fbpx
अर्थ

विद्यार्थी २५, शिक्षक १३

धनुषा– वरिपरि पोखरी र मठ मन्दिर छन्। वरिपरिको ठाउँ कुनै पर्यटकीयस्थलभन्दा कम छैन। दिनको १२ बजेको थियो। विद्यालय जाने साँघुरो बाटोमा नाक थुनेर केही मान्छेहरू ओहोर दोहोर गरिरहेका छन्। बाटो स्थानीय व्यापारी र शौचालय अभाव खेपिरहेको विद्यार्थीका लागि पिसाब फेर्ने ठाउँ हो। विद्यालय उमेरका केही बालबालिकाहरू विद्यालयभन्दा पर परिवारले थापेको सानो पसलमा बसेका छन्।

विद्यालयमा विद्यार्थीको चहलपहल देखिँदैन। साँघुरो बाटोमा गरिएको दिसा र पिसाबको दुर्गन्ध विद्यालयको कक्षाकोठासम्म पुग्छ। विद्यालयको एक कक्षाकोठा सुनसान छ भने अर्को कक्षामा शिक्षकले उपस्थित भएका एक विद्यार्थीलाई पढाउँदै थिए। अन्य कक्षाकोठामा तीन चार जना विद्यार्थी हल्ला गर्दै खेलिरहेका थिए। विद्यालयका १३ जना शिक्षकमध्ये एक शिक्षकबाहेक अन्य शिक्षक समूहमा बसेर गफिँदै थिए। विद्यालयका प्रधानाध्यापकसमेत रहेकी वनारसी देवी आफन्तसँग कुराकानी गर्दै थिइन्। यो दृश्य हो जनकपुरधाम उप–महानगरपालिका–४ स्थित गंगासागर र धनुषसागर पोखरीको डिलमा रहेको राजर्षि जनक राष्ट्रिय प्राथमिक विद्यालयको।

नेपाल सरकारले एक शिक्षक बराबर कम्तीमा ५० विद्यार्थी हुनुपर्ने प्रावधान राखेको छ। तर, राजर्षि जनक विद्यालयमा एक शिक्षक एक विद्यार्थी अझ कुनै दिन विद्यार्थीभन्दा शिक्षक नै बढी हुने गरेको कुरा स्थानीय सुनाउँछन्। कुनै बेला यही विद्यालय भरिभराउ हुन्थ्यो। एउटै कक्षामा ७५ भन्दा बढी विद्यार्थी हुन्थे। विद्यार्थीले ठाउँ नपाएर कोचिएर बस्नुपथ्र्यो। कक्षामा विद्यार्थीको हाजिरी लिँदा शिक्षकको घाँटी नै दुख्ने गरेको यहाँका शिक्षकहरू अहिले पनि सम्झन्छन्। तर, अचेल यी सबै कुरा कहानी झैँ भइसकेका छन्। यो विद्यालयमा अहिले सबै विद्यार्थी जोडेर १ सय ६ जना मात्र पुग्छन्। ‘पहिले यहाँ विद्यार्थी भर्ना हुन चाहनेको ताँती लाग्थ्यो। अहिले कोही आउँछन् कि भनेर कुरेर बस्नुपर्छ,’ प्रधानाध्यापक वनारसीले भनिन्, ‘अहिले यस विद्यालयमा स्थानीयले आफ्ना छोराछोरी पढाउँदैनन्। यहाँ प्रायःजसो बाहिरबाट आएका दैनिक ज्याला–मजदुरी गर्ने र फुटपाथमा पसल थाप्नेका बालबालिका मात्र पढ्न आउँछन्।’

देशभर विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश २ को राजधानी जनकपुरको यस विद्यालयमा विद्यार्थी जुटाउन सरोकारवाला निकायका लागि टाउको दुखाइ भएको छ। अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरिरहेकाले विद्यालयमा करिब पाँच वर्षदेखि विद्यार्थी अभाव देखिएको हो। सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन सरकारले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऊँ’ नारा दिएर भर्ना अभियानको थालनी गरे पनि यहाँ विद्यार्थी संख्या बढ्न सकेको छैन। ‘विद्यालयमा दलित समुदायका विद्यार्थी अध्ययनरत छन्,’ उनले भनिन्, ‘उनीहरू फुर्सदका बेला मात्र पढ्न आउँछन्।

यस वर्ष भर्ना अभियानले विद्यालयमा नयाँ २१ जना विद्यार्थी थपिए पनि उनीहरू विद्यालय नआएको उनले बताइन्। ‘सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किँदो रहेको अभिभावकको मानसिकतामा छ,’ उनले भनिन्, ‘जबसम्म अभिभावकको मानसिकता परिर्वतन हुँदैन तबसम्म सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्दैनन्।’

विद्यालयको तथ्यांकअनुसार विद्यालयमा भर्ना भएको १ सय ६ जना विद्यार्थीमध्ये ९२ जना बालबालिका दलित समुदायका छन्। गत मंगलबार कक्षा १ मा ५, कक्षा दुईमा ६ जना, कक्षा तीनमा शून्य, कक्षा चारमा १ जना, कक्षा पाँचमा ७ र शिशु कक्षामा ६ जना गरी मात्र २५ जना विद्यार्थी पढ्न आएका थिए। विद्यालयमा ८ जना स्थायी, ४ जना राहत, १ जना बालविकास र एक कार्यालय सहायक गरी १४ जना कार्यरत छन्।

अभिभावकको अंग्रेजी मोह
सबै अभिभावकले आफ्ना सन्तानले प्रगति गरोस्, राम्रो जागिर खाओस् भन्ने चाहन्छन्। त्यसका लागि अंग्रेजी भाषाको पठनपाठन हुनुपर्छ भन्ने समाजको माग छ। त्यसैअनुरुप सबै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ, अंग्रेजी विद्यालय। अभिभावक यतिसम्म लालायित छन् कि विद्यालयले तोकेभन्दा बढी शुल्क तिर्न तयार हुन्छन्। निजी विद्यालयले चर्को शुल्क लिँदा पनि अभिभावकको अंग्रेजी विद्यालयप्रतिको मोह हट्न सकेको छैन।