राजनीति

श्रममन्त्री बिष्टले पुजा चन्दालाई दिँदै मलेसिया ‘भेन्डर’, को हुन् पुजा ?

काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारीसँग सम्बन्धित भेन्डर संस्था आफ्ना नजिककालाई दिन चलखेल गरेको आरोप लागेको छ । यो आरोप साधारण व्यक्तिले नभई पूर्वउपप्रधानमन्त्री, मन्त्री, नेताले लगाएका छन् । विष्टले उक्त भेन्डर संस्था एक जना शक्तिशाली स्त्रीमार्फत दिन लागेको आरोप पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नामै किटेर बताएका थिए । उनले पूजा चन्द नाम गरेकी महिलाको नाम लिएका थिए ।

त्यसो त पूर्वउपप्रधानमन्त्री कमल थापाले पनि विष्टको उक्त कदमको छानबिन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक रूपमा नै माग गरेका छन् । उनले भनेका छन्, ‘मलेसिया सरकारसँग सहमतिपछि नेपाली श्रमिक उत्साहित भए । तर समझदारीपछि अझैं मलेसियाको रोजगारी नखोल्नु, कुटनीतिक कमजोरी  देखिन्छ । भेन्डर नखोली आफ्नालाई दिन लागेको सुनिएको छ । प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ ।’

मलेसिया रोजगारीसँग सम्बन्धित ‘भेन्डर’ संस्था हत्याउन लागि विष्टसँग नजिक भएकाहरू सक्रिय रहेको बताइन्छ । बायोमेट्रिक, भीएलएन, आइएससी जस्ता राम्रो आर्थिक स्रोत भएका संस्था हत्याउन श्रममन्त्री बिष्टको पहुँचमा विभिन्न व्यक्ति पुगेको बताइएको छ ।

भेन्डर संस्था संचालन गर्दै आएका व्यक्तिलाई हटाएर बायोमेट्रिक, भीएलएन, आइएससी जस्ता संस्था आफ्नो हातमा पार्न श्रममन्त्री र मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पार्ने तयारी पनि भएकोप्रति कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री शेखर कोइरालाले भनेका छन्, ‘श्रममन्त्रीले निहीत स्वार्थका लागि सम्झौताविरूद्ध गएर भेन्डर परिवर्तन गरी आफ्नालाई दिने तयारी भएको सुनिएको छ । तुरून्त छानबिन गरी प्रक्रिया अगाडी बढाइयोस् ।’

भिषा लागिसकेका १० हजार कामदार मलेसिया जान पाएका छैनन् । नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौतामा भिषा लागिसकेका कामदारलाई तत्कालै श्रम स्वीकृति दिने उल्लेख गरिएको छ । तर श्रम सम्झौता भएको एक एक महिना पुगिसक्दा पनि उनीहरू मलेसिया जान पाएका छैनन् ।

श्रम स्वीकृति नभएका कारण उनीहरूको भिषा सकिने अवस्थामा पुगेको छ । श्रम स्वीकृति नलिँदै भिषा अवधी सकियो भने कामदार दोहोरो खर्चको मारमा पर्ने निश्चित छ ।

मलेसियाका लागि कामदार पठाउने विभिन्न संस्थालाई कारबाही गरी अघि बढेका विष्टले नयाँ सम्झौता गरेपछि काम गरेको भनिए पनि आफ्नालाई भेन्डर दिनका लागि षड्यन्त्र गरेको व्यावसायीले आरोप लगाउँदै आएका छन् ।

पुजा चन्द

पुजा चन्द विद्युत् प्राधिकरणका पूर्वप्रमुख कीर्तिचन्द ठकुरीकी छोरी र पूर्वप्रहरी महानिरीक्षक रमेश चन्दकी बहिनी हुन् । उनी हाइड्रोपावर सम्बन्धी काम गर्छिन् । केही वर्षअघिसम्म उनको ठमेलमा तामस रेष्टुरेण्ट थियो ।