समाचार

‘लगानीयोग्य रकम अभाव हुँदैन भन्नेमा आशावादी छौं’

गोविन्द गुरुङ  प्रमुख कार्यकारी अधिकृत सिभिल बैंक लिमिटेड  २२ वर्षको बैंकिङ अनुभव सँगालेका गोविन्द गुरुङले १३ महिनादेखि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हाल्दै आएका छन्। बैंक सञ्चालक समितिले २०७४ साउन १३ गते उनलाई कर्मचारीको उच्च पद सिइओमा नियुक्त गरेको थियो । यसअघि उनी सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय गुरुङसँग यसअघि हिमालयन, ग्लोबल आइएमई र मेगा बैंकमा पनि उच्च पदमा रहेर काम गरेको अनुभव छ । गुरुङ यतिबेला सिभिल बैंकलाई नमूना बैंक बनाउने अभियानमा लागेको बताउँछन् । लगानीयोग्य पुँजीको वर्तमान अवस्था, ऋणको ब्याजदर नघट्नुको कारण, विदेशबाट बैंकले ल्याउन लागेको ऋण, सिभिल बैंकको वित्तीय अवस्था र आगामी योजनालगायत विषयमा उनै अनुभवी गुरुङसँग नागरिकका विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंश :

लामो समय बैंकमा काम गरेको अनुभव तपाईंसँग छ । बैंकको सिइओ भएर काम गर्नु र अन्य पदमा रहेर काम गर्दाको फरक के पाउनुभयो र तपाईंले सिइओको रुपमा बैंकमा के उपलब्धि हासिल गर्नु भयो?
अन्य पदमा रहेर काम गर्नु र सिइओ भएर काम गर्नुमा धेरै फरक छ । छोटकरीमा भन्नुपर्दा सिइओ जहाजको क्याप्टेन जस्तै हो जसले संस्थाको लागि दिशा निर्देश गर्दछ । सिइओको भिजन र कार्यदक्षतामा कुनै पनि संस्थाको उन्नति, प्रगति वा दुर्गति निर्भर गर्दछ । तसर्थ सिइओको भूमिका र जिम्मेवारी अन्य पदको तुलनामा धेरै फरक हुन्छ । कामको हिसाबले भन्नुपर्दा सिइओ भएर काम गर्दा सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आउँछ भने अन्य पदमा काम गर्दा सम्बन्धित शाखाको मात्र जिम्मेवारी लिनुपर्छ । सिइओ भएर काम गर्दा बैंकको सम्पूर्ण सरोकारवालाप्रति जवाफदेहिता र उत्तरदायित्व थपिन्छ । बैंकको सम्पूर्ण कर्मचारी तथा व्यवस्थापनले गरेको समग्र काम कारबाहीका लागि सञ्चालक समिति, प्रवद्र्धक/सेयरहोल्डर, ग्राहक, नियमन निकाय लगायत समग्र समाज र देशप्रति सिइओ जवाफदेही र उत्तरदायी बन्नुपर्छ।  

उपलब्धिको सन्दर्भमा विगत १५ महिनाको छोटो अवधिमा सिभिल बैंकमा देखिने गरी धेरै उपलब्धि हासिल भएका छन् । विशेषगरी बैंकको वित्तीय परिसूचकमा व्यापक सुधार आएको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफामा ८५.२० प्रतिशत वृद्धि भई ६४.५० करोड रुपैयाँ पुगेको छ भने निक्षेप र कर्जा लगानीमा क्रमशः १७ प्रतिशत र ३४ प्रतिशतको वृद्धि भई ४०.०३ अर्ब र ४०.६९ अर्ब रुपैयाँ  पुगेको छ । त्यस्तै कर्जाको गुणस्तरमा पनि व्यापक सुधार भई निस्कृय कर्जा ४.६६ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा झरेको छ । ग्राहक वर्गका लागि बैंकिङ सेवा सुविधामा विविधीकरणका साथै सेवाको गुणस्तरमा व्यापक सुधार भएको छ । यही अवधिमा बैंकको शाखा सञ्जाल विस्तार भई ६८ शाखा पुगेका छन् । बैंकको वित्तीय परिसूचकलगायत अन्य सूचकांकमा प्राप्त सकारात्मक परिवर्तनले समग्र कर्मचारीको मनोवल उच्च हुनुका साथै बैंकको ब्रान्ड इमेजमा पनि सकारात्मक उपलब्धि हासिल भएको छ । बैंकभित्र संरचनागत तथा नीतिगत व्यवस्थामा सुधार ल्याई समग्र जोखिममा कमी आउनुका साथै पुँजी वृद्धिसँगै जोखिम बहन गर्ने क्षमता पनि अभिवृद्धि भएको छ । यी यावत उपलब्धिले सिभिल बैंक सकारात्मक दिशातिर अघाडि बढिरहेको छ।     

अहिले लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या समाधान भएको हो?
अहिले तत्काललाई तरलता तथा लगानीयोग्य रकम अभाव छैन । विगतमा पनि तरलता समस्याभन्दा पनि कर्जा दिन योग्य रकमको कमी हो अर्थात लगानीयोग्य रकम अभाव हो । पहिलो कुरा सरकारी संयन्त्रको आर्थिक वर्षको अन्त्यमा गएर धेरै खर्च गर्ने जुन प्रवृति छ त्यसमा व्यापक परिवर्तन नआएसम्म यो समस्या रहिरहने देखिन्छ । उदाहरणका लागि गत आर्थिक वर्षमा चैत वैसाखसम्ममा साधारण खर्चबाहेक अन्य खर्च लक्ष्यभन्दा अत्यन्त न्यून रहेकामा असार महिनामा मात्र सरकारी ढुकुटीबाट करिब दुई सय अर्ब रुपैयाँ खर्च भई बजारमा प्रवाह भएको थियो । यसले हाल साउन–भदौ महिनामा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव छैन भन्ने देखाउँछ।

यही परिपाटी दोहोरिने हो भने फेरि मंसिर–पुसबाट बैंकमा लगानीयोग्य रकम अभाव हुने देखिन्छ । सरकारले कर भन्सारको माध्यमबाट बजारबाट दैनिक रकम खिचिराख्ने तर खर्च नगर्ने जुन परिपाटी छ, त्यसमा परिवर्तन ल्याई वर्षैभरी समानुपातिक रुपमा खर्च गरी बजारमा नगद प्रवाह गरेको खण्डमा धेरै हदसम्म यो समस्या समाधान हुने देखिन्छ । दोस्रो दीर्घकालीन रुपमा तरलता तथा लगानीयोग्य रकम अभावको समस्या निराकरण गर्न राष्ट्रिय बचत बढाउनु पर्छ  । यसका लागि आयात प्रतिस्थापन गर्ने खालका उत्पादनशील क्षेत्रमा लगानी बढाउने, कुल गार्हस्थ उत्पादनमा अभिवृद्धि गर्ने, व्यापार घाटा घटाउने लगायत समग्र रुपमा राष्ट्रिय बचत बढाउनेतर्फ अग्रसर हुनुपर्छ।   

यस वर्ष लगानयोग्य पुँजी अभाव होला कि नहोला?
मैले पहिले पनि भनिसके कि सरकारले गत वर्षजस्तै आर्थिक वर्षको अन्त्यमा आएर धेरै खर्च गर्ने परिपाटी बदल्नु पर्छ । हामीले सरकारको विगतको जस्तो खर्च गर्ने परिपाटी दोहोरिँदैन भन्ने अनुमानका आधारमा सकारात्मक भई आफ्नो रणनीति तथा कार्यक्रम तर्जुमा गरेका छौं । आर्थिक वर्षको डेढ महिनाको अवस्था हेर्दा गत वर्षको जस्तै अवस्था नआउला भन्न सकिँदैन । तर हामी अझै तरलता तथा लगानीयोग्य रकम अभाव नहुने कुरामा सकारात्मक छौं । अहिले पुनर्निर्माण र पूर्वाधार विकासका कामले गति लिएको छ । यससँगै समानुपातिक रुपमा सरकारी खर्चमा पनि अभिवृद्धि होला र बजारमा रकम प्रवाह भई लगानीयोग्य रकम अभाव  नहोला भन्नेमा हामी आशावादी छौं।

कर्जाको ब्याजदर घट्ने सम्भावना कत्तिको छ?
तरलता तथा लगानीयोग्य पुँजी अभाव भएन भने कर्जाको ब्याजदर बिस्तारै घट्दै जान्छ।

अहिले लगानीयोग्य पुँजी केही सहज भए पनि ब्याजदर घटेको छैन नि?
निक्षेप र कर्जा दुवैको ब्याजदर केही घटेको छ । केही समयअघि मुद्दती निक्षेपमा बैंकहरुले ११ प्रतिशत ब्याजदर दिएका थिए भने अहिले १०.५० प्रतिशत दिन थालेका छन् । बचतमा पनि पहिला आठ प्रतिशतमा ब्याज दिइरहेका बैंकले अहिले सात प्रतिशत दिन थालेका छन् । त्यस्तै कर्जाको ब्याजदर पनि घट्दो क्रममै छ । गत चैत मसान्तमा हाम्रो बैंकको बेस रेट १२.३६ प्रतिशत थियो भने असार मसान्तसम्म घटेर ११.८४ प्रतिशतमा आएको छ, जसले गर्दा सरदरमा ०.५ प्रतिशतका दरले ब्याजदर घटेको छ । यस वर्षको मौद्रिक नीतिअनुसार बैंकको अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर) केही घटेकाले आगामी दिनमा बैंकको बेस रेट केही हदसम्म अझ घट्न सक्ने देखिन्छ, जसले गर्दा कर्जाको ब्याजदर पनि घट्न सक्ने अनुमान गर्न सकिन्छ । तर फेरि तरलता तथा लगानीयोग्य रकमे अभाव हुन गएमा कर्जाको ब्याजदर बढ्न पनि सक्छ।  

राष्ट्र बैंकले तरलता अभावलाई व्यवस्थापन गर्न बैंकहरुले विदेशी वित्तीय संस्थाबाट परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । के विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सहज छ?
नेपाल राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट परिवत्र्य मुद्रामा ऋण लिन पाउने नीतिगत व्यवस्था  सकारात्मक छ । तर हालको अवस्थामा यो काम त्यत्ति सजिलो र फाइदाजनक भने देखिएको छैन । पहिलो, विदेशी बैंकले हाम्रो नेपाली बैंकलाई सजिलै पत्याउने अवस्था छैन । अहिले पनि हामीले कन्फर्म एलसी खोल्दा परिवत्र्य विदेशी मुद्रामा सय प्रतिशत नगद सुरक्षण (क्यास कोलाटेरल) राख्नुपर्छ जसले गर्दा बिना सुरक्षण विदेशी बैंकबाट कर्जा पाउने सम्भावना न्यून देखिन्छ । दोस्रो, हाम्रो विदेशी बैंकहरुसँगको प्रारम्भिक छलफल अनुसार यस खालको ऋणमा सरदर ६ प्रतिशत सम्मको ब्याजदर पर्ने,  विनिमय घाटा हेजिङका लागि करिव ५ प्रतिशत शुल्क लाग्ने तथा कर्जा शुल्क÷कमिशन थप १ प्रतिशतको हाराहारीमा पर्ने हुनाले कुल कर्जा लागत नै करिव ११ प्रतिशत भन्दा बढि पर्न आउने देखिन्छ जसले गर्दा यसबाट खासै फाईदा हुने देखिएको छैन।

सिभिल बैंकको वित्तीय अवस्थामा कस्तो छ?
सिभिल बैंकको वित्तीय अवस्था समग्रमा प्रगति उन्मुख छ ।  गत आर्थिक वर्षको तुलनामा बैंकको सम्पूर्ण वित्तीय परिसूचकमा उत्साहजनक प्रगति भएको छ । मैंले अघि भने झैं खुद नाफामा ८५.२० प्रतिशत सञ्चालन मुनाफामा तीन सय १८ प्रतिशत, निक्षेप संकलनमा १७ प्रतिशत, कर्जा प्रवाहमा ३४ प्रतिशतले वृद्धि भएको छ भने निस्कृय कर्जा पनि घटेर २.६५ प्रतिशतमा सीमित भएको छ । पछिल्लो समय कर्जाको गुणस्तर एकदमै राम्रो भएको छ । त्यस्तै पुँजी पर्याप्तता, तरलता, बैंकको समग्र सम्पत्ति तथा दायित्वको अवस्थालगायत अन्य सम्पूर्ण वित्तीय परिसूचक नियमन निकायले तोकेको मापदण्ड तथा प्रुडेन्सियल बैंकिङ मापदण्डभित्र रहेका छन् । त्यसैले सिभिल बैंकको भविष्य अत्यन्त उज्ज्वल छ।   

वृद्धिदर त राम्रो रहेछ तर, बैंकले खासै नाफा कमाउन सकेको छैन भन्ने सुनिन्छ नि?
नयाँ बैंक भएकाले व्यवसायको आकारसँगै नाफा कम हुनु स्वभाविकै हो । तर, वृद्धिका हिसाबले त यो ठूलो उपलब्धि हो । अघिल्लो वर्ष ३४ करोड खुद नाफा थियो भने गत वर्ष त्यो बढेर ६४ करोड ५० लाख नाफा कमाएका छौं । यसलाई त उपलब्धिकै रुपमा लिनुपर्छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको पुँजी आठ अर्ब पु-याउने नीति लिएपछि हामी पनि पुँजी वृद्धि गर्ने योजनामा लाग्यौं र सोहीअनुरुप हामीले मर्जर/एक्विजिसन तथा हकप्रद सेयर जारीमार्फत आठ अर्ब पु¥याउने कार्यमा जुट्यौं । हाल बैंकको चुक्ता पुँजी आठ अर्ब पुगेको छ, जसमध्ये ७५ करोड रुपैयाँ आउँदो वार्षिक साधारण सभाबाट अनुमोदन हुन बाँकी छ । अब हामीलाई पुँजी बढाउनु छैन, व्यवसाय बढाउनु छ । व्यवसाय वृद्धिसँगै मुनाफा वृद्धि हुनेमा हामी विश्वस्त छौं । बैंकलाई अबको दुई–तीन वर्षभित्र सबैले सम्झन लायक बैंक बनाउँछौं।

बैंकको शाखा विस्तारका योजना के कस्ता छन्?
शाखा विस्तारमा पनि हामी युद्धस्तरमा लागेका छौं । अहिलेसम्म बैंकले ६८ शाखा स्थापना गरेको छ । यस वर्ष ५१ शाखा थपेर एक सय १९ वटा बनाउने योजनाअनुसार काम गरिरहेका छौं । मुलुकको सबै तह र तप्कामा बैंकिङ सेवा पु¥याउने उद्देश्यले राष्ट्र बैंकको मौद्रिक नीतिले निर्देशन गरेबमोजिम सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गरी समानुपातिक रुपमा शाखा विस्तार गरी बैंकिङ सेवा सुविधालाई विकेन्द्रीकृत गर्दै जाने र जनताको घरदैलोमा पु¥याउने तयारीमा लागेका छौं । देशको अर्थतन्त्र दु्रत गतिमा अघि बढेसँगै सिभिल बैंकको पनि सोहीअनुसार बजार विस्तार गर्ने योजना छ । राष्ट्र बैंकको निर्देशन बमोजिम देशका अति दुर्गम स्थानमा समेत बैंकले शाखा खोलेको र केही शाखा खुल्ने क्रममा छन् । यससँगै बैंकिङ सेवाको पहुँच नपुगेका अन्य स्थानमा समेत शाखा खोल्ने योजना बनाएका छौं।

