स्वास्थ्य र फिटनेस

आफूखुसी एन्टिबायोटिक खाँदा ज्यान जान सक्छ!

रुघाखोकी लाग्यो, ज्वरो आयो वा झाडापखाला भयो भने के तपाईं आफूखुसी मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ?

सावधान ! यसो नगर्नु होला । जथाभाबी एन्टिबायोटिकको प्रयोगले ज्यान पनि जान सक्छ।

चिकित्सका अनुसार एन्टिबायोटिक, बिरामीले आफूखुसी किनेर खाने, औषधि पसलेले जथाभाबी बेच्ने तथा स्वास्थ्यकर्मीले पनि बिरामीको राम्रोसँग परीक्षण नै नगरी जथाभाबी चलाउने गरेका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्दै गएको छ । यही परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा यस वर्ष एन्टिबायोटिक जनचेतना सप्ताह सञ्चालन भइरहेको  छ।

के हो एन्टिबायोटिक रेसिसटेन्स ?
कुनै रोगविरुद्ध बिरामीलाई दिइएको औषधिको मात्रा नमिलेमा, चिकित्सकले सिफारिस गरेको औषधि पूरा नगरेमा र चिकित्सकको सल्लाहबिना बिरामीले आफूखुसी औषधि प्रयोग गरेमा पछि गएर शरीरमा देखिने असरलाई एन्टिबायोटिक रेसिसटेन्स भनिन्छ।

चिकित्सकका अनुसार जथाभाबी एन्टिबायोटिक प्रयोग गरेमा शरीरका राम्रा–नराम्रा दुवै किसिमका कोष मर्छन् । शरीरमा भएका किटाणु पूरा नमरेर केही समयका लागि निष्क्रिय मात्र भएका हुन्छन् । त्यसरी बाँचेका किटाणु शरीरमा झनै बलियो भएर बस्छन् र सामान्य एन्टिबायोटिकले तिनलाई छुन छाड्छ।

रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता अत्यन्त कमजोर हुन पुग्छ  । एन्टिबायोटिक रेसिसटेन्स भएका बिरामीलाई कुनै रोग लाग्यो भने सजिलै निको हुँदैन भने कतिपय अवस्थामा रोगले च्याप्दै लगेर बिरामीको मृत्युसमेत हुन सक्छ।

एन्टिबायोटिक रेसिस्टेन्सको उपचार लक्षणअनुसार गर्नुपर्छ । रगतमा  संक्रमण छ भने कल्चर गर्ने, पिसाबको संक्रमण छ भने पिसाबको कल्चर (विशेष परीक्षण) गर्ने,  मेनिन्जाइटिस छ भने ढाडको पानीको कल्चर गरेर रोग सेन्सिटिभिटी टेस्ट गर्नुपर्छ । कल्चर गर्दा देखिएका किटाणुका आधारमा कुन अंगमा एन्टिबायोटिक रेसिसटेन्स भएको भन्ने पत्ता लाग्छ।

नेपालमा एन्टिबायोटिकको जथाभाबी प्रयोग
विश्वभर एन्टिबायोटिक दुरूपयोग भएको देखिन्छ । तर नेपालजस्तो विकासोन्मुख मुलुकको तुलनामा विकसित देशहरूमा यसको दुरूपयोग अत्यन्त कम भइरहेको चिकित्सक बताउँछन्।

अस्पताल आउने मध्ये १० प्रतिशत बिरामीले नै पहिले नै जथाभाबी एन्टिबायोटिक प्रयोग खाएर आएको पाइने वीर अस्पतालका वरिष्ठ फिजिसियन डा.धुव्र गैरैले बताए । जुनसुकै रोगका बिरामी पनि पहिल्यै आफूखुसी औषधि खाएर निको नभएपछि आउने गरेको उनले जानकारी दिए । उनको अनुभवमा गाउँको तुलनामा औषधि पसलको पहुँच भएका र सहरका बिरामीले एन्टिबायोटिकको जथाभाबी प्रयोग बढी गर्ने गरेका छन् । ‘केही भयो कि त नजिकै रहेका औषधि पसलमाबाट औषधि ल्याएर खाइहाल्ने,’ डा.गैरेले भने, ‘निको नभएपछि मात्र डाक्टरकोमा आउने गरेको देखिन्छ।’

पहिला आफूखुसी जथाभाबी एन्टिबायोटिक प्रयोग गरेर निको नभएपछि मात्र अस्पतालका आउने गरेका कारण पछि धेरै थरिका औषधि चलाउँदा समेत रोग निको नहुने अवस्था आउने चिकित्सक बताउँछन्।

वीर अस्पतालकै न्युरोलोजिस्ट डा.सुनिल कोइराला भन्छन्, ‘सिकिस्त भएपछि मात्र आउने कतिपय बिरामीको उपचारकै क्रममा मृत्यु हुन्छ ।’ एन्टिबायोटिक रेसिस्टेन्स भएका बिरामीहरूको कल्चर परीक्षण गरेपछि मात्र पत्ता लाग्ने गरेको उनी बताउँछन्।

जथाभाबी एन्टिबायोटिक खाँदा स्वास्थ्य यति कमजोर बन्छ कि शरीर सामान्य किटाणुसँग पनि लड्न नसक्ने हुन्छ । ‘जथाभाबी एन्टिबायोटिक खाइसकेको अवस्थामा शरीरका किटाणुले औषधि नै पचाउन थाल्छ,’ उनले भने । यस्तो अवस्थाका बिरामीलाई सामान्य उपचारले निको नहुने भएकाले आइसियुमै भर्ना हुने चिकित्सक बताउँछन्।

आइसियुमा भर्ना भएका बिरामीमध्ये कतिपय एन्टिबायोटिकले गलाइसकेको पाइने गरेको वीर अस्पतालका एमआइसियु प्रमुख डा.रविराम श्रेष्ठ बताउँछन् । ‘पहिला नै एन्टिबायोटिक प्रयोग गरिसकेका, सामान्य एन्टिबायोटिकले काम नगरेका बिरामी आइसियुमा आउने गरेका छन्,’ डा.श्रेष्ठले भने।

उनी अगाडि भन्छन्, ‘एन्टिबायोटिक रेसिस्टेन्सको समस्या विकराल बनेको छ ।’ एन्टिबायोटिक रेसिसटेन्स बढेपछि ज्वरो आउँछ । यस्ता बिरामीलाई कम पावरको एन्टिबायोटिकले काम नगर्ने डा. श्रेष्ठ बताउँछन् । अहिलेकै गतिमा आफूखुसी एन्टिबायोटिक खाने चलन रहिरहने हो भने अबको ३० वर्षभित्र नेपालमा ५० प्रतिशत बिरामीमा एन्टिबायोटिक रेसिस्टेन्स बढ्ने वीर अस्पतालका फिजिसियन डा. गैरे आकलन छ । समयमै यसको नियमन नभएमा भविष्यमा नेपालमा उत्पादनमूलक जनशक्ति गम्भीर स्वास्थ्य संकटमा पर्ने डा.गैरे बताउँछन्।

यसको दोषी को?
एन्टिबायोटिक रेसिसटेन्स समस्या बढ्नुमा पहिलो दोषी बिरामी आफैं भएको चिकित्सक औंल्याउँछन् । रुघाखोकीजस्ता सामान्य रोगहरू जुन निश्चित अवधिमा आफंै निको भएर जान्छन् । तर मौसमी रुघाखोमीमा समेत एन्टिबायोटिक किनेर खाने चलनले उमेरमै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने चिकित्सक बताउँछन् । ‘रुघाखोकी लागे पनि, खोकी लागे पनि एन्टिबायोटिक खाइहाल्ने बानीले यो अवस्था आएको होे’ डा.गैरले भने । चिकित्सकले दिएको औषधिको पूरै मात्रा नखाने अर्काे गल्तीका कारण पनि यो समस्या बढाएको डा. रविराम श्रेष्ठ बताउँछन् । ‘डाक्टरले सिफारिस गरेका औषधि आधा मात्र खाएर छोडेको देखिन्छ,’ उनी भन्छन्, ‘औषधिको मात्रा पूरा नहुँदा किटाणु मरिसकेको हुँदैन र ती झन् शक्तिशाली भएर निस्कन्छन् ।’ डाक्टरले दिएको समय तालिकाअनुसार औषधि नखाँदा पनि स्वास्थ्यमा असर पर्ने उनी बताउँछन्।

यसैगरी दोस्रो दोषीमा बिरामीले माग्यो भन्दैमा जथाभाबी एन्टिबायोटिक दिने औषधि पसलेहरू भएको चिकित्सक औंल्याउँछन् । सामान्य केही औषधिबाहेक औषधि पसलेले डाक्टरको सिफारिसबिना बिरामीलाई औषधि बिक्री गर्न मिल्दैन । ‘नेपालमा औषधि पसलेहरूले डाक्टरको पे्रसक्रिप्सनबिनै आफ्नै अनुमानका भरमा पनि औषधि दिने गरेका छन्,’ डा.श्रेष्ठले भने।

