गृहपृष्ठ > समाचार > वनको जग्गामा धमाधम क्याम्पस भवन निर्माण

वनको जग्गामा धमाधम क्याम्पस भवन निर्माण

२९ जेठ, कैलाली । सरकारी वनको जग्गामा धमाधम क्याम्पसको भवन निर्माण गरिएको छ । गौरीगंगा नगरपालिकामा इलाका वन कार्यालययनजिकैको राष्ट्रिय वनमा चौमाला बहुमुखी क्याम्पसको भवन निर्माण गरिएको हो ।

सरकारले २०७४ भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट वन क्षेत्रको एक दशमलव शुन्य ५ हेक्टर जग्गा क्याम्पसलाई उपलब्ध गराएको थियो । जंगलसंगै जोडिएको २ हेक्टर व्यक्तिको जग्गा वनलाई दिएर वनमार्फत क्याम्पसलाई जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

तर व्यक्तिको जग्गा वनलाई हस्तान्तरण नहुदै क्याम्पसले सरकारी वनमा भवन निर्माण सुरु गरेको हो । कैलाली ४ का प्रतिनिधि सभा सदस्य लेखराज भट्टले उक्त नव निर्मित क्याम्पस भवनको शिलान्यास गरेका थिए ।

उक्त क्षेत्र हेर्ने सेक्टर वन कार्यालय गेटाका प्रमुख अमरबहादुर बुलनले अहिले नै भवन नबनाउन आग्रह गरे पनि क्याम्पसले वेवास्ता गरेको बताए ।

उनले क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, भवन निर्माण समितिका अध्यक्ष लगायतलाई भवन निर्माण नगर्न गरेको आग्रहलाई सुनेको नसुन्यै गरेको बताए । अहिलेसम्म पनि उक्त जग्गा क्याम्पसको नाममा रजिष्ट्रेसन पास भएको छैन ।

उता वनमा निर्माण हुन लागेको उक्त भवनलाई गौरीगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले नगरस्तरीय निर्णयबाट उक्त रकम विनियोजन गरेको बताए ।

चौमाला बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिनेश जोशीले नगरपालिकाबाट उपलब्ध रकम फ्रिज जाने भएकाले क्याम्पसको भवन निर्माण गर्नुपरेको बताए । प्रक्रियामा गइसकेकाले उक्त जग्गा ढिलो चाँडो क्याम्पसको नाममा आउने पनि बताए ।

२०७५ जेठ २९ गते १३:४६ मा प्रकाशित

सायद यो पनि तपाईंलाई मनपर्छ

श्रेष्ठताको भिडन्तमा रूस र उरुग्वे

मस्को – विश्वकपअघि रूसले समूहचरण पार गर्ने थोरैले मात्र अनुमान गरेका थिए । तर सुरुआती …

Leave a Reply

Your email address will not be published.

Enable Google Transliteration.(To type in English, press Ctrl+g)