समाचार

उज्वल थापालाई खुलापत्र: सर्वत्र हुने कि अलपत्र ?

प्रिय उज्वलजी,

पूरा नेपाल नै उज्वल र झलमल्ल बनाउन तम्सेको तपाईँ जस्तो खाँट्टी मान्छे अचेल आफै अलमल परेको देख्दा म ताज्जुबमा परेको छु। आफूले आदर्श मानेको मान्छे कसरी कसैको गलत सल्लाहले यति कमजोर र निरीह हुन सक्छ भनेर बडो आश्चर्यमय भएको छु।

हुन त घरभित्रको कुरा घरमै गर्नु पर्ने हो, तर अब त कहाँ घरमा नै रह्यो र ? कुरा त चौतारोमा ल्याउनु नै भो मित्रहरुले, अझ भनौँ भने विवेकशीलको ब्रान्ड देब्रे छातीमा टाँसेर आफ्नै घरलाई डढाएर त्यसको आगो ताप्न खोजेका केही स्वघोषित विवेकीहरुको पन्जामा नराम्ररी फँस्नु भो !

तपाईँको नाममा खुला पत्र लेख्दा मलाई सबभन्दा नरमाईलो र आत्मग्लानि भएको छ।यो पत्र तपाई त चुपचाप पढ्नुहोला तर केही जोशिला युवा मित्रहरुले मलाई मिश्र एण्ड कम्पनीको पक्षपोषक भन्नु होला तर म रवीन्द्र त के मेरै भगवान इन्द्रको पनि गलत कुरालाई गलत नै भन्छु।पछिल्लो घटनामा रवीन्द्रजीको पनि दोष त पक्कै होला तर तपाईँकै बढि दोष देख्छु म, तपाईँको दिमागमा कतै कसैले लेडेँ ढिपीको चिप फ़िट गरेको हो कि भन्ने आशंका छ मलाई।

देश बदल्न आउनुभएको मान्छे पार्टी भित्र प्राय: समान सिद्धान्त र संकल्प बोकेका केही साथीहरू सङ्ग पनि बौद्धिक छलफल गर्न सक्नु हुन्न रे, लुकेर भागेर हिड्न खोज्नु हुन्छ रे ! त्यसले पार्टीलाई कस्तो रुप देला ? पार्टी बाहिर झन् लाखौँको संख्यामा सोच नै नमिल्ने, उल्टो नियत र नीति भएका पार्टीहरुसँग भिड्नु छ, अनि कसरी हो त ? कति कति निर्णयहरु तपाईँलाई मन नै परेनन् होला, तर खोई त फरक मत राखेर नोट अफ डिसेन्ट लेखेको ? त्यो बेला खुरु खुरु समर्थन जनाउनु भयो भन्ने सुनिन्छ त ! खै आत्म समीक्षा ?  म बाट गल्ती भयो भनेर भन्नू पर्ने हैन? के तपाईँलाई जबर्जस्ती कसैले हात समाएर निर्णय मान्नै पर्छ भनेर तानेको छ ? छ भने त्यो ठूलो गल्ती हो।

खासमा तपाईँलाई एकता नै मन परेको थिएन भने किन आफ्नै मन दुखाएर एकतामा जानु भयो? हिजो एक अर्काको नाम सम्म लिन नचाहने ओली र प्रचण्डले पार्टी एकीकरण गरेर यति बिधि छलाङ मारिरहँदा पार्टीको सिद्धान्त र पद्दति मान्छु भन्दै आएका नयाँ नेताहरुलाई किन ब्यक्तिगत गाली गलौजमा उत्रेकाहरुलाई कहिल्यै लगाम लगाउनु भएन?