उनका अनुसा तेस्रो दोषी, चिकित्सक हुन् । कुनै पनि बिरामीलाई एन्टिबायोटिक सिफारिस गर्नुपूर्व किटाणु पहिचान अनिवार्य हुन्छ । त्यसका लागि पिसाब तथा रगतको कल्चर (विशेष परीक्षण) गर्नुपर्छ । तर कतिपय चिकित्सकले रोगको परीक्षण नै नगरी अन्दाजका भरमा एन्टिबायोटिक चलाउने गर्छन् । ‘चिकित्सकले अनुभवका आधारमा एन्टिबायोटिक दिइहाल्ने चलन पनि कम छैन,’ डा. श्रेष्ठ भन्छन्।

चिकित्सा पद्धतिअनुसार कुनै पनि एन्टिबायोटिक प्रयोगपूर्व बिरामीको संवेदनशीलता जाँच (सेन्सिटिभिटी टेस्ट), बिरामीको उमेर, तौल, मिर्र्गौैला, मुटु र कलेजोको अवस्थाअनुसार एन्टिबायोटिक सिफारिस गर्नुपर्ने हुन्छ । तर यो नियम सबै चिकित्सकले पालना गरेको देखिँदैन । स्वास्थ्य चौकीका भरमा पनि उपचार गर्ने गरिएको छ । ठूला अस्पताल नभएका ठाउँका स्वास्थ्यकर्मीले भने जुनसुकै अवस्थामा सामान्य एन्टिबायोटिक दिएर उपचार सुरु गर्न बाध्य हुन्छन् । ‘तर धेरैजसो सरकारी तथा निजी अस्पतालमा समेत कल्चर र सेन्सिटिभिटी परिक्षण सुविधा छैन,’ डा. श्रेष्ठ भन्छन्।

दोषी सबै : नेपाल मेडिकल काउन्सिल
चौथो दोषी सरकार भए पनि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष  धर्मकान्ता बाँस्कोटा बिरामी, औषधि बिक्रेता र स्वास्थ्यकर्मी सबैको कमजोरी भएको बताउँछन्।

उनका अनुसार सिकिस्त भएपछि मात्र बिरामी अस्पताल आउने चलनले पनि पद्धतिअनुसार उपचार गर्न चिकित्सक असमर्थ हुने गरेका छन् । ‘कल्चरको रिपोर्ट आउन २४ घण्टा लाग्छ, बिरामी सिकिस्त भइसकेको हुन्छ, कसरी पर्खिने,’ अध्यक्ष बाँस्कोटा भन्छन्।  

उनका अनुसार कुनै पनि रोगमा उपचार गर्ने क्रमवद्ध नियम हुन्छन् । ती नियमअनुसार उपचार गर्ने जिम्मेवारी चिकित्सकको हो । तर नेपालमा सरकारले स्वास्थ्य सहायकलाई पनि उपचार गर्ने अधिकार दिएकाले सबै उपचार पद्धति पालना गर्न पनि बाधा परेको छ । यहाँ उपयुक्त एन्टिबायोटिक कुन चलाउने भन्ने ’boutमा सरकारको निर्देशिका नभएकाले पनि विकृति बढिरहेको जानकारहरू बताउँछन्।

नेपालमा बढ्दै गएको एन्टिबायोटिक रेसिस्टेन्स समस्या सम्बोधन गर्न
नेपाल मेडिकल काउन्सिलले आगामी तीन महिनाभित्र मेडिकल काउन्सिलबाट अनुमतिपत्र लिएका सबै चिकित्सकलाई विशेष तालिम दिने तयारी गरिसकेको छ । ‘अब तीन महिनाभित्र तालिम दिन सुरु गर्छौं,’ अध्यक्ष बाँस्कोटाले भने।

एन्टिबायोटिक रेसिस्टेन्सबाट कसरी बच्ने?
– डाक्टरको प्रेस्क्रिप्सनबिना आफूखुसी कुनै पनि औषधि वा एन्टिबायोटिक नखाने
– चिकित्सकले दिएको औषधि मात्र खाने
– चिकित्सकले तोकेको समयमा खाने
– लामो समयसम्म एन्टिबायोटिक नदिने र प्रयोग नगर्ने
– सरकारले एन्टिबायोटिक प्रयोगको निर्देशिका बनाउने
– सामान्य भाइरल रुघाखोकीमा एन्टिबायोटिक खाइनहाल्ने