समाचार

कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

सुर्खेत, पुस २७

सरकारले कटौति गरेका माघ १ गतेको बिदालाई कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा सो प्रदेशका कानूनमन्त्री नरेश भण्डारीले मन्त्रिपरिषदको ३३औँं बैठकले माघ १ गते ‘माघे संक्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

मन्त्री भण्डारीले आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनुका साथै सुशासन प्रत्याभूति दिने व्यवस्था गर्न बनेको विधेयक, प्रदेश युवा परिषद् गठन गर्ने विधेयक, घरेलु हिंसा नियन्त्रण गर्ने विधेयक र उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय समेत गरिएको बताए ।