राजनीति

गण्डकी प्रदेशसभामा नेकपाको संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

कास्की । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । 

नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए । 

साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका थिए । नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ । 

अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक हुनुहुन्थ्यो भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहेका थिए । दलको बैठकमा सरकारको काम कारवाही, अन्तरप्रदेश समन्वय परिषद्को हालै सम्पन्न भएको बैठकका निर्णय लगायतका विषयमा दलका नेतासमेत रहेका मुख्यमन्त्री गुरुङले सदस्यलाई जानकारी गराएको सदस्य बरालले जानकारी दिए ।