मनोरञ्जन

सात दर्जन सिनेमा हलमा चौका दाउ लाग्ने

काठमाडौं । सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुकका सात दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्रका परिकल्पनाकार एवं कथाकार शम्भुजित बास्कोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको छ ।

‘माघे सक्रान्तीको अवसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ ।’ यो चलचित्रका संगीतकार बास्कोटाले भने । 

सौर्यजीत बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । फिल्मलाई काठमाडौंमा पनि राम्रो शो दिईएको वितरक गोपाल कायस्थले बताएका छन् । 

निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौ चौकाको रुपमा अजश्र ढुँगानालाई देख्न पाईन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशंकर रिजाललगायत छन् । 

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ । फिल्म अष्टे«लियामा समेत प्रदर्शन गरिने भएको छ ।