न्वारनमा भोज खाँदा ३५ बिरामी

गोरखा– शहीद लखन गाउँपालिका वडा नम्बर ६ बतासेमा भोज खाँदा एकै गाउँमा ३५ जना बिरामी परेका छन्। मंगलवार साँझ फुलमाया श्रेष्ठको घरमा भोज खाँदा डायरिया हुने, पेट दुख्ने समस्या भएको स्थानीयले बताएका छन्।

स्थानीय बिरामी परेपछि स्वास्थ्यकर्मीको टोली आज बिहानै उपचारका लागि खटिएको शहीद लखन गाउँपालिका स्वास्थ्य शाखाका बीरेन्द्र श्रेष्ठले बताए। उनले भने ‘बिहान देखि अहिलेसम्म हामीले जाँच गरिरहेका छौँ, ३५ जना बिरामी छन्।’

कुखुराको मासु खाएकाहरुलाई स्वास्थ्य समस्या देखिएकाले मासुका कारण हुन सक्ने अनुमान स्थानीयको छ। घैरुङ स्वास्थ्य चौकी र गाउँपालिका स्वास्थ्य शाखाका चार जना स्वास्थ्यकर्मीले बिरामीको जाँच गरिरहेका छन्। बिरामीको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको छ।