खेल

भाइटीकाको साइत सार्वजनिक

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ। 

यस वर्ष यमपञ्चक अर्थात तिहार कार्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड पर्व, कार्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी परेकाे छ। काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ। 

कार्तिक २१ गते कार्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा रहेकाे छ। यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ। कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन्। कार्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवर्द्धन पूजा रहेकाे छ। यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ।

कार्तिक शुक्ल द्वितीयाका दिन कार्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताए। तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ। रासस