राजनीति

कटाैतिमा परेका सार्वजनिक बिदा २०७६ सालमा पुनर्स्थापित हुने

काठमाडौँ । केपी ओली नेतृत्वको सरकार बनेसँगै २०७५ सालमा कटौतिमा परेका सार्वजनिक बिदाहरू २०७६ सालमा थप गरिने भएको छ ।

बिदा पुनरावलोकन गर्न गठित मन्त्रीस्तरीय कार्यदलले पेश गरेको प्रस्तावमा विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्न सुझाव दिएपछि बिदा थप हुने भएको हो ।

कार्यदलले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, माघी पर्वमा १ र जनै पूर्णिमामा १ दिन गरी १२ दिन थप गर्न प्रस्ताव गरेको छ ।

अनावश्यक सार्वजनिक बिदाले सरकारी कामकाज प्रभावित भएको भन्दै ओली नेतृत्वको सरकार बनेसँगै गत चैतमा विभिन्न समुदायले मनाउने कुल १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो । 

तिनै बिदा पुनर्स्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको हो । कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सदस्य थिए ।