समाचार

गाउँको सेवा गर्छु भन्थिन् ‘पूर्णिमा’ – राष्ट्रिय

फाल्गुन २९, २०७४

सानैदेखि डाक्टर बन्ने सपना साँचेकी पूर्णिमा लोहनीलाई बुवा नुरबहादुरले उनकै चाहना अनुसार डाक्टरी पढ्न बंगलादेश पठाए । ५ वर्षको एमबीबीएस कोर्स सकेर उनी बंगलादेशको ढाकाबाट काठमाडौं आउन सोमबार बिहान यूएस बंगला विमान चढिन् । ‘बुवा मलाई काठमाडौं लिन आउनु है’ भनी सोमबार बिहान पूर्णिमाले बुवा नुरबहादुरलाई फोन गरिन् । उनी आइपुग्ने समय काठमाडौंबाट नुरबहादुरलाई स्थानीय सन्तोष लोहनीले फोन गरे, ‘नानी आइपुग्ने बेला भयो’ भनेर । माइली पूजा र कान्छी लेलिना काठमाडौंमै रहेकाले ब्यक्तिगत काम परेको भनी नुरबहादुर काठमाडौं गएनन् । एक्कासी टेलिभिजनले युएस बंगलाको विमान दुर्घटनाको खबर सुनाएपछि उनी छाँगाबाट खसेजस्तै भए ।