fbpx
अर्थ

राइन किनाराका किल्लाहरू

इतिहास छ, र त वर्तमान छ। हिजो छ, र त आज छ। आज छ, अनि मात्र भोलि हुनेछ। समयका पलहरू बित्दै जान्छन् र ती हिजो, अस्तिमा रूपान्तरित हुँदै विगत वा अतिततिर धकेलिँदै जान्छन्, अनि इतिहास बन्छन्। इतिहासले समयका खासखास क्षणहरूलाई छानीछानी संरक्षण गर्दोरहेछ। ती खास क्षणहरूलाई इतिहास बनाउने चाहिँ मानिसले नै रहेछ र उस्का कर्महरूले नै रहेछ। मानिसका कर्महरूलाई नै समयले इतिहास बनाउँदो रहेछ। त्यसैले समय, कर्म र इतिहास अन्योन्याश्रित रहँदा रहेछन्।

राइन किनारमा कति थिए कति त्यही समय, कर्म र इतिहासका स्मारकहरू, इतिहासका कर्मलाई मानिसले जतन गरेर सजाएका धरोहरहरू। यात्रा गर्दागर्दै बस रोकिएका बेला अलि परैबाट देखिन्थे कैयाँै पुराना चर्च, वस्ति र क्यासलहरू। ती सबैलाई नजिकैबाट देख्न वा तीभित्र पस्न हामीसँग समय थिएन। हस्र्टले बस रोकिएका बखतमा राइन वरिपरिका प्रसिद्ध वस्ती देखाउँथे र तिनको ऐतिहासिकताका बारेमा एक दुई वाक्य भन्थे पनि। हामीलाई त्यसबाट खास जानकारी हुँदैनथ्यो।

इतिहासलाई अवमूल्यन र गाली गरेर विद्वताको आत्मरतिमा रमाउन पनि हामी पछि पर्दैनौँ। जब कि जर्मनीले हिटलरको बासस्थानलाई पनि राष्ट्रिय सम्मानका साथ संरक्षण गरिरहेको छ भने देशभरका अन्य ऐतिहासिक स्थलहरुको संरक्षण गरी पर्यटकलाई आफ्नो इतिहास चिनाइरहेछ।

राइनका छालहरू हेर्दाहेर्दै, तीबाट सुसाएको सघन सुसाइ सुन्दासुन्दै ४÷५ घण्टा बितिसकेको थियो। त्यस दिनको हाम्रो यात्रा कोलोन पुगेपछि टुङ्गिन्थ्यो। सन् २००० को अक्टोबरको पहिलो साताको कुनै दिन। दिउँसोको २ बजेको हुँदो हो, स–सानो बिसौनी बजारमा पुगेर बस रोकियो, एरिया मुग्लिन जत्रै तर चिरिच्याँट्ट परेको बजार थियो त्यो। भिरालो र फाँटिलो परेको ठाउँमा बसेको प्राचीन वस्ती रहेछ। केहीबेर पहिले हस्र्ट र हाइडीले “हामी त्यस बजारमा रहेको एउटा पुरानो किल्लाको अवलोकन गर्न केहीबेर रोकिँदै छाँै” भनेर सूचना दिएका थिए। त्यहाँनेर आइपुग्दा राइनलाई त्यति देख्न सकिँदैनथ्यो, घुम्ती परेको डाँडाको फेदीको वस्ती भएकाले राइन छलिएको थियो। हामी बसबाट ओल्र्यौँ, हस्र्ट र हाइडी अघि लागे। केही मिनटमा एउटा पुरानो चर्च अघिल्तिर पुगियो। त्यस्कै छेउमा ढुंगाका पर्खालैपर्खालले घेरिएको सन् तेह्रौँ शताब्दीमा निर्मित किल्लालाई स्मारकका रूपमा संरक्षण गरिएको रहेछ।

छेउमै भएको चर्चलाई नजिकबाट देखियो मात्र, भित्र पसिएन। किल्लाकै परिसरमा एउटा रहेको स–सानु भवनलाई संग्रहलायको रूप दिइएको रहेछ। हामीले केहीबेर त्यहाँको अवलोकन ग¥यौँ। त्यसमा ऐतिहासिक समयका अनेक थरिका भाँडाकुँडा थिए, केही तरबार, भाला जस्ता लामालामा हतियार थिए। त्यस्ता धेरै हतियार भएको एउटा संग्रहालय हामीले केही दिन पहिले पनि देखेका थियौँ दक्षिण जर्मनीमा। जहाँ पनि मानव इतिहासमा हतियार जोडिएर आएको देखिन्छ। हतियार बिना कुनै पनि देशको इतिहास बनेको छैन त ? यो प्रश्न त्यहाँ मात्र उब्जिएको होइन। देशहरूको निर्माणमा जहाँ पनि हतियार अघि लागेर हिँडेको छ। अनि हतियार इतिहासका प्रमाण र साक्षी भएका छन्। त्यहाँ पनि डचल्याण्ड निर्माण गर्दा होस् वा जर्मनीको निर्माण गर्दा, हतियारको प्रयोग नहुने कुरै थिएन। त्यस भेगका ती अहिले इतिहासमा सामग्री भए।

जुनसुकै ठाउँको पनि प्राचीनता र इतिहास हुन्छ। त्यस इलाकाको पुरानो वस्ती भएकाले त्यहाँका ऐतिहासिक सम्पदाहरूलाई स्थानीयहरूले संग्रहालयको निर्माण गरी संरक्षण गरेका रहेछन्। उनीहरूमा रहेको अतितप्रतिको सम्मान थियो, हामीले केहीबेर सर्सरी घुमेको संग्रहालय। आधा घण्टामै हामी पुनः बसमा फक्र्यौँ। अझै तीन घण्टाजतिको यात्रा बाँकि नै थियो।

हामीले नदी किनारमा भेट्टाएको पुरानो वस्तीको ऐतिहासिकताको प्रतिक थियो, त्यो संग्रहालय। सम्पदा संरक्षणमा राइन किनारवासीहरूको सोचलाई मनमनै सम्मान गरिरहेँ। हाम्रा वस्तीहरूको इतिहास पनि हजाराँै वर्षको छ, युरोप वा जर्मनीमा जस्तै। पुराना वस्तीमा त्यहाँका अतितलाई सम्झाउने संग्रहालयहरू हामीकहाँ छँदै छैनन् भन्दा पनि हुन्छ। इतिहास त जहाँको पनि हुन्छ, त्यसलाई जीवित राख्ने हाम्रो चेतना र जागरुकताको स्थिति सम्झेर मेरो मन केही खिन्न पनि भएथ्यो। हाम्रो बस पुनः राइनसँग लुकामारी गर्दै कोलोनतर्फ लाग्यो। हामी कोलोनमा तेस्रो दिन बिहानै बर्लिनतर्फ रमाना भयौँ। केही घण्टा त राइनलाई नै पछ्याउँदै जानुपर्ने रहेछ। त्यसदिन कोलोन छोडेको दुई घण्टा पनि भएको थिएन। बिहानको एघार बजेको हुँदो हो। पहाडी इलाकाका स–साना बजार देखिँदै गए। हस्र्टले फेरि अर्को एउटा ऐतिहासिक किल्ला हेर्न जाने र त्यहाँबाट एक–डेढ घण्टामा फर्केर बर्लिन यात्रालाई जारी राख्ने भन्ने सूचना जारी गरे। मैले मनमनै उही केही दिन पहिलेकै जस्तो स्मारकमा फेरि लाने भएछन् भनेँ। राइन किनारको पहाडी प्रदेश फेरि सुुरु भएको थियो। केहीबेरपछि सडकछेउमा बस रोकेर हस्र्ट र हाइडी केबलकारको टिकट लिन गए। हामी केहीबेर त्यतै अल्मलियौँ।

