राजनीति

तदर्थ समिति बन्ने भएपछि राजीनामाकाे तयारीमा नेविसंघ अध्यक्ष महर

फाइल फाेटाे

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्ने तयारी गरेपछि महरले राजीनामा दिने तयारी गरेको बताइएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा काँग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी छ ।

नेविसंघ निकट स्रोतका अनुसार महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेका छन् । नेविसंघको तदर्थ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग हुनेछ । 

काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।  तर, अहिले महरले राजीनामा नदिएकाले केन्द्रीय समिति बैठकले ठोस रुपमा निर्णय लिन नसकेको बताइएको छ ।

माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेश गरेका थिए ।

नेविसंघको वर्तमान कार्यसमितिले दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न नसकेपछि माउ पार्टी भङ्ग निर्णयमा पुगेको बुझिएको छ ।