राजनीति

डा. केसीसँग भएकाे सहमति ताेड्दै चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

फाइल फाेटाे

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति तोड्दै चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेको छ । 

समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मत दिएको छ । कांग्रेसले डा. केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन पास हुनुपर्ने मत राख्दै विपक्षमा मत दिएको हो ।

प्रतिवेदनमा डा. केसीसँग भएको सहमतिअनुसार नै उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । साथै आशयपत्र लिई पूर्वाधार पुरा गरेको शिक्षण संस्थालाई सरकारलार्ए सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेकमो क्षेत्रस्मा स्थानान्तरण गर्ने विकल्प दिइएको छ ।

त्यस्तै, प्रतिवेदनमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भनिएको छ । तर, सम्बन्धन लिइसकेका र मनसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू नहुने भएको छ । 

उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ ।समितिको यो निर्णय डा. केसीसँग भएको सहमति र माथेमा आयोगको सिफारिस विपरित हो ।