केहीबेरमा उनीहरू टिकट काटेर आए र हामीलाई केबलकारमा चढाएर किल्लातिर लिएर गए। ८÷९ मिनटमा हामी निकै अग्लो डाँडाको टुप्पोभन्दा अलि मुनि ओल्र्यौँ। थुम्को भने अलि माथि नै देखिन्थ्यो। किल्ला ३÷४ मिनटको दुरीमा रहेछ, छिटै पुगिहाल्यौँ। निकै प्राचीन रहेछ स्मारक। झण्डै ३ फिट बाक्लो ढुंगाको गाह्रोले बनाइएको स्मारकले राइन बेँसीको इतिहासलाई सगौरव सम्झाइरहेको थियो। अलि माथि डाँडामा नभएर त्यो क्यासल त्यस भिरालो परेको जमीनमा निर्माण गरिनुको कारण सुरक्षासँग सम्बन्धित रहेछ। माथि डाँडामा पानीको असुविधा हुने र जंगलमा आगलागी हुनसक्ने हुँदा सुरक्षाका कारणले अलि तलको पाखोमा त्यसको निर्माण भएको हुनसक्ने कुरा हस्र्टले बताएथे।

स्मारक तल जमीनबाट झण्डै ५० फिट अग्लो हुँदो हो। बाहिरबाट हेर्दा कुनै रंग नभएको, उदास र बिल्कुलै उपेक्षित जस्तो लाग्ने क्यासलको भित्रपट्टि भने व्यवस्थित देखिन्थ्यो। त्यहाँ केही कर्मचारी त्यसको व्यवस्थापनमा खटिएका देखिन्थे। त्यसका भुइँ र एकतला माथिका कोठामा अनेकौँ युद्ध सामग्री सजाइएका थिए। भाला, तीर, ढाल जस्ता ठूला हतियार भित्तामा सजाइएका र त्यसबेलाका सैनिकहरूले प्रयोग गरेका कपडा सिसाका बाकसभित्र प्रदर्शित थिए। कोही सेनापतिको निवास जस्तो लाग्ने क्यासल एउटा संग्रहालयका रूपमा संरक्षित थियो। ठूलाठूला कराही, फलामे डाडूपुन्यू जस्ता सामग्री पनि थिए। झण्डै निर्जन इलाकामा एउटा सुन्दर संग्रहालय निर्माण गरी त्यहाँको ऐतिहासिकता संरक्षण गरिएको थियो। पर्यटकलाई सजिलै पुग्ने पूर्वाधारको विकास गरी त्यस ऐतिहासिक स्थानकाबारे देशीविदेशी पर्यटक, आगन्तुकहरूलाई उत्सुकता जगाउने र जानकारी दिने व्यवस्था मिलाइएको थियो।

पर्खालको बाहिरी भागमा माटो वा सुर्की उप्केर कतैकतै ठूला आकारका ढुंगा देखिन्थे। कुनै अप्राकृतिक रंग लगाएर क्यासलको प्राचीनतालाई नयाँ अनुहार दिनु उपयुक्त नठानिएको हुन सक्थ्यो। साँघुरो ढुंगे भ¥याङ उक्लिएर हामी केही बाहिरपट्टिको कौसीमा उभिदँै तल, पर र पारीतिरका हरियालीयुक्त डाँडातिर नजर दौडायौँ। तलको बेँसीतिर साँघुरो र लाम्चो बजार देखिन्थ्यो। हामी त्यतैबाट उक्लिएका थियाँै। निकै माथिबाट तल नदी किनारको बजार हेर्दा आफ्नै पहाडबाट बँेसीतिर हेरेको अनुभव हुन्थ्यो। भूगोलका दृश्यमा खास केही फरक पाइँदैन जहाँ पनि।