सिभिल बैंकले ग्राहकलाई के कस्ता बैंकिङ सेवा प्रदान गर्दै आएको छ?
सिभिल बैंकले सम्पूर्ण तहतप्काका ग्राहकमा बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ विभिन्न प्रोडक्ट बजारमा ल्याएको छ । बैंकले स–साना पुँजी परिचालन गरी दिगो निक्षेप संकलन गर्न प्राथमिकतासाथ अघि बढेको छ, जसअन्तर्गत विभिन्नखाले ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राखी अधिकतम ब्याजसहित बचत तथा मुद्दती खाता प्रस्तुत गरेको छ । बैंकले हालैमात्र प्रविधिमा आधारित ट्याब  बैंकिङ सेवा सुरु गरेको छ । यसबाट खाता खोल्न बैंकसम्म आउन नसक्ने ग्राहकले आफ्नै घर–पसलमा बसी खाता खोल्ने लगायत बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै कर्जा लगानीतर्फ विपन्न वर्गका महिलाको उत्थानका लागि सामूहिक जमानीमा प्रदान गरिने लघुवित्त कर्जादेखि लिएर उपभोक्ता कर्जा, घरेलु–साना तथा मझौला व्यवसाय कर्जा तथा ठूला औद्योगिक संस्थालाई कर्जा प्रदान गर्दै आएका छौं।

सिभिल बैंकले कुनै रणनीति बनाएर काम गरिरहेको छ कि?
हामीले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीतिक योजना बनाएर तदनुरुप लक्ष्य निर्धारण गरी काम गरिरहेका छौं । महिना, त्रयमास र वर्ष दिनमा कुन लक्ष्यमा पुग्ने भन्ने’bout पनि योजनासहित अगाडि बढेका छौं । संस्थागत सुशासन, अनुपालन र नैतिक मूल्य–मान्यतामा आधारित रही शुन्य सहनशीलताको सिद्धान्तअनुसार हाम्रा सम्पूर्ण व्यावसायिक कारोबार निर्देशित गरेका छौं । व्यवसाय अभिवृद्धि गर्ने वा नाफा कमाउने नाममा जथाभावी कारोबार वा लगानी गर्दैनौं । सञ्चालन नियन्त्रण तथा सेवा सुदृढीकरण, समग्र जोखिम न्यूनीकरण, कर्जा गुणस्तरमा अभिवृद्धि तथा व्यवसाय अभिवृद्धि हाम्रो रणनितिक योजनाको मुख्य आधार हुन् । यसका लागि कर्मचारीको वृत्ति विकासमा जोड दिँदै विभिन्न तालिमका माध्यमबाट उनीहरुको क्षमता अभिवृद्धि गर्ने, सूचना प्रविधिको अधिकतम उपयोग गरी डिजिटलाइजेसनमा जाने लगायत विभिन्न कार्य योजनासहित अगाडि बढेका छौं।

विगतमा पनि बैंकले बैंक तथा वित्तीय संस्थालाई गाभ्दै आएको छ । आगामी दिनमा मर्जरको सम्भावना छ कि?
हाललाई चुक्ता पुँजी बढाउने हिसाबले मर्जरमा जानु आवस्यक छैन तर व्यवसाय अभिवृद्धिका लागि मर्जर/एक्विजिसनमा जाने रणनितीलाई  भने कायमै राखेका छौं।   

सिभिल बैंकले यस्तो प्रगति गर्नुको पछाडिका कारण के हुन्?
सिभिल बैंकको समग्र टिम एउटै लक्ष्य र सोचका साथ अथक परिश्रमसहित अगाडि बढेका कारण यो उपलब्धि हासिल भएको हो । साथै सम्पूर्ण ग्राहक महानुभाव, नियमन निकायलगायत अन्य सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगका कारण पनि यो प्रगति सम्भव भएको हो।