बेलायतका इमिग्रेसन सेन्टरमा वर्षौसम्म राखिन्छन् आप्रवासी

लण्डन । बेलायतमा रहेका विभिन्न इमिग्रेसन डिटेन्सन सेन्टरहरुमा आप्रवासीहरुलाई अस्वभाविक ढंगले निकै लामो समयसम्म राख्ने गरिएको तथ्याङ्क  सार्वजनिक भएको छ ।

डिपोर्टेसनका लागि डिटेन्सन सेन्टरमा राखिएका कतिपय आप्रवासीहरुलाई ४ वर्षसम्म पनि डिटेन्सन सेन्टरमै राखिएको खुल्न आएको छ । डिटेन्सन सेन्टरहरुको अवस्थामा कारागारकै जस्तो रहेकोले त्यहां राखिएका आप्रवासीहरुले कैदीकै जस्तो जीवन बिताउन बाध्य भएको समेत उल्लेख गरिएको छ ।

कतिपय केसहरुमा डिटेन्सन सेन्टरमा रहेका आप्वासीहरुसंग कुनै पनि कागजात नभएको र कानुनी लडाईंको प्रक्रियामा ढिलाई भएका कारण पनि उनीहरुलाई देश फर्काउने प्रक्रिया लम्बिने गरेको छ ।

होम अफिसले भने ती डिटेन्सन सेन्टरमा राखिने आप्रवासीहरुलाई सम्भव भएसम्म छिटो देश फर्काउन कोशिस गरिने बताएको छ ।

लण्डनको हिथ्रो विमानस्थलनजिक रहेको हार्मण्डस्वर्थ डिटेन्सन सेन्टर बेलायतको मात्र नभएर सिंगो युरोपकै सबैभन्दा ठूलो डिटेन्सन सेन्टर हो ।

गत अक्टोबर महिनामा भएको एक निरिक्षणको क्रममा त्यस सेन्टरमा मात्रै ५ सय ५२ जना आप्रवासीहरु राखिएका थिए । तीमध्ये झण्डै २ दर्जन आप्रवासीहरु १ वर्षभन्दा लामो अवधिदेखि सेन्टरमा रहेका थिए । सोहि डिटेन्सनमा सेन्टरमा एक आप्रवासीलाई पछिल्लो ४ वर्षदेखि राखिएको पनि पाइएको थियो ।

कैयौं युरोपेली मुलुकहरुमा यस्ता इमिग्रेसन डिटेन्सन सेन्टरमा आप्रवासीहरुलाई अधिकतम कति अवधिसम्म राख्न मिल्ने भन्ने समयसीमा तोकिएको हुन्छ । तर बेलायतमा त्यस्तो कुनै समयसिमा नतोकिएका कारण पनि कतिपयलाई वर्षाैंसम्म राख्ने गरिएको छ ।

बेलायत सरकारले पछिललो समय डिटेन्सन सेन्टरहरुमा सुरक्षा तथा स्वास्थ्यका दृष्टिले विभिन्न सुधार तथा भौतिक सुविधाहरु थप गरेको बताइरहको भएपनि अझै पनि त्यहांको अवस्था नाजुक नै रहेकोे छ । अधिकांश डिटेन्सन सेन्टरहरुमा जताततै फोहोर र अस्तव्यस्त पाइएको रिपोर्टहरु छन् । ती सेन्टरहरु लिभिंग स्टाण्डर्डका हिसाबले निकै न्यून तहमा रहेको बताइएको छ ।

होम अफिसले भने इमिग्रेसन नियन्त्रणको एक अभिन्न भाग भन्दैडिटेन्सन सेन्टरहरु अपरिहार्य रहेको बताउंदै आएको छ । तर सेन्टरमा आप्रवासीहरु राख्ने समय अवधि सम्भव भएसम्म छोटो बनाउने प्रयास गरिदै आएको उसको दाबी छ ।