अर्थ

बालबालिका भर्चुअल दुनियाँमा कि लतमा ?

२० वर्ष कटिसकेका कलंकी बस्ने आशीष भर्चुअल दुनियाँमा रमाउन थालेको पाँच वर्ष जति भयो । पहिले उति साह्रो लत नलागेका उनी अहिले सपनामा समेत भर्चुअल दुनियाँमै हुन्छन् । उनकी आमा सीतादेवीले भनिन्, ‘राति पनि कहिले गन (बन्दुक) ल्याऊ भन्छ त कहिले फस्र्ट एड बक्स (प्राथमिक उपचारको भाँडो) भन्छ । कहिले म मर्न लागिसकेँ बचाउन आइज भनेर कराइरहन्छ । यो उमेरमा यसरी सपनामा कराउने गरी लत बसेको देख्दा बडो चिन्ता लागेको छ ।’

युवा अवस्थामा प्रवेश गरिसकेका आशीषको अवस्था त यस्तो छ भने कलिलो उमेरमै यस्तो लत बसेका बाल मष्तिकलाई कस्तो असर पर्ला त ? यस्ता प्रश्नले अहिले अभिभावकहरु आतंकित हुन थालेका छन् ।

कुलेश्वर घर भएकी सात वर्षीया सनिता महर्जन पहिले टिभीमा कार्टुन नहेरी खाना नै खाँदैनथिन् । पहिले कार्टुन हेरेको देख्दा पनि छोरी बिग्रेली कि भन्ने डर बोकेका उनका बाबु प्रणय अहिले छोरी जतिखेरै मोबाइलमा झुण्डिन थालेपछि झनै सशंकित छन् । उनले भने, ‘सुरुसुरुमा त छोरी मोबाइल पाएपछि झगडा नगर्ने, एक ठाउँमा बसेर मोबाइल चलाइरहने भएर छाड्यौं । केही समय त अरु साथीहरुलाई हाम्री छोरी साह्रै ज्ञानी छे भनेर फूर्ति पनि झा-यौं तर अहिले तनाव भइरहेको छ ।’ 

छोरी सनिताको सामाजिक जीवन नै बर्बाद होला कि र सम्वादमा कमजोर हुन थालेकामा चिन्ता बढेर गएको हो ।

प्रणय मात्रै होइन, उनका साथी सन्तोष मानन्धर पनि छोराका कारण चिन्तामा छन् । ‘सुरुमा छोराले मोबाइलको स्क्रिन छुँदा पनि छोयो र खेलायो भनेर खुशी भइयो, अहिले छोरोले स्क्रिन छोला कि भन्ने चिन्ताले सधैँ झस्काइरहन्छ,’ मानन्धरले भने । 

बच्चाले मोबाइल चलाउनुमा अभिभावकै बढी हात हुने उनको धारणा छ । उनले भने, ‘सुरुमा छोरोेले मोबाइल चलाउँदा वैज्ञानिक नै बन्न लागेको हो कि झैँ हौसन्छौँ र हौसला दिन्छौँ पछि उसैले हामीलाई पनि मोबाइल चलाउन सिकाउने हुन्छ । त्यो समयमा हामी छोराछोरीले के–के न जाने जसरी गर्वले छाती चौडा बनाउँछौंँ । त्यसैको फाइदा उनीहरुले उठाइरहेका हुन्छन् ।’

आफू पनि मोबाइलमा व्यस्त हुने अनि बालबालिकालाई पनि मोबाइल खेल्न दिने अभिभावकहरुको संख्या पनि धेरै भएको र त्यसमा आफू पनि पर्ने बताउँछिन्, बल्खु निवासी सुशीला थापा । जसले गर्दा अभिभावकसँगै बिस्तारै मोबाइलमा रमाउने बालबालिकामा लत बस्न थाल्छ । पछि बालबालिकाले बढी मोबाइल चलाए भनेर उनीहरुलाई नियन्त्रण गर्न थाल्छौँ तर त्यतिबेलासम्म ढिला भइसकेको हुन्छ । उनीहरु मोबाइल बिना केही पनि गर्न मान्दैनन् । ‘अझ इन्टरनेट भयो भने त बालबालिकाको हातमा मोबाइल यसरी टाँस्सिन्छ कि छुटाउनै सकिन्न,’ थापाले भनिन् ।
यसरी मोबाइलको लत लागेको देख्दैमा कामेको अभिभावको मन, अहिले झनै अत्ताल्लिएको छ । विभिन्न एप्सले नयाँ–नयाँ गेमहरु ल्याएर बालबालिका मात्रै होइन, अभिभावकहरुलाई समेत एकोहोरो बनाइरहेका छन् ।

पंक्तिकार आफैँले पनि क्यान्डिक्रस नामको गेम खेलेर यस’bout अध्ययन गरेको थियो । करिब दुई सय अंकसम्म पुग्दा जतिखेरै क्यान्डिक्रसका ’boutमा सोच्ने बनाइदिएको थियो । सपनामा समेत कसरी धेरै क्यान्डीहरु क्रस गरेर बम बनाउने, कसरी दुईओटा पावरफुल बमहरु एक ठाउँमा लगेर फोड्ने र आइस ब्रेक गरेर अर्को लेभलमा जाने जस्ता कुरा सपनामा समेत देख्ने बनाएको थियो ।

परिपक्व मस्तिष्कमा त यति छिटो प्रभाव पार्ने यस्ता गेम र मोबाइलको लतले कलिलो मस्तिष्कमा कस्तो असर पार्ला त ? बयोधा अस्पतालकी बाल स्वास्थ्य विशेषज्ञ सुरक्षा सुवाल भन्छिन्, ‘गेमको त कुरै छोडौं मोबाइल मात्रै चलाउनु एक प्रसारको नशा नै हो । यो नशा साना बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको छ ।’
उनले भनिन्, ‘हामी अभिभावक आफैँ पनि बिना काम मोबाइल हेरिरहने, अझै मोबाइल घरमै छाडेर गए पनि बारम्बार खल्ती छामिरहने, भाइब्रेसनको फिल गरिरहने जस्ता हर्कत गरिरहन्छौं, बालबालिकाको त कुरै छाडौँ ।’ 

उनका अनुसार, जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ, मोबाइल चलाउँदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।

सुवालले भनिन्, ‘सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र त्यसले उनीहरुलाई खुशी बनाउने खालको हर्माेन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा उनीहरु खुशी हुन्छन् तर लगातार मोबाइल हेर्दा ब्रेन सुस्त हुँदै जान्छ ।’

मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरु देखिन थाल्छ । सुवालले भनिन्, ‘साना बालबालिकाहरुलाई भुलाउनको लागि अभिभावकले मोबाइल दिने गर्छन् र कतिपयले त गेम समेत डाउनलोड गरेर उनीहरुको पोल्टामा हालिदिन्छन् । काम गर्दा उनीहरुले डिस्टर्ब नगरुन् भन्ने हेतुले दिइएको मोबाइलले अन्त्यमा घातक बन्न पुग्छ ।’ 

यसरी लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिएसनले आँखालाई अन्धोसमेत बनाउन सक्ने उनी बताउँछिन् । आँखामा मात्रै होइन ब्रेनमा पनि असर गर्छ । जसले गर्दा आँखा धमिलो हुँदै जाने, आँखा चिलाउने, आँखा वरिपरिको मासुहरु थाक्ने, आँखा हेर्न नसक्ने, निद्रा गडबड हुनेजस्ता विभिन्न समस्याहरु आउँछन् ।

एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि बढ्न सक्ने बाल चिकित्सक सुवालको भनाइ छ । 

विभिन्न गेमहरुले त झनै उनीहरको ब्रनेलाई सुस्त नै बनाइदिन्छ । जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाइल हेर्ने बानी भएको बालबालिकामा डिप्रेसनसम्म हुनसक्ने सम्भावना छ । ‘ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने जस्ता समस्याहरु लामो समयसम्म देखिन सक्छ,’ सुवाल भन्छिन् ।

बालबालिकाले सबै कुरा आफू भन्दा ठूला व्यक्तिहरुसँग सिक्दै जाने हो । बाल्यकालको समय  मानसिक, शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय पनि हो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल मात्र हेर्ने हो भने धेरै कुरामा समस्या देखिने विभिन्न अध्ययनले देखाएका छन् ।

मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन । जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन । हिँडाइमा समस्या हुन्छ । बालबालिकाको उमेरअनुसार विकास हुनुपर्ने हो त्यति विकास हुन पाउँदैन ।

कसरी छुटाउने यो लत ?

लत बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाउने गर्छ । समय मिलाएर उनीहरुलाई मनोरञ्जनका लागि मात्रै मोबाइल दिने हो भने यस्ता समस्याबाट जोगिन सकिन्छ । 

हुन त यो नशा अरु नशाजस्तो छुटाउनै नसक्ने भने हुँदैन । मोबाइल तथा इन्टरनेटवाला गेमको लत बसेको बालबालिकालाई त्यस लतबाट छुटाउनेबित्तिकै पुरानै अवस्थामा फर्काउन सकिने बालचिकित्सक सुवालको भनाइ छ।

मोबाइलको लत बसेको बालबालिकालाई एकै पटक सामान्य अवस्थामा फर्काउन भने निकै गाह्रो हुने बाल मनोचिकित्सक गंगा पाठक बताउँछिन् । तपाईँका बालबालिकामा मोबाइल चलाउने तल बसेको छ भने एकै पटक छुटाउने कोसिस नगरी बिस्तारै छुटाउनुपर्ने बालमनोविज्ञहरुको सुझाव छ ।

त्यसका लागि एक घण्टा, आधा घण्टा गरेर बिस्तारै मोबाइल चलाउने समय घटाई यसको लत छुटाउन सकिन्छ । छुटाउँदा त्यत्तिकै मोबाइल मात्रै खोसेर राखिदिने नगरी बालबालिकासँग समय बिताउने, उनीहरुका साथीहरुसँग समय बिताउन दिने, नयाँ–नयाँ र आकर्षक किताबहरु किनेर ल्याइदिनेजस्ता कामहरु गर्नुपर्ने सुझाव विज्ञहरुको छ । ‘अभिभावक लत छुटाउन मोबाइल मात्रै खोसिदिने र उनीहरुलाई एक्लो छाडिदिने गर्छन्, यो त झनै हानिकारक बन्न सक्छ,’ डा. पाठक बताउँछिन् ।

मोबाइलको सट्टा बालबालिकालाई अन्य खेल्ने कुराहरु किनिदिएर पनि उनीहरुलाई यसबाट मुक्त गर्न सकिने पाठक बताउँछिन् । उनीहरुलाई चित्रहरु कोर्न दिने, कागजहरुबाट आकर्षक हस्तकलाका सामान बनाउने वातावरण मिलाइदिने गर्नाले पनि उनीहरुको लत बिस्तारै छुट्न सक्ने पाठकको भनाइ छ । साथमा अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाइल लत छुटाउन सकिन्छ ।

अभिभावकहरु आफ्ना बालबालिकाको अवस्था कस्तो भन्ने कुरा बुझ्न विद्यालय जाने चलन पनि निकै कम छ । पाठकले भनिन्, ‘जसका कारण आफ्ना बालबालिका गलत बाटोमा हिँडेका छन् या सही भन्ने कुरा नै अभिभावकलाई थाहा हुँदैन ।’ विद्यालयमा जम्मा ८ घण्टा मात्रै हुने भएकाले आफ्ना बच्चालाई ध्यान दिन समय समयमा उनीहरुको विद्यालय गइरहनुपर्ने पनि पाठकको सुझाव छ । 

साथै विद्यालयले पनि मोबाइल प्रयोग गर्दा बालबालिकामा पार्ने नकारात्मक असरको ’boutमा जानकारी गराउँदा विशेष कक्षाहरु राख्नुपर्ने  उनी बताउँछिन् । मोबाइलमा लत लागेको ’boutमा अभिभावकलाई जानकारी हुन्छ । त्यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउँदा राम्रो हुन्छ ।

हुन त अहिले सामाजिक सञ्जालहरुमा यही विषयलाई लिएर विभिन्न ट्रोलहरु पनि बन्ने गरेका छन् । जस्तो कि, पहिलेका आमाले कत्ति बाहिर मात्रै लखरलखर डुलिरहन्छस्, भित्र आइज भनेर गाली गर्थिन्, अहिलेका आमाले कत्ति मोबाइल मात्रै चलाउँछस्, यसो बाहिर डुलेर आइज भन्छन् । अलि पहिलेसम्म खाली कार्टुन मात्रै हेर्छ भनेर गाली गर्ने आमाहरु अहिले कति मोबाइल मात्रै चलाउँछस्, यसो टिभी पनि हेरे हुन्थ्यो नि भन्न थालेका छन् । पछि यो भन्दा अझै अर्को लती चिज पो भर्चुअल दुनियाँमा छिर्ने हो कि !