पार्टी बढ्दै जाँदा पार्टीमा आएका सबै पद्दति, अभिब्यक्ति र ब्यक्तिलाई यसै गरी माझी औला ठड्याउने हो भने पार्टी कहाँ पुग्ला? के पार्टीलाई माईतीघर मण्डला वरिपरि केही समस्याको बिरोध गर्न कागजको टोपी लगाएर घुम्ने मात्र गर्दैमा तपाईँले लिएको संकल्प पूरा होला ? काठमांडौलाई मात्र देश ठानेर माईतीघर वरिपरि केही समसामयिक अभियान गरेर फोटो खिचाउँदैमा दूर दराजमा जादू गरे जस्तै गरी संगठन बन्ला र?

तपाईँ  बर्ष दिन बढीसम्म गुमनाम हुनुभयो रे, पार्टी बैठकमा अर्को पक्षले तपाईँका कुरा नै सुन्दैनन् रे, जबर्जस्ती निर्णय लाद्ने बैठकमा किन जाने भन्नुहुन्थ्यो रे ! अनि संयोजन समितिका सात आठ मध्ये तीन चार जना नगए पछि बैठक खुलामन्चमै हुनुपर्थ्यो जस्तो गरेर कोठे बैठक भन्न लगाउनुहुन्छ त ? तर हामीले देखेको त संगठनको अभियान ’bout न त तपाईको सोसल मिडिया अपडेट हुन्थ्यो, न त फ़लाना ठाउँमा पार्टी संगठन बिस्तारमा सहभागी भएँ भन्ने खबर शेयर गर्नुहुन्थ्यो, फ़लाना शुभचिन्तकले यति रकम पार्टीलाई सहयोग गर्यो भनेर तपाईँको फेसबुक या ट्विटरमा कहिल्यै देखिएन ! लूटतन्त्र सम्बन्धि पोष्ट बाहेक अरु कुनै पोष्ट देख्न पाईएन। के तपाईलाई अर्को पक्षले सोसल मिडिया प्रयोग गर्न पनि हातमा डोरी र आँखामा पट्टी नै बाँधेको हो ?

तपाईँ अमेरिका पुग्नु भयो, शुभेच्छुक र समर्थक संग भेटघाट त के एक घन्टा समय मिलाएर कन्फरेन्स कल समेत गर्न भ्याउनु भएन तर आश्चर्यको कुरा बिदेशको सद्भाव समूहको ’boutमा को संग सोधेर समीक्षा लेख्नु भयो नि ? अमेरिकाकै सन्दर्भ आधार मान्ने हो भने तपाईले देश दौडाहामा जाँदा पनि पकेटकै मान्छे मात्र भेट्नु भयो भनेर म कसरी बिश्वाश नगरौँ? अनि यत्रो गल्ती औँल्याए पछि आफैं संयोजक भएको मान्छेले त सरी भन्दै राजिनामा दिने हैन र ? अर्को पक्षले गरेको एउटा गल्ती औल्याउनका लागि तपाईँले किन झन् धेरै गल्ती गर्नु भयो?

अझ आश्चर्यको कुरा त के भने तपाईले अनलाइन पत्रिकामा दिएर भाइरल भएको प्रतिवेदनकै ’boutमा तपाईँलाई शंकाको लाभ किन नदिने भनेर अमेरिकाका साथीहरुले दुबै जना संयोजकलाई कन्फरेन्स कलमा बोलाउनु भयो, रवीन्द्रजी तयार हुनु भो, तपाईँ हुनु भएन, पछि सूर्यराजजी आउनु भो, आफ्ना पनि गल्ती छन्, भन्नुस के गरौँ म सुधार गर्न तयार छु भन्नु भो तर तपाईँ के मा ब्यस्त हुनुहुन्थ्यो? त्यता पनि कोठे छलफल थियो भन्ने बुझौँ ?  रंग र ढंग समेत मिल्नेसंगको एकतामा समेत रमाउन नसक्ने तपाईको रगतमा कुन त्यस्तो तत्व घुलेछ ?

