बिशेष

चलचित्र निर्देशक : कलाका साधक कि व्यापारी ?

चलचित्र ‘वीर विक्रम–२’ को गीत यूट्यूबमा सार्वजनिक भइरहँदा रामबाबु गुरुङले ‘कवड्डी’ को तेस्रो भाग बनाउने हल्ला फैलिइरहेको थियो । यो पृष्ठभूमिमा निर्देशक नविन सुब्बाको भनाइ अरु चर्को सुनिन्छ, ‘सिक्वेलले नेपाली सिनेमालाई डुबाउँछ है ।’

सिक्वेल बनाउने मनोविज्ञान सिनेमाको रचनासँग भन्दा पनि व्यापारसँग बढी निकट छ । अक्सर फिल्म मेकर्समा त्यही कारण सिक्वेल निर्माण गर्ने लालसा प्रकट हुन्छ कि, पूर्ववत् दर्शकलाई फेरि एकपटक ‘शिकार’ गर्न सकियोस् ।

हुन त यहाँ ‘सिक्वेल’ शब्दमै दिग्भ्रमित छन् धेरै । छक्का–पञ्जा, नाई नभन्नु ल, ए मेरो हजुर जस्ता चलचित्रलाई ‘सिक्वेल’ भन्दै त्यसका अनन्त भाग निर्माण गर्नेे ट्रेन्ड छ ।

फिल्मकर्मीको मनोदशाले देखाउँछ, नेपाली चलचित्र अहिले रचनात्मक कम र बजारमुखी बढी छ । उदेकलाग्दो चाहिँ के भने, बजारको आयतन फैलिएको छैन, बरु खुम्चिदैछ । किन ?

यसमा निर्देशक सुब्बाकै भनाइ सापटी लिउँ, ‘चलचित्र बजारमा निर्भर भइरह्यो भने यसले रचनात्मकता मात्र गुमाउने होइन, भएको बजार पनि गुमाउनेछ । बजारले कमोडिटी माग्छ, तर चलचित्र कमोडिटी होइन ।’

चलचित्रले बजार जरुर खोज्छ । तर, त्यो बस्तुको बजार होइन, सिर्जनाको बजार हो ।

जोखिमबाट भाग्दै निर्देशक

‘कवड्डी’ जस्तो तिख्खर मौलिक स्वादको चलचित्र बनाएका रामबाबु गुरुङ किन ‘मिस्टर झोले’ मा रल्लिदैछन् ? नेपाली चलचित्रको पुरातन मानक भत्काउँदै ‘लुट’ बनाउने निश्चल बस्नेत किन आइटम गीतमा अल्झिएका छन् ? सरल कथालाई रोचक ढंगले पेश गर्दै ‘पशुपतिप्रसाद’ बनाउने दीपेन्द्र के खनाल किन ‘चपली हाइट–२’ मा फर्कदैछन् ? ‘जात्रा’ जस्तो रैथाने र रसिक चलचित्र बनाउने प्रदीप भट्टराई किन ‘सत्रु गते’ को आड खोज्दैछन् ?

एक दर्शकले चलचित्र हेर्नका लागि औसत १ सय ५० रुपैयाँ खर्च गर्छ । अब डेढ करोड लगानी भएको चलचित्रलाई न्युनतम कति दर्शक चाहिन्छ ?

’cause, उनीहरु सुरुवाती जोश र जोखिमबाट भाग्दैछन् । बजारको निर्देशन एवं इशाराअनुसार आफ्नो इन्द्रिय चलाइरहेका छन् ।

निर्देशक सुब्बाकै भनाइ यहाँ पनि सान्दर्भिक हुन्छ, ‘विडम्बना ! यो सम्भावनाशील पुस्ता शैली र विषयमा नयाँ खोज एवं सिंगो सिनेम्याटोग्राफीमा निजत्व निर्माणतिर लागेन ।’

त्यसो त निर्देशक सुब्बा स्वयम्माथि पनि प्रश्न उठाउने ठाउँ छ । ‘नुमाफुङ’ जस्तो अर्गानिक चलचित्र बनाएका उनी ‘गुडबाई काठमाडौं’ बोकेर महोत्सव चाहर्ने वा आइएनजीओको परियोजना अन्तर्गत टेलिशृंखला निर्देशन गर्ने काममा किन अल्मलिएका छन् ?

जवाफ हो, उनी पनि ‘सिंगो सिनेम्याटोग्राफीमा निजत्व निर्माण’ गर्नेभन्दा आफ्नो दुनो सोझ्याउने कर्ममा छन् । यही ‘दुनो सोझ्याउने’ चक्करमा नेपाली चलचित्रकर्मी ‘बजारका कर्मचारी’ बनेका छन्, निर्देशक होइन ।

पछिल्लो समय चलचित्रमा निर्देशकीय उपस्थिति लुलो बनेको छ । अभिनेता कमलमणि पौडेलले भनेजस्तै ‘अहिले राम्रो क्यामेराम्यान र एसिस्टेन्ट डाइरेक्टर हातमा लिएर जसले पनि चलचित्र निर्देशन गर्न सक्छन् ।’

ब्लकबस्टर भनिएका ‘छक्का पञ्जा’मा निर्देशकीय उपस्थिति र हस्तक्षेप कति छ भनेर खोज्ने हो भने, नतिजा निराशजनक आउनेछ । नविन सुब्बा सही छन्, ‘अहिले म्यानेजरहरुले चलचित्र बनाइरहेका छन्, निर्देशकले होइन ।’ उनका अनुसार एकातिरबाट पैसा जुटाउने, अर्कोतिरबाट कलाकार खोज्ने, स्क्रिप्ट लेखाउने, इक्विपमेन्ट जोहो गर्ने सबैकुरा टाकटुक मिलाएर चलचित्र बनाउने निर्देशक चलायमान छन् । उनीहरुबाट ‘सिनेम्याटोग्राफीमा निजत्व निर्माण’ को अपेक्षा आफैंमा लाजमर्दो मात्र होइन, बेकार पनि हुन्छ ।

एकातिर म्यानेजरहरु ‘निर्देशक’ मा रुपान्तरण हुँदैछन् भने अर्कोतिर ‘संभावनायुक्त’ भनिएका निर्देशकहरु जोखिमबाट भाग्दैछन् ।

किन हाम्रा फिल्ममेकर्स यति काँतर भए ? ‘हरि’, ‘साँघुरो’, ‘नाका’, ‘गाँठो’ जस्ता चलचित्रको चरम असफलताले पनि उनीहरुलाई तर्साएको हुनुपर्छ । यी चलचित्रमा निर्देशकले केही नयाँ अभ्यास गरेका थिए तर, ती सबै फगत प्रयोग मात्र भइदिएपछि ‘संभावनायुक्त’ भनिएका निर्देशकहरु रक्षात्मक मोडमा उभिए ।

के बजार धराप छ ?

यो विन्दुमा आइपुगेपछि एउटा प्रश्न उठ्छ, के नेपाली बजार त्यति धराप छ, जसको आडमा उन्मुक्त ढंगले चलचित्र बनाउन सकिँदैन ?

यो प्रश्नको जवाफ चलचित्र हलको संख्या, दर्शकको आयतन, कारोबार आदिबाट निकाल्न सकिन्छ । नेपाली चलचित्र हेर्ने दर्शक भनेका नेपाली हुन्, विदेशी आँखाले भनेको महोत्सवहरुमा मात्र हेर्ने हो ।

अहिले नेपाली चलचित्र निर्माणको मोटामोटी बजेट हो, एक वा डेढ करोड । यति रकम असुल गरेर मुनाफा आर्जन गर्नका लागि कति कमाई (ग्रस कलेक्सन) गर्नुपर्छ ?

चलचित्र विकास बोर्डले भन्छ, नेपालभर डेढ सय चलचित्र हल र त्यस अन्र्तगत २ सय स्क्रिन सञ्चालनमा छन् । एउटा चलचित्रको एक शो हेर्न एउटा दर्शकले औसत १ सय ५० रुपैयाँ खर्च गर्छ । अब डेढ करोड लगानी भएको चलचित्रलाई न्युनतम कति दर्शक चाहिन्छ ?

पछिल्लो राष्ट्रिय जनगणनाले भन्छ, नेपालको जनसंख्या २ करोड ९४ लाख छ ।

नेपालमा कति दर्शक चलचित्रको पहुँचमा छन् वा कति दर्शकले टिकट काटेर चलचित्र हेर्छन् भन्ने ठ्याक्कै भन्न सकिँदैन । तर, मोटामोटी अनुमान गर्न सकिन्छ, हलको कारोबारबाट । यसको मानक बन्न सक्छ, पछिल्लो अवधीमा ब्लकबस्टर भनिएका चलचित्रको कारोबार ।

‘लुट’, ‘कोहिनुर’, ‘छक्का पञ्जा’, ‘सत्रु गते’ नेपालको सन्दर्भमा व्यवसायिक हिसाबले सफल मानिन्छ, जसको औसत कमाई ८ करोड रुपैयाँ रह्यो । १ सय ५० रुपैयाँ टिकटको दरले ८ करोड रुपैयाँ कमाई गर्न ५ लाखले फिल्म हेर्नुपर्ने हुन्छ । नेपाली जनसंख्याको अनुपातमा यो संख्या १ दशमलव ७ प्रतिशत हो ।

यस हिसाबले नेपालको जनसंख्याको एक चौथाईले मात्र नेपाली चलचित्र हेर्ने हो भने त्यसको आर्जन अर्बौंको आँकडामा आउँछ । जबकी अहिलेको अवस्थामा ‘ब्लकबस्टर’ बनाउन कुल जनसंख्याको करिब दुई प्रतिशत नेपाली दर्शक काफी रहेछ ।

त्यसो त अहिले हलमा वा टिकट विक्रीमा मात्र निर्भर रहनुपर्ने वाध्यता छैन । डिजिटल र ओभरसिज राइट्सबाट पनि राम्रै आर्जन भइरहेको दृष्टान्त छ । अनमोल केसीको चलचित्र ‘कृ’, दीपक–दिपाको ‘छक्का पञ्जा’ र मह संचारको ‘सत्रु गते’ ले डिजिटल र ओभरसिज राइट्बाट औसत ८० लाख रुपैयाँ कमाएको चर्चा छ ।

पछिल्लो राष्ट्रिय जनगणनाले भन्छ, नेपालको जनसंख्या २ करोड ९४ लाख छ । यस हिसाबले ब्लकबस्टर विजनेस गर्नका लागि १ दशमलव ७ प्रतिशत दर्शकले चलचित्र हेरे काफी हुन्छ ।

पछिल्लो तथ्यांकले भन्छ, करिब ४३ लाख बढी युवा वैदेशिक रोजगारीमा छन् । यी नेपाली चलचित्रका खाँटी दर्शक हुन् । तर, उनीहरुले हलमा टिकट काटेर होइन, युट्युबमा उपलब्ध चलचित्र हेर्छन् ।

नेपालका सबै शहरमा चलचित्र हल छैनन्, भएका कतिपय ठाउँमा सुविधायुक्त हल छैनन् । ठूला घरानाका, संभ्रान्त भनिने र किशोर पुस्ता नेपाली चलचित्र भने पनि अझै नाक खुम्च्याउँछन् ।

सबै हिसाब–किताबले देखाउँछ, नेपाली चलचित्रको लागि अनन्त अवसर छ । निर्देशकले मोल्ने चुनौती एवं जोखिम खेर जाने छैन । तर, यसका लागि फिल्ममेकर्सले दुई वटा कुरा त्याग्नैपर्छ । एक, फलानो जस्तै चलचित्र बनाउनुपर्छ भन्ने चेत । दुई, अनेकन फन्डा अपनाएर चलचित्र चलाउँछु भन्ने सोच । दुबै कृत्य केवल दर्शकको आँखा छल्ने मनोविज्ञानबाट निर्देशित छ । दर्शकको आँखा छल्ने होइन, मन जित्ने साहस जुटाउनुपर्छ ।

दर्शक झुक्याउने यत्न

त्यही दर्शक, जसले कुनै कलाकारलाई रातारात स्टार बनाइदिन्छ । त्यही दर्शक, जसले कुनै निर्देशकलाई रातारात नेम र फेम दिलाइदिन्छ । त्यही दर्शक, जसले एउटा निर्मातालाई रातारात करोडपति बनाइदिन्छ ।

तर, त्यही दर्शकलाई झुक्याएर, भुलाएर हाम्रा फिल्ममेकर्स भने चलचित्र ‘हिट’ बनाउने फर्मुला र फन्डा खोजिरहेका छन् । चलचित्र घोषणा, शुभ मुहूर्त, सुटिङ रिपोर्ट, इन्डक्ल्याप, गीत रिलिज, टिजर÷ट्रेलर रिलिज, चलचित्र रिलिज डेट हुँदै प्रदर्शनको मुखमा आइपुग्दा ठूलै हल्लाखल्ली मच्चाइसकेका हुन्छन् । दर्शकको ध्यानाकर्षण गराउन र चलचित्रप्रति चासो जगाउन ‘पब्लिसिटी’ चाहिन्छ नै । तर, पब्लिसिटीकै भरमा दर्शक हलमा आउँछन् ? टिकटको लाइनमा उभिन्छन् ? चलचित्र हेरिदिन्छन् ?

उनीहरु चलचित्र प्रदर्शनअघि दर्शकतर्फ दुई हात जोडेर अनुनय गर्छन्, ‘प्लिज नेपाली चलचित्रलाई माया गरिदिनुहोस् ।’

मिडियातर्फ फर्केर अनुरोध गर्छन्, ‘यसपाली साथ दिनुहोला ।’

तर, कसरी रैथाने कथामा सुरुचीपूर्ण ढंगले मनोरञ्जनात्मक शैलीको दृश्यभाषा निर्माण गर्ने भनेर घोत्लिदैनन् । बस् कथा, कलाकार, क्यामेरा र पैसा भए चलचित्र बनाएर ‘बबाल कमाइन्छ’ भन्ने मनोवृत्ति बोक्छन् । कनीकुथी चलचित्र बनाउँछन् । तर आफ्नो समय र पैसा खर्च गरेर ‘नेपाली चलचित्रलाई माया गर्न’ का खातिर दर्शक हलमा जाँदैनन् । फिल्ममेकर्सको सपना तीन दिनमा भताभुंग हुन्छ ।

अनि दर्शकतिर फर्केर भन्छन्, ‘यिनीहरुमा सिनेमा–चेत छैन ।’

कोही रोइकराई गर्छन्, ‘मिडियाले साथ दिएन ।’

कोही सत्तो–सराप गर्छन्, ‘फलानोले गर्दा मेरो चलचित्र चलेन ।’ कोही गुनासो गर्छन्, ‘नेपाली दर्शकले चलचित्र बुझेनन् ।’

दर्शकलाई ‘उल्लु’ बनाउने फिल्ममेकर्सको चेष्टाले आफैलाई लोप्पा ख्वाइदिन्छ ।

उनीहरुले के ठानेका हुन्छन् भने पब्लिसिटीकै भरमा शुक्रबार दर्शक ओइरिन्छन् । शनिबार विदा, यसै पनि दर्शक मनोरञ्जन गर्न हलमा पुग्छन् । शुक्रबार र शनिबारको तरंगले आइतबार पनि दर्शकको ताँती लाग्छ ।

ीन दिन मात्र चलचित्र चलेमा लगानी सुरक्षित हुन्छ । त्यसपछि कुनै साँझ तामझामले ‘सक्सेस पार्टी’ आयोजना गरिन्छ । यसको ध्येय चलचित्रको सफलतामा उत्सव मनाउने होइन, ओभरसिज मार्केटका लागि पब्लिसिटी गर्ने हो । विदेशमा रहेका दर्शक झुक्याउने यत्न हो ।

दर्शक झुक्याउने यो खेल कतिसम्म चल्छ भने, खामबन्दी पैसा दिएर ‘मिडिया पब्लिसिटी’ गर्नेदेखि अर्को चलचित्र हेर्ने भिड खिचेर ‘आफ्नो चलचित्र हेर्न दर्शक ओइरिए’ भनिदिन्छन् । केही नियोजित टिम यसरी खडा गरिन्छ, जसले ‘चलचित्र बवाल चल्यो’, ‘फलानो चलचित्र हेर्न दर्शकको ओइरो’, ‘फलानोको आक्रमक ओपनिङ’, ‘फलानो चलचित्र हेरेर दर्शक मस्त हाँसे, धुरुधुरु रोए’ भन्ने प्रचार–समाग्री युट्यब र सामाजिक संजालमा छ्यापछ्याप्ती बनाइदिन्छन् ।

कति दर्शक झुक्किएरै हलमा पुग्छन् । चलचित्र हेरेर निरास हुँदै फर्कन्छन् । र, फेरि नेपाली चलचित्र हेर्नुअघि दुई पटक सोच्छन् ।

खासमा नेपाली चलचित्रको बजार सानो वा साँघुरो छैन । तर, दर्शक झुक्याएर चलचित्र चलाउने जुन प्रवृत्ति छ, त्यसले समग्र नेपाली चलचित्रको बजार खुम्च्याउँदै लगेको छ । समर्पण भावले जोखिम मोलेर, केही नयाँ प्रयोग गरेर, अध्ययन–अनुसन्धान गरेर, सिर्जनशिल भएर चलचित्र निर्माण गर्नेभन्दा पनि ‘झुक्याएर’ चलचित्र बेच्ने शैली अन्ततः नेपाली फिल्ममेकर्सकै लागि प्रत्युत्पादक भएको छ ।

वर्तमान अवस्थालाई नियाल्दा चलचित्र वृत्तमा चारथरी प्रवृत्ति देखिन्छ ।

एकथरी, जो अघिल्लो चलचित्रको धङ्धङ्ती बोकेर ‘सिक्वेल’ वा ‘अर्को शृंखला’ बनाइरहेका छन् । दोस्रो, बक्स अफिसको अंकगणितले उत्कृष्ट भनिदिएको चलचित्रको फेरो समातेर ‘त्यस्तै चलचित्र’ बनाइरहेका छन् । तेस्रो, विदेशी आँखाले हेर्न खोज्ने नेपाली परिस्थिती र परिदृश्यको विवरण फिल्म–महोत्सवमा पुर्‍याइरहेका छन् । चौथो, चलचित्रको व्याकरण बुझ्ने भन्दा पनि दक्षिण भारतीय वा त्यस्तै चलचित्रको फोटोकपी उतार्ने चक्करमा छन् ।

यसरी चारतिर मुख फर्काएर दौडिरहेको नेपाली चलचित्र जुन दिसामा मुखरित हुनुपर्ने त्यसो भएको छैन ।