अर्थ

‘काठमाडौंलाई भाडाको घर सम्झियौंँ’

तपाईको विचारमा सहर भनेको केहो ?
व्यवस्थित भौतिक पूर्वाधार भएको सुविधायुक्त ठाउँ नै सहर हो। सहरमा इतिहास र मौलिकता झल्कने गरी आधुनिकताले छाप छाडेको हुन्छ। त्यहाँ देशका मुख्य चिनारीहरू सजाएर राखिएका हुन्छन्। गाउँ र सहरको समिश्रण छनक पनि सहरमा भेटिन्छ। शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सडकजस्ता सेवा सुविधाको हकमा पनि सहर अग्रपंक्तिमा हुन्छ। त्यहाँका मानिस शिक्षित र जिम्मेवार हुन्छन्। तर, हाम्रा सहर हरेक पक्षबाट अव्यवस्थित बनेका छन्। प्रकृतिले दिएको र पुस्ताले सिर्जेको सम्पत्तीको कदर हुने गरी विकासका काम भएनन्। सहरवासी र नेतृत्वले सहरको गरिमा बुझनन्।

घुमेकामध्ये मनपर्ने सहर ?
मलाई काठमाडौं नै प्यारो लाग्छ। कर्मभूमी र जन्मभूमी दुवै हिसाबमा म काठमाडौंलाई प्रियः मान्छु। यहाँ सबैखाले सेवा सुविधा छन्। तर मानिसको चाप बढी भएको ठाउँलाई व्यवस्थित गर्न नसक्दा काठमाडौं दिक्क लाग्दो बनेको छ। यहाँको सहरको शैली अरु भन्दा फरक छ। मैले कुनाकाप्चामा पुगेर यहाँका जीवनशैली र वस्तुस्थिति बुझ्न पाएकी छु। मेरा बुझाईमा काठमाडौं ‘मिनी नेपाल’ हो। तर, हामीले यो ठाउँलाई भाडाको घरजस्तै बनायौं। यहाँ भएका अवसर र सम्भावनाको खोजि गरेनौं। यो मेरो ठाउँ हो यसलाई जोगाउनुपर्छ भन्ने चेतना हामीमा नभएर सहर बिग्रियो।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं एउटा जिवित सहर हो। यहाँ अनेकौं मौलिक कला संस्कृति लुकेका छन्। २ हजार बर्ष पूरानो कला संस्कृति अझै पनि जिवितै छन्। त्यसकारण हामीले यो सहरलाई विदेशीसँग तुलना गरेर हुँदैन। काठमाडौंको अस्तित्व आफ्नै खालको छ। यहाँको इतिहास र मौलिकता सुहाउँदो विकास गर्न आवश्यक छ। आधुनिकता र टल्कने कुरा मात्रै गरेर हुन्न।

नेपाल बाहिर कहाँ–कहाँ पुग्नुभएको छ ?
नेपाल बाहिर केही देश घुमेकी छु। इन्डोनेशीया, थाइल्याण्ड, फ्रान्स, अमेरिकालगायत देशका सहर घुमेकी छु।

कस्तो लाग्यो ?
विदेशका सहर आधुनिक र व्यवस्थित छन्। त्यहाँ हरेक कुरा कानुनले चलेको छ। सबैतिर कानुनको परिपालना भएको हुन्छ। सहर बनाउँदा सयौं बर्षलाई हेरेर विकास गरिन्छ। हरेक विकास निर्माणका कामका नागरिकलाई अगाडि राखिएको हुन्छ। उनीहरुको अधिकार संरचनामै सुरक्षित गरिएको हुन्छ। आम नागरिककै पक्षमा सरकारले योजनाबद्ध रुपमा काम गरेको हुन्छ। हरेकले समान अधिकार पाएका हुन्छन्। सहरप्रति उत्तरदायी बन्छन्। हाम्रो त्यस्तो छैन।

हाम्रा सहर र विदेशी सहरबीचको भिन्नता के पाउनुभयो ?
म पुगेको पेरिस सहर निकै मनमोहक लाग्यो। ’cause त्यहाँ आधुनिकता र मौलिकता दुवै छ। सार्वजनिक यातायात पनि व्यवस्थित छ। सडक बनाउँदा साइकल लेन तोकिएको छ। सहर निर्माण गर्दा सबैको अधिकार समेटिएको छ।  हाम्रोमा जस्तो सडक ठुला बनाएर फुटपाथ साघुँरो पारिएको छैन त्यहाँ। हरियाली, सुन्दर र मनमोहक तवरले सहरको विकास भएको छ। हामीले प्रकृति र पुस्ताले दिएको सम्पतिको रक्षा गर्न सकेनौं। सहरलाई विकास गर्ने र आधुनिक बनाउने नाममा मौलिकता भत्काउन थाल्यो। यो अति नै नराम्रो पक्ष हो भन्ने लागेको छ।

हाम्रा सहर विदेशका सहर जस्तै बन्न सक्दैनन् ?
किन नसक्नु ! त्यहाँका भन्दापनि सुन्दर र प्राकृतिक बन्न सक्छन् हाम्रा सहर। तर, सहरको नेतृत्वले त्यस्तो किसीमको सामथ्र्य राख्न सक्नुपर्छ। विकास निर्माणका काममा पारदर्शीता हुनुपर्छ। सरकारी निकायबीच समन्वय हुनुपर्छ। सुरु भएका योजनालाई समयमै पुर्ति गर्नतिर लाग्नुपर्छ अनिमात्रै सहरको विकास हुन्छ भन्ने लाग्छ।

सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
अहिले जनप्रतिनिधिले ठूल्ठूला रेलका सपना देखाएका छन्। तर, त्यो भन्दाअघि हामीले सार्वजनिक यातायात व्यवस्थित गर्न जरुरी छ। अहिले नै रेल चाहिँदैन। सडक बत्ती जडान, साइकल गुडाएर हिड्न सक्ने र पैदलयात्रुमैत्री सहर बनाउनुपर्छ काठमाडौंलाई। कंक्रिटतिर मात्रै ध्यान दिँदा उजाड बन्न सक्छ सहर। त्यसैले पनि रुख विरुवा रोप्नुपर्छ।

राजनीतिक परिवर्तनका निम्ति लडेका नेताहरुमा विकासको भिजन नभएको हो वा सहरको विकास गर्दैगर्दा हामी चुकेका हौं ?
अहिलेसम्म राजनीति टिकाउने विषयमा मात्रै ध्यान दिइयो। पढेका र अनुभव बटुलेका व्यक्ति बीच समन्वय भएन। राजनीतिले सबैलाई समेट्ने गरी नेतृत्व गर्न सकेन। आफ्ना र नातावाद मात्रै हेरियो। जसका कारण सहर बिग्रियो। आम नागरिकले सास्ती पाउनुपर्यो। अहिलेसम्मको नेतृत्वले राजनीतिक परिवर्तन गरेपनि चित्त बुझ्दो विकास गर्न सकेनन्। त्यसकारण अब हामी विकासतर्फ उन्मुख भएर खास खास समस्या समाधान गर्न जरुरी देखिन्छ। 

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सास फेर्न सकस नहोस। हिड्डुल गर्न सहजै सकियोस्। अस्तव्यवस्ता नहोस्। ह्वीचेयर र साइकल मैत्री सहर होस्। हरियाली होस्, पार्क हौन, सडक बत्ती हौंन। हरेक नागरिक जिम्मेवार र जागरुक हौंन्। कसैले कोहीमाथि अन्याय र भेदवाव नगरुन्। सहरी नियमले सबैलाई समान किसीमले बाधेको होस्। यति भयो भने सहर अलि व्यवस्थित र सुन्दर बन्नेछ। 

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको जीवन्तता मनपर्छ। बसन्तपुर क्षेत्रले अत्ति छुन्छ मलाई। त्यहाँ सबैखाले गतिविधि देखिन्छ। बसन्तपुर इतिहासको प्रतिविम्व हो यो। यहाँको मौसम पनि सदावहार छ। साच्चै भन्दा उपत्यका तीन जिल्ला जोडिएर बनेको छ। यहाँ तीनै जिल्लाले अति नै महत्व बोकेका छन्।

यहाँको मननपर्ने पक्ष ?
जन्मभूमी र कर्मभूमी दुवै महत्वपूर्ण हुन्छ। काठमाडौंलाई भाडाको घर बनाइयो। हामी जहाँ गए पनि नेपाली हौं। सबै हाम्रो भूमी हो। सबैतिरको रक्षा गर्नुपर्छ। काठमाडौं हामीले नै बिगारेको हो भनेर चेत कसैमा आएन।

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ ?
अलि जिम्मेवार भएनौं। सहरमा जे गरेपनि हुन्छ भन्ने सोच छ धेरैको। यस्तो सोच त्यागेर म बसेको सहर मैले नै बनाउनुपर्छ भन्ने सोच आयो भने सहर सफा बन्न सक्छ।

राजधानीमा पाइने कुन परिकार मीठो लाग्छ ?
मम नै मिठो लाग्छ यहाँको। यमरी, बारा, चटामरी पनि मिठो लाग्छ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
मलाई नेपालका ७७ वटै जिल्ला पुगेर त्यहाँको जनजीवन र जीवनशैली बुझ्ने रहर छ।

उपत्यकाभित्र कतै घुम्न जानुपर्यो भने कहाँ जानुहुन्छ ?
शिवपुरी क्षेत्रतिर जान्छु प्राय।  ह्वाइट गुम्वा र उपत्यका घेरिएका डाँडाकाँडा घुम्न मन लाग्छ।

यदी अहिले भइरहेको काठमाडौंलाई थप व्यवस्थित पार्ने जिम्मा तपाईलाई दिइयो भने केके गर्नुहुन्छ ?
सबैभन्दा पहिले त सबै निकायलाई जिम्मेवार बनाउछु। समन्वय गराउछु। सडक बत्ती, हरियाली, खुला ठाउँ, यातायात व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर काम सुरु गर्छु होला। अर्को कुरा, काठमाडौं समस्याग्रस्त सहर भएको छ। यहाँ अनेक समस्या छन्। ती समस्या सबै मानवीय समस्या हुन् अर्थात् हाम्रै कारणले उब्जिएका समस्या हुन्।  गुजुल्ट्टीएका तार, धराप खाल्डाखुल्ठी, अव्यवस्थित यातायात, चाहिँदो भन्दा बढी भीड, अस्तव्यस्तालाई हेर्दा सहर दिक्क लाग्दो बनिसकेको छ। त्यसकारण यो सहरलाई अलि व्यवस्थित बनाउन यहाँ भएका सेवा सुविधा अन्तका सहरमा विकेन्द्रीकरण गर्न जरुरी छ। काठमाडौंकै कुरा गर्दा, सहरभित्रका पनि विभिन्न ठाउँलाई छुट्याएर विकास गर्न आवश्यक ठानिन्छ।

                                      प्रस्तुति  शिवहरि घिमिरे