राजनीति

राष्ट्रियसभा बैठकमा काँग्रेसले माग्याे मन्त्री अधिकारीकाे राजीनामा

फाइल फाेटाे

काठमाडौँ । वाइड बडी विमान खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मन्त्री अधिकारीको राजीनामा माग गरेको हो । 

नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले शुक्रबारको राष्ट्रियसभा बैठकमा वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीले तत्काल राजीनामा दिननुपर्ने माग गरिन् ।

बैठकमा विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले वाइडबडी विमान खरिदमा भएको अनियमिततासम्बन्धी छानबिन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क गरेकी हुन् ।

सांसद आलेले वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो छानबिन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन् । 

वाइडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी ठह¥याएकाहरुलाई तत्काल कारबाही गर्न पनि आलेले सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । 

संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।