एमालेले आफैं भन्यो, पार्टी भित्र दण्डहीनता मौलायो – राष्ट्रिय

फाल्गुन २९, २०७४

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको आयोग बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी दण्डहीनता मौलाइरहेको निष्कर्ष निकालेको हो । बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षण समेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिनुभयो । यस्तै, बैठकले पार्टीका कमिटीहरु प्राय: निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्र देखि आधारभूत तहसम्मका कमिटीका बैठक समेत राम्ररी नभएको समेत जनाएको छ ।