रवीन्द्र मिश्रले पनि गल्ती त गरेका होलान्, देउता त होईनन् तर पूर्व देखि पश्चिम कुदेकै हुन्,पत्र पत्रिका देखि टि.भी. तिर पनि भ्याएकै हुन्, सबैलाई लौ आऊनुस् संगै मिलेर गरौँ भन्छन् तर तपाईँकै बिश्वाशपात्र साथीहरु हा हा हा ! लौ, मनिषा कोईरालालाई बोलायो भनेर लेख लेख्छन्,अर्का जुझारु सदस्यले सोसल मिडियामा लौ यो गरिस् पख् भनेर अब तँ बूढो घर जा, भन्दै औला ठडाउँछन्। अर्थात रवीन्द्रजीहरु चोट सहेर काम गर्नुहुन्छ, तपाईँहरु कहाँ निर खोट लगाउने भनेर भित्र भित्रै लाग्नुहुन्छ। अर्को अर्थ नलागोस्: एउटा केन्द्रीय समिति बिस्तार गर्दा पनि कतै रवीन्द्रकै मान्छे पर्ने हुन् कि भन्दै डराएर बिरोध मात्र गर्नेले संगठन हाँक्न गाह्रो भएर, पूरानै क्लब मोड़लमा फर्कन लाग्नु भएको हो ? पार्टीको एउटा महाधिवेशन सम्म पनि कुर्न नसक्ने यो कस्तो धैर्यता हो ? तपाई सही भए तपाईका बिरोधी त महाधिवेशनमा त्यसै बढारिन्थे नि हैन र ?

असहमति पक्कै थिए होला तपाईँ आफै १६ महिना गुप्तबास बस्नु भो, काम गर्नु भएन,बैठकमै आउन अटेर गर्नु भो, फ़ोन स्विच अफ गरेर बस्नु भो या  उठाउनु भएन तर एकाएक आफ्नै पारामा देश दौडाहा गर्दै समीक्षा गरेँ भन्नुभो त्यो पनि सिधै अनलाइन पत्रिकामा ? पारदर्शिताको नाममा लाजै नराखी घरको झगडा चौतारोमा सुनाउँदा तपाईँलाई शुभचिन्तकले जय जयकार गर्नुपर्ने? उज्वलजी यति बेला सम्म बीसौँ हजार सदस्य बनाएर नेपालभरि यत्र तत्र हुने बेलामा किन अलपत्र भएर किन बस्नु भएको नि ?

बैकल्पिक राजनीति बन्द कोठामा बसेर गुन्ने भावना हैन, त्यसका लागि संगठन चाहिन्छ,संगठन बनाउन बाहिर निस्कनुपर्छ, झिना मसिना कुरा टुंग्याएर बल्ल संगठन बनाउँछु भन्ने भ्रममा भएर कसरी संगठन बन्छ ? तपाईँले भन्ने गरेको युवा शब्द नै सोह्र श्रृंगारयुक्त छ कि त्यसका पनि कुनै कार्यभार,योग्यता र क्षमताहरु पनि छन् ? राजनीति दुई चार जनाले चल्न सक्दैन, कार्यकर्ताहरु चाहिन्छन्। मूल्य र मान्यतामा नजिक भएर एक-एक एघार बनाउने बेला एक माईनस एक जिरो बनाउँदै अभ्यासमा यति साह्रो फरक भएर कसरी बैकल्पिक राजनीति सफल होला ? ‘युवा अघि सर्छ, केही गर्छ’ भन्ने मान्छे सानो पार्टीकै गतिबिधिमा त अघि सर्दैन भने तपाईँबाट के आशा गर्ने होला ?

तपाईले हात झिके पनि बैकल्पिक राजनीतिको यात्रा रवीन्द्रहरुले नरोकून् ! तपाईँ पनि मूल प्रवाहमा आत्मालोचनासहित सकृय हुनुहुनेछ भन्ने कामना गर्दछु।