अर्थ

जनप्रतिनिधि र कर्मचारीकै घरमा छाउगोठ

सुर्खेत – चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिकाका सचिव हुन्। उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ। सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा–सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको होइन्। ‘घरमा बुवा धामी हुनुहुन्छ, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन्,’ बयकले भने, ‘व्यक्तिगत रूपमा म मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ।’

चौकुनेसँगै जोडिएको पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन्। सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ। स्थानीय सरकार गठनलगत्तै पञ्चपुरी नगरले छाउपडी अन्त्यका लागि भन्दै गाउँमा पटक–पटक जनचेतनामूलक कार्यक्रम गरेको छ। ‘मेरो वडामा हुने कार्यक्रममा अतिथिका रूपमा धेरैपटक छाउगोठ हटाउन भाषण पनि गर्ने गरेको छु,’ वडा सदस्य भण्डारीले भने, ‘आफ्नै घरकाले नमाल्दा अरूलाई अर्ती दिएर मात्रै कहाँ हुँदो रहेछ।’ २०७१ सालमा तत्कालीन तातापानी, बाबियाचौर, गुठु, घाटगाउँलगायतका गाविसमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरियो। ती गाविसहरु छाउगोठमुक्त घोषणा पनि भए। फेरि अहिले घरघरमा छाउगोठ बनाउन थालिएको छ। सर्वसाधारण नागरिक मात्रै होइन, जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा छाउगोठ बनाइन थालेको छ।

गुठुको भावरमा चार वर्षअघि २३ वटा छाउगोठ भत्काइए। अहिले तिनै ठाउँमा आठवटा छाउगोठ बनिसकेका छन्। केही बन्ने क्रममा छन्। ‘मनबाटै छाउपडी नहटाउँदासम्म छाउगोठ भत्काएर मात्रै केही हुँदो रहेनछ,’ चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले भनिन्, ‘त्यसैले हामीले छाउगोठ भत्काउनेभन्दा पनि यसलाई प्रोत्साहन गर्ने धामी, झाँक्रीलाई प्रोत्साहनको कार्यक्रम ल्याएका छौं।’ गाउँपालिकाले छाउगोठमा रहने महिलाहरूलाई घरमा राख्न प्रोत्साहन गर्ने धामीझाँक्रीलाई नगद पुरस्कृत गर्ने कार्यक्रम ल्याएको हो।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै छाउगोठमा बस्दै आएका महिलालाई घरभित्र राख्न प्रोत्साहन गरेबापत धामीझाँक्रीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो। सोहीअनुसार प्रत्येक वडाले सार्वजनिक सूचना प्रकाशन गरेका छन्। तर पनि आजसम्म महिलालाई घरभित्र राखेको भन्दै कुनै धामी–झाँक्री प्रोत्साहन भत्ता लिन नआएको गाउँपालिकाको भनाइ छ। महिनावारी भएको बेला महिलालाई छाउगोठमा राख्न गाउँका धामी–झाँक्रीको भूमिका ठूलो छ। घरमा बस्दा देउता रिसाउने, आफूसहित परिवारका सदस्यहरू बिरामी पर्ने, अन्नबाली नसप्रने, पशुचौपायालाई हानि हुने भन्दै धामीझाँक्रीले नै महिलालाई छाउगोठमा राख्न निर्देश गर्ने गरेका हुन्छन्। ‘महिनावारी भएका एक महिलालाई घरभित्र राखेबापत तीन हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका छौं,’ उपाध्यक्ष रानाले भनिन्, ‘तर पनि अहिलेसम्म पुरस्कार लिन कोही पनि आउनुभएको छैन।’

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफैं छाउगोठ भत्काउने भन्दा पनि मनको डर हटाउने अभियानमा गाउँपालिका लागेको बताए। ‘यसअघि पनि छाउगोठ भत्काइएका हुन् तर प्रभावकारी हुन सकेन,’ उनले भने, ‘अब डर हटाउँदै गाउँपालिकालाई छाउगोठमुक्त बनाउने अभियानमा हामी छौं।’ पञ्चपुरी गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमबाट पनि छाउगोठ हटाउन नसकिएपछि छाउगोठ बनाउने र महिलालाई छाउगोठमा राख्ने घरलाई सरकारी सेवा–सुविधा नदिने निर्णय गर्न लागिएको नगर प्रमुख उपेन्द्रबहादुर थापाले बताए। ‘कार्यपालिका बैठकमार्फत छाउगोठ बनाउने र महिनावारी भएको बेला महिलालाई छाउगोठमा राख्ने घरका सदस्यलाई सरकारी सेवा नदिने निर्णय गर्दै छौं,’ उनले भने, ‘यति गर्दा पनि भएन भने कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’

उनले जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा पनि छाउगोठ रहेकाले त्यस्ता छाउगोठलाई तत्काल हटाउन लगाइने बताए। ‘हामीले छाउगोठमुक्त पञ्चपुरी बनाउने अभियानअन्तर्गत पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी र उनीहरूका नातेदारका घरमा रहेका छाउगोठ हटाउन र महिलाहरूलाई महिनावारी भएको बेला घरमै राख्न निर्देशन दिन्छौं,’ उनले भने, ‘निर्णय अटेर गरेको पाइए कारबाही प्रक्रिया थाल्छौं।’