इतिहासले समयलाई मात्र होइन, मान्छेलाई पनि वर्तमानसम्म जोडेको छ। इतिहासको चेतना दिने माध्यम भनेका समयले मेट्न नसकेका स्मारक नै हुन्। हामी अतितप्रति शब्दले गर्व गर्छाँै, कर्मले जिम्मेवार बन्न चाहँदैनौँ। प्रायः अरूले लेखिदिएको इतिहास घोक्छौँ, आफै अनुसन्धान गर्न हाम्रो जाँगर छैन। राइन उपत्यकाका डाँडामा भएजस्तो इतिहास नेपालका कैयौँ डाँडा, पहाडमा पनि भेटिन्थ्यो होला। त्यहाँको क्यासल जस्तै नेपाली वीरहरूका सौर्यागाथाहरूलाई सम्झाउने संग्रहालय कैयौँ हुन्थे होलान्। सत्तरी वर्षभन्दा लामो समय त एकीकरणकै लागि व्यतित भयो। त्यस कालखण्डमा हजाराँै वीरवीराङ्गनाहरूले पूर्वपश्चिम नेपालका प्रायः सबै डाँडाकाँडामाथि पैताला राखेका थिए। कहाँ पो टेक्न बाँकी राखे र तिनले।

इतिहासलाई अवमूल्यन र गाली गरेर विद्वताको आत्मरतिमा रमाउन पनि हामी पछि पर्दैनौँ। हाम्रो चेतनाले किन आफ्नै अतितलाई तिरस्कार गर्न सिकाइरहेछ ? जर्मनीले हिटलरको वासस्थानलाई पनि राष्ट्रिय सम्मानका साथ संरक्षण गरिरहेको छ भने देशभरका अन्य ऐतिहासिक स्थलहरूको संरक्षण गरी राष्ट्रिय÷अन्तरराष्र्टि«य जगतका जिज्ञासु र पर्यटकलाई आफ्नो इतिहास चिनाइरहेछ। हामी काठमाडाँै छाउनीस्थित एउटा र अरू एकादुई संग्रहालयमा मात्र नेपाली राष्ट्रिय इतिहासको तस्विर खोजिरहेँछौँ। काठमाडौँमा केही संग्रहालय भएकोमा अमिलो सन्तुष्टि लिनुबाहेक सम्पदा संरक्षणका क्षेत्रमा हामी लगभग शून्य छाँै। गौरवशाली इतिहास भएर पनि प्रमाणहरूको संरक्षण हुन नसकेका हाम्रा असंख्य ऐतिहासिक स्थलहरू भने रित्ता छन्।

सबैभन्दा चिन्तनीय कुरा त के भने इतिहास, संस्कृति जस्ता राष्ट्रलाई चिन्ने र चिनाउने विषय कलेज वा त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको अभावमा लोप हुन गइरहेका छन्। राष्ट्रको जग बुझ्न सिकाउने विषयहरू उपेक्षित हुँदैछन्। इतिहास, संस्कृति जस्ता विषय पढेर, बुझेर के फाइदा भन्ने शिक्षित जमात बढ्दो छ। यस्तो सोच र चिन्तनले अन्ततोगत्वाः देशमा प्रायः खोक्रो, यान्त्रिक र बढी प्राविधिक विद्वत् वर्ग मात्र बढ्दै जाने सम्भावना बलियो हुँदैछ। ऐतिहासिक सम्पदा र संस्कृतिको ज्ञान बिनाको विद्वत् वर्गले राष्ट्रको पहिचानलाई कसरी बुझ्ला अनि बुझाउला। बौद्धिक जगतमा एउटा डरलाग्दो रिक्तता निम्तिदै छ।
क्यासलमा भित्रिएको झण्डै एक घण्टामा सबै बाहिरियाँै। बाहिरी प्राङ्गणको भित्तातिर अनेक रंगका फूलहरूको बाटिका मग्मगाइरहेको थियो। १÷२ वटा चियाचमेनाका स–साना दोकानहरू प्राङ्गणको होचो डीलमुनि थिए। राइनको चिसोपन मिसिएको मन्द हावाले हाम्रा अनुहारलाई स्पर्श गरिरह्यो। हामी केबलकार चढेर सरर्र ओर्लियौँ तल बेँसीतिर।

जर्मनी भेगको राइन बेसीका दुर्गम इलाकामा त्यस्ता ऐतिहासिक किल्ला कति होलान्, कति। हामीलाई बाटामा पर्ने एकादुई स्मारकस्थलमा पु¥याएथे आयोजकहरूले। हाम्रो यात्रामार्गको नजिकै पर्ने एकादुई स्मारकहरूलाई हामीले देख्ने अवसर पