, उद्योग र पसलहरु पनि बन्द प्रायः थिए ।

दिनभर के के भयो ?

सुरक्षा अधिकारीहरुको विश्लेषणमा बन्दकर्ता दुई प्रकृतिका हुन्छन् । पहिलो, सडकमा निस्किने सार्वजनिक सम्पत्ति, यातायातमा आगजनी गर्ने, टायर बाल्ने… । दोस्रो, विप्लव समूह जस्ता, जसले बम पड्काउँछन् । आतंक सिर्जना गर्छन् ।

दोस्रो प्रकृतिको बन्दको हकमा सामान्य त्रास फैलिँदा पनि बन्दकर्ता आफ्नो प्रयासमा सफल हुनसक्छन् । जुन बिहीबारको बन्दमा आशिंक रुपमा देखिएको छ । शैक्षिक संस्थाहरु एकदिन अगावै विदा घोषित गरिनुले पनि यसको पुष्टि गर्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी नै भन्छन्, ‘केही दिनअघि ज्यानै जाने गरी बम नपड्किएको भए पनि यति प्रभाव पर्ने थिएन ।’

यो पनि पढ्नुहोस
विप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

नेपाली सेनाको जङ्गी अड्डाले दिएको तथ्यांकलाई मान्ने हो भने बिहीबार देशभर २२ वटा शंकास्सद वस्तु भेटिएका छन् । जसमध्ये ८ वटा होक्स (झुक्याउन राखिएका वस्तु) देखिएका थिए । त्यसमध्ये ९ वटामा केही परिणाममा विष्फोटक पदार्थ पनि भेटिएका थिए, जसलाई सेनाको बम डिस्पोजल टोलीले डिफ्यूज गर्‍यो ।

गएराति सिंहदरबारबाहिर अनामनगरमा शंकास्पद वस्तु भेटिएको थियो, जुन होक्स मात्र भएको पुष्टि भइसकेको छ । त्यसयता बिहीबार साँझसम्ममा मोरङ, चितवन, सिन्धुपाल्चोक, काठमाडौं, कास्की, पूर्वी नवपरासी, रुकुम, कैलाली, बाँके लगायतका जिल्लामा शंकास्पद वस्तु भेटिए तर, सबै डिफ्यूज भए ।

यीबोहक विप्लव समूहका नेता/कार्यकर्ताको कुनै गतिविधि देखिएन । न त उनीहरुले बन्दको पूर्वसध्यामा गर्ने भनेको मसाल जुलुस नै निकाल्न सके ।

मनोवैज्ञानिक त्रासले पारेको प्रभाव

विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएसँगै अधिकांश सर्वसाधारणको आशंका थियो, सरकारले युद्धको संखघोष ग¥यो । समूह प्रतिवादमा खरो रुपमा उत्रिन्छ ।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु अघि नेपाल प्रहरीले कपिलवस्तुस्थित सिम्बरी डाँडामा रहेको विप्लवको गाउँमा सर्च अपरेशन चलाएको थियो । त्यसक्रममा समूहका नेता दुर्गाबहादुर रोकालाई खुट्टामा गोली हानेर पक्राउ गरिएको विरोधमा समूहले नेपाल बन्दको आह्वान गरेको थियो ।

ललितपुरको एनसेल मुख्यालय अगाडि १० फागुनमा एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी शक्तिशाली विष्फोट गराएपछि सरकार झस्किएको थियो र आक्रमक बन्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । त्यही दिन कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा पनि भेटिएको बम झन् शक्तिशाली रहेको नेपाली सेनाको पोष्ट ब्लाष्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले निष्कर्ष निकालेपछि सुरक्षा निकाय एकपटक फेरि सोच्न बाध्य भयो ।

यो पनि पढ्नुहोस
विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

समूहले २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको वसुन्धारास्थित घरमा राखिएको कारमा विष्फोट गरायो । त्यहाँ विष्फोटपछि भएको आगलागीमा परेर ४ जना घाइते पनि भए । श्रृंखलाबद्ध बम विष्फोटका घटना भइरहँदा नेपाल प्रहरीको विशेष ब्यूरोका अधिकारीले समूहको दोस्रो वरियताका नेता प्रकाण्डको साथबाट २३ साउनमा बरामद एउटा डायरीमा लेखिएको कुरालाई सम्झिए ।

कलंकीबाट पक्राउ परेका प्रकाण्डको कोठामा छापा हानेर ब्यूरोले बरामद गरेको डायरीमा लेखिएको थियो, ‘सेवोटेज– प्रचण्ड, केपी, देउवा…. ।’ त्यसमा थप नामहरु पनि थिए । सोही दस्तावेजमा एनसेल, भारतीय लगानीका परियोजना, मेनपावर व्यवसायी लगायतलाई निशाना बनाउने निर्णय थियो ।

जब डायरीमा लेखिएका कुराहरु धमाधम परिणाममा बदलिँदै गए, सुरक्षा अधिकारीहरुले यो कुरा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी शर्मा ओली लगायतसम्म पुर्‍याए । र, प्रधानमन्त्री ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाउन डाकिएको मन्त्रिपरिषद बैठकमै आफूहरुको हत्या योजना बनाइएको दाबी गरे ।