राजनीति

वाइडबडीमा मन्त्रीकाे नैतिक जिम्मेवारी मात्रै, कंसाकार र देवकाेटालाई हदैसम्मकाे कारबाही

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक र पर्यटन सचिलाई निलम्बन गरी हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ ।

समितिले वाइबडी खरिदमा अख्तियारको दुरुपयोग गरेको ठहर गर्दै निगमका महाप्रबन्धक सुगतरत्न कसांकार र बहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई कारबाहीको गर्न निर्देशन दिएको हो ।

‘निगमको विनियमावलीको दफा २३६ (२) अनुसार बद्नियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अघि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक कंसाकारले बद्नियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने’, संसदको लेखा समितिको निर्देशनमा भनिएको छ ।

निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष समेत रहेका देवकोटाले महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदन २०७४ ले विमान खरिद नियम संगत नभएको भनी जनाएको अवस्थामा पनि छानबिन नगरी खरिद प्रक्रियालाई निरन्तरता दिएको आरोप लगाइएको छ ।

त्यस्तै, समितिले पूर्व र बहालवाला मन्त्रीहरुले नैतिक जिम्मेवारी लिए पुग्ने सिफारिस गरेको छ । राजन केसीको संयोजकत्वमा गठित अध्ययन उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययन पश्चात संसदको सार्वजनिक लेखा समितिले पूर्व र बहालवाला मन्त्रीहरुलाई नैतिक जिम्मेवारी लिएर पन्छिने बाटो खुलाएको हो ।

उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो ।