सयौंको सहभागितामा लण्डनमा गरियो बुद्ध शान्ति पदयात्रा

लण्डन । २५६२ औं बुद्धजयन्तीको अवसरमा लण्डनको वुल्वीचमा आयोजित बुद्ध शान्ति पदयात्रामा सयौं सहभागी बनेका छन् ।

साउथ ईस्ट रिजनल तमु धि लण्डन इकाईको आयोजनमा स्थानीय मुलग्रेभ प्राइमरी स्कुलमा धार्मिक पूजा, प्रवचन सहित बुद्धजयन्ती मनाइएको छ । सन् २०१५देखि हरेक वर्ष आयोजक संस्थाका विशिष्ट सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा यो कार्यक्रम हुंदै आएको छ ।

संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास बेलायतका द्वीतिय सचिव लव सुवेदी थिए । कार्यक्रममा बेलायतका धेरै संघसंस्थाहरूबाट सहभागिता रहेको थियो ।

प्रथम चरणको कार्यक्रमलाई समाजका महासचिव ह्यारी गुरुङले सञ्चालन गरेका थिए । दोश्रो चरणको कार्यक्रमलाई संस्थाका सल्लाहकार योगेश गुरुङले सञ्चालन गरेका थिए । सहभागीहरूलाई संस्थाका उपाध्यक्ष सुमन गुरुङले स्वागत गर्दे मन्तव्य व्यक्त गरेपछि लामा गुरुहरूद्वय लामा धरम गुरुङ र आचार्य गुरु दुर्गाले बुद्ध शरण गमनको मन्त्रजपद्वारा पूजा शुरु गरेका थिए ।

कार्यक्रम संयोजक सुमल गुरुङ, अध्यक्ष श्रीचन्द्र गुरुङ, प्रमुख अतिथि लगायत संघसंस्थाका अध्यक्ष ∕ प्रतिनीधीहरूले दीप प्रज्वलन गरे पश्चात चौथो बुद्ध शान्ति पदयात्रा संयोजक गुरुङको निर्देशनमा भव्यताको साथ सम्पन्न गरिएको थियो ।

मुलग्रेभ प्राईमरी स्कुलको परिसरबाट शुरु भएको शान्ति पदयात्रा वुल्वीच मार्केट हुंदै प्लमस्टिड र पुनः वुल्वीच मार्केट हुंदै कार्यक्रम स्थल, मुलग्रेभ प्राईमरी स्कुलमा फर्केको थियो । बुद्धवाणी अंकित ब्यानरहरू, नेपाली झण्डा, बुद्ध झण्डा तथा बेलायती झण्डाहरू बोकेर बुद्ध प्रार्थना गाउंदै सहभागीहरु शान्ति पदयात्रामा भाग लिएका थिए ।

हलमा फर्किसकेपछि शाकाहरी भोजन वितरण गरिएको थियो । प्रमुख अतिथिको मन्तव्य, अध्यक्षको धन्यवाद ज्ञापन पछि कार्यक्रम संयोजक गुरुङले बुद्ध शान्ति पदयात्राबारे संक्षिप्तमा प्रकाश पारेका थिए । लामा गुरुहरूबाट पुनः पूजापाठ पछि प्रवचन कार्यक्रम गरिएको थियो ।

Leave A Reply