मनोरञ्जन

अब बिकाशराजको ‘हजार जुनी सम्म’मा निरुताको स्थानमा संचिता !

काठमाडौं । विकासराज आचार्यको निर्देशनमा बन्दै गरेको फिल्म  ‘हजार जुनी सम्म’मा अभिनेत्री निरुता सिंहले काम गर्ने कुरा भएको थियो । तर, अब निरुताले यो फिल्ममा काम गर्न नसक्ने भएकी छन् । अभिनेत्री निरुता अहिले फिल्म ‘दाल भात तरकारी’मा व्यस्त छन् ।

यसै फिल्मको छायांकनमा रहेकाले पनि अभिनेत्री निरुताले बिकाशराज आचार्यको फिल्म ‘हजार जुनीसम्म’लाई समय दिन नसकेकी बताइएको छ । 

बिकाशराज आचार्यको फिल्ममा निरुताले काम गर्न नसकेपछि अर्की अभिनेत्री संचिता लुइटेलले काम गर्ने पक्का भएको छ । संचिता फिल्मको छायांकनको लागि सिक्किम जाने तयारीमा रहेकी छन् ।

अभिनेत्री संचिताले यो फिल्ममा काम गर्ने पक्का भएपछि उनी र निर्देशक विकासराज आचार्यको सम्बन्ध सुध्रिएको अड्कल लगाउन सकिन्छ । विकाशले निर्माण गरेको फिल्म‘नाई नभन्नु ल ३’मा काम गरेकी संचिता सो समयमा यसको निर्माणपक्षसँग रिसाएकी थिइन् ।