स्वास्थ्य र फिटनेस

जाडोमै किन सताउँछ बाथले?

बाथरोग के बच्चा, के युवा, के वृद्ध सबै उमेरकालाई हुन्छ । विशेष गरी यो रोगले जाडो महिनामा सताउने गर्छ। बाथरोग किन हुन्छ र यसबाट बच्ने उपाय के हुन् ? प्रस्तुत छ– यस विषयमा नागरिक दैनिकले नेसनल बाथ रोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग गरेको कुराकानीः

बाथरोग भनेको के हो?
बाथरोग भनेको कुनै एउटा रोग मात्र हैन । विभिन्न रोगहरूको संयोजन हो । यसभित्र सयभन्दा बढी रोग पर्छन् ।  बाथरोग भनेको अटोइम्युन प्रक्रिया हो । अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ।

हाम्रो शरीरमा बाहिरी रोगसँग लड्ने क्षमता हुन्छ । जब यो क्षमतामा गडबडी आउँछ तब शरीका कोषहरूले आफ्नै अंगलाई नष्ट गर्न थाल्छन् । जस्तो, मिर्गौला, मुटु, आँखा, हड्डी आदिलाई।

शरीरको अटोइम्युनमा गडबडी केले बनाउँछ?
गडबडी गराउने कारण अहिलेसम्म पत्ता लागेको छैन । तैपनि यसमा वंशाणुगत (जिन एसोसियटेड) तथा कहिलेकाहीं वातारणीय प्रभावका कारण पनि बाथरोग भएको हुन्छ । तर अहिलेसम्म एकिन कारण पत्ता लाग्न सकेको छैन।

दाँतको संक्रमण, सुक्ष्म जीवाणुको संक्रमणले पनि अटोइम्युन हुन सक्छ ।  नेपालमा बाथरोगको अवस्था कस्तो छ?
पहिलेको तुलनामा बाथरोग बढ्दो छ । पहिला बाथरोग भए पनि पहिचान हुँदैनथ्यो । किनकि पहिले नेपालमा बाथरोग विशेषज्ञ नै थिएनन् । अन्य जनरल फिजिसियन तथा हाडजोर्नी विशेषज्ञले नै यसको उपचार गर्थे।

नेपालमा बाथरोगीको संख्या कति छ?
नेपालमा यसको एकिन तथ्यांक त छैन । तर विश्वको तथ्यांक हेर्ने हो भने विश्वको कुल जनसंख्याको १० प्रतिशत मानिसलाई बाथ रोग हुन्छ । यस  आधारमा नेपालमा ३० लाखजति बाथरोगी हुनुपर्छ।

यतिका बाथरोगी कहाँ छन् त?
सबै बाथरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा छैनन् । बाथरोग विशेषज्ञ काठमाडौं र मुख्य सहरमा केन्द्रित छन् । तर बाथरोगीहरू काठमाडौं र सहरमा मात्र छैनन् । त्यही भएर सबै जनाले उपचार पाइरहेका छैनन् । केवल दुखाइका औषधि खाएर बसिरहेका हुन्छन्।

यो सेन्टरमा दैनिक कति बाथरोगी आउँछन्?
दैनिक औसत १ सय ५० जना बिरामी उपचारका लागि आउँछन् । त्यसमा काठमाडौं उपत्यकाभित्र तथा बाहिर दुवै ठाउँका छन्।

बाथरोग कति प्रकारका हुन्छन्?
सय प्रकारका हुन्छन् । नेपालमा बढी मात्रामा देखिने बाथरोग भने पाँच किसिमका छन् । गठिया बाथ, मेरुदण्डको बाथ, युरिक एसिडको बाथ, कुरकुरे हड्डी खिइने बाथ र मांशपेसीको बाथ । यी बाहेक सयौं थरिका बाथ हुन्छन्।

केटाकेटीमा हुने बाथ कस्तो हुन्छ?
केटाकेटीमा हुने बाथ मुख्य गरी दुई किसिमका हुन्छन् । बाथ ज्वरो (हुम्याटिक फिभर) र जुभेनाइल बाथरोग । जुभेनाइल आर्थटाइटिसमा हातगोडाका जोर्नीहरू  दुख्ने, सुन्निने, हिंड्डुल गर्न नसक्ने, ज्वरो आउने, छालामा विभिन्न दागहरू हुने, आँखामा समस्या आउने हुन्छन् । समयमै पहिचान भएमा हातखुट्टाहरू बांगिन पाउँदैनन्।

बाथले कुन–कुन अंगमा असर गर्छ?
सबै बाथले जोर्नीसहित सबै अंगमा असर गर्छ । मुख्य गरी जोर्नीमा असर गर्छ । आँखामा असर गर्न सक्छ । आँखा रातो हुने, मुखमा घाउ आउने, छालामा रातो–रातो डाबर आउने, कपाल झर्ने, घाममा जाँदा बढी पोल्ने, मुटुमा पानी जम्ने, मिर्गौलामा असर गर्ने, फोक्सोमा पानी तथा जाली भरिने र मस्तिष्कमा असर पु-याउने गर्छ।

कुन अवस्थामा मस्तिष्कमा असर पु-याउँछ?
मस्तिष्कमा पानी भरियो भने असर गर्न सक्छ।

यी अंगमा असर गर्न नदिन के गर्न सकिन्छ?
बाथरोगलाई नियन्त्रणमा राख्नुपर्छ । लक्षण देखिनेबित्तिकै उपचार गर्नु नै सबैभन्दा उत्तम उपाय हो । बाथले सुरुमै लक्षण देखाएको हुन्छ । सुरुवाती लक्षण भनेकै जोर्नी दुख्ने, बिहान उठ्दा अरठ्ठ लाग्ने आदि हुन् । यस्ता लक्षण देखिनेत्तिकै हेलचक्र्याइँ नगरिकन चिकित्सककोमा गएर उपचार गरिहाल्नुपर्छ । सुरुवाती लक्षण देखिएको तीन महिनाभित्र औषधि सेवन गरेमा कतिपयलाई बाथ निको पनि हुन सक्छ । निको नभए पनि अन्य अंगमा पर्ने असरबाट जोगाउँछ । भित्री अंग समात्नु भनेको बाथ जटिल अवस्थामा पुग्नु हो।

बाथरोगमा फिजियोथेरापीको के भूमिका हुन्छ?
बाथरोगमा फिजियोथेरापीको भूमिका मांशपेसी र हड्डीलाई बलियो बनाउने हुन्छ । चिकित्सकले फरक–फरक बाथका बिरामीलाई आवश्यकताअनुसार फिजियोथेरापीका लागि सिफारिस गर्छन् । फिजियोथेरापिस्टको निर्देशनअनुसार घरमै पनि फिजियोथेरापी गर्न सकिन्छ।

बाथरोगको औषधि कति समय खानुपर्छ?
बाथ दीर्घकालीन रोग हो । औषधि पनि लामै समयको हुन्छ।

बाथका औषधिले साइडइफेक्ट हुन्छ कि हुँदैन?
सबै औषधिको केही न केही साइडइफेक्ट त हुन्छ । पेनकिलर (दुखाइ कम गर्ने) देखि लिएर बाथका मूल औषधिहरू हुन्छन् । मुख्य औषधिले तौल घट्ने, बारम्बार मुखमा घाउ आउने,संक्रमण हुने, शरीरमा रगत कम हुने हुन सक्छ । यसका लागि बिरामीलाई हरेक तीन महिनादेखि चार महिनाभित्र बोलाएर रगत जाँच गर्छौं।

बाथरोग कति प्रकारका हुन्छन्?
नेपालमा सामान्यतः पाँच प्रकारका बाथरोग देखिएका छन् । कुनै बाथ महिलामा बढी हुन्छ भने कुनै पुरुष र बालबालिकामा हुन्छ । जस्तो, गठियाँ  र मांशपेसीको बाथ महिलामा बढी हुन्छ । वयष्क महिलामा गठियाँ बाथ बढी हुन्छ । मेरुदण्डको बाथ ४० वर्षभन्दा कम उमेरका पुरुषमा बढी हुन्छ । युरिक एसिड बाथ पनि पुरुषमै बढी हुन्छ । लुपस बाथ पनि महिलालाई बढी हुन्छ।

बाथ कुन उमेरमा सुरु हुन्छ?
बच्चादेखि वृद्धसम्म सबै उमेरकालाई बाथ हुन सक्छ । उमेरअनुसार फरक–फरक बाथ हुन्छ।

बाथका लक्षणहरू के–के हुन्?
बाथ किसिमअनुसार लक्षण पनि फरक–फरक हुन्छन्।

गठिया बाथः यो बाथ ४० वर्ष कटिसकेका महिला तथा पुरुषलाई हुन्छ । हात–खुट्टाका साना–साना जोर्नीहरू दुख्ने, सुन्निने, बिहान उठ्दा अरठ्ठ हुने, राम्रोसँग मुठ्ठी कस्न नसक्ने तथा आँखा रातो हुने हुन्छ।

मेरुदण्डको बाथः ४५ वर्षभन्दा माथि उमेरका पुरुषहरूलाई हुन्छ । मेरुदण्डको बाथमा बिहान ३/४ बजेतिर एकदमै दुख्ने, कोल्टो फेर्न गाह्रो हुने, कोल्टो फेर्न अप्ठेरो हुने, अरठ्ठ हुने हुन्छ । मुख्य रूपमा चाहिँ मेरुदण्ड समात्छ । साथै शरीरका अरू अंगलाई पनि समात्छ । शरीरका अन्य जोर्नी पनि सुन्निने र दुख्ने हुन सक्छ।

युरिक एसिडको बाथ : ४० कटेका पुरुषमा यो बाथ बढी देखिन्छ । एउटा वा दुइटा जोर्नी रातो भएर सुन्निन्छ । यो रातारात बढेर चरम दुखाइ हुन्छ ।  पहिलो १२ हप्तामै चरम दुखाइ हुन्छ । पछिको चार/पाँच दिनमा आफैं दुखाइ कम भएर जान्छ । औषधि खाए पनि नखाए पनि दुखाइ हराउँछ । बीचमा चार÷चार महिनामा पुनः दुखाइ सुरु हुन्छ । रातारात दुखेर आफैं चट्ट निको भएर जाने यसको लक्षण हुन्छ।

लुपस बाथ : यस किसिमको बाथ युवतीलाई बढी हुन्छ । महिनावारी हुने उमेरका महिलामा यो बाथ बढी हुन्छ । कपाल झर्ने, अनुहारमा रातो दाग देखापर्ने, घाममा जाँदा पोल्ने, चिलाउने, मुखको तालुमा बारम्बार घाउ आउने, मुटु र फोक्सोमा पानी जम्ने तथा मिर्गौलामा समस्या आउने पनि हुन सक्छ।

मांशपेसीको बाथ (फाइब्रोमाल्जिया) : यो पनि महिलालाई नै बढी हुन्छ । यसमा शरीरका विभिन्न ठाउँका मांशपेसी दुख्ने गर्छ । मुख्य गरी घाँटी तथा अन्य भागका मांशपेसी कटकटी खाने, बिहानै आलस्य लाग्ने, सधैं थकाइ लाग्ने, निद्रा राम्रोसँग नलाग्ने यसका मुख्य लक्षण हुन्।

आफूलाई बाथरोग लाग्दैछ भनेर समयमै कसरी थाहा पाउने?
जोर्नी दुख्ने, सुन्निने, अरठ्ठ हुने आदि बाथरोगका साझा लक्षण हुन् । धेरैजसो बाथमा जोर्नी सुन्निने, दुख्ने हुन्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै बाथरोग विशेषज्ञकोमा गएर उपचार गर्नुपर्छ । अध्ययनअनुसार यी लक्षण सुरु भएको तीन महिनाभित्रै ठीक उपचार पायौं भने भविष्यमा औषधि खानु नपर्ने पनि हुन सक्छ । तर धेरैजसो बिरामी रोग छिप्पिसकेपछि हामीकहाँ आइपुग्ने गरेका छन् । यस्तो अवस्थामा लामो समय औषधि चलाउनुपर्ने हुन्छ।

यसरी बाथका समस्या भएकाहरू समयमै उपचारमा नआउनाको कारण?
नेपालका धेरैजसो स्वास्थ्य संस्थामा बाथरोग विशेषज्ञ छैनन् । स्थानीय स्वास्थ्यकर्मीलाई बाथरोगका विषयमा आधारभूत जानकारी पनि छैन । जसका कारण बाथरोगीहरू दुई÷तीन वर्ष झारफुक गराउने, वैद्यको औषधि सेवन गर्ने गरेर बस्छन् । यसो गर्दागर्दै धेरै समय बितिसकेको हुन्छ । रोग छिप्पिसकेको हुन्छ।

विशेष गरी प्राथमिक तहका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बाथरोगका विषयमा जानकारी दिन सक्यौं भने उनीहरूले समयमै बिरामी रेफर गरेर विशेषज्ञकहाँ पठाउन सक्छन्।

उपचार सुविधा भएका सहरका बिरामी त समयमै आउँछन् होला नि?
राजधानी र राजधानी बाहिरका मुख्य सहरका बिरामीहरूमा भने समयमै अस्पताल आउने चलन बढ्दै गएको छ । इन्टरनेटमा पहुँच हुनेहरू पनि समयमै चिकित्सकोमा आइपुग्छन् । तर सबै बिरामी अहिले पनि समयमै उपचारका लागि आउँदैनन्।

बाथरोगीको संख्या बढेको हो?
बाथरोग पहिल्यै थियो, अहिले उपचार गर्ने चलन बढेको मात्र हो । पहिले यसको पहिचान गर्ने प्रविधि थिएन । अहिले बाथरोग पत्ता लगाउने प्रयोगशाला र उपकरण दुवै उपलब्ध हुँदै गएका छन्।

औषधिबिनै खानपिन मिलाएर पनि बाथ नियन्त्रण गर्न सकिन्छ कि?
खानपिनबाट यो नियन्त्रण गर्न सम्भव छैन । तर केही बाथरोगमा खानपिनको पनि भूमिका हुन्छ । जस्तो, युरिक एसिडको बाथमा खानपिनमा पनि ध्यान दिनुपर्छ।

बाथरोगीले कस्तो खाना खानुपर्छ त?
युरिक एसिडको बाथबाहेक अन्य बाथमा खाना बार्नु पर्दैन । युरिक एसिडमा पनि धेरै खाना बार्नु पर्दैन ।  मात्र रक्सी, बियर, सामुद्रिक माछा, कोल्ड ड्रिंक्स् र रातो मासु खानु हुँदैन।

बाथरोगमा जटिलता आउन नदिन लागि अरू के–के गर्नुपर्छ?
नियमित उपचार गर्ने तथा औषधि खाने गर्नुपर्छ । रोग नियन्त्रणमा छ भने भित्री अंग समात्दैन । तर यदि भित्री अंगमा असर गरेमा त्यसको पनि उपचार छ।

बाथरोग जटिल भएको खण्डमा मृत्यु हुने सम्भावना कत्तिको छ?
लुपस र भास्कोलाइटिस(नसाको बाथ) बाथमा भित्री अंग समातेर मानिसको मृत्यु नै हुने सम्भावना बढी हुन्छ । यस्तो बाथले भित्री अंगमा असर गर्ने सम्भावना हुन्छ । यसले मुख्य असर रगत सञ्चालन हुने नसामा गर्छ । यसले भित्री अंग सबै समात्छ।

जाडोमा बाथरोगले अलि बढी सताउँछ नि, किन?
जाडो महिनामा शरीरका जोर्नी बढी सुन्निने तथा दुख्ने बढी हुन्छ । चिसोमा वायुमण्डलको दबाब कम हुन्छ । त्यसले गर्दा जोर्नी भित्रको ताप बढ्छ र जोर्नी सुन्निने र दुख्ने हुन्छ । यसैगरी चुरोटको धूवाँले जोर्नीमा बाथ बढी गराउने तत्व निकाल्छ । त्यसैले जाडो भयो भनेर चुरोट खानु बाथका लागि पनि हानिकारक छ।

जाडोमा बाथरोगीले स्वास्थ्यको हेरचाह कसरी गर्ने?
बाक्लो मोजा तथा पञ्जा लगाउने, चिसोबाट जोगिने, शरीरलाई न्यानो राख्ने । लुगा धुने र भाँडा माझ्नुपर्दा रबरको ग्लबस लगाउने गर्नुपर्छ । साथै जाडोमा तातो पानीले नुहाउने गर्नुपर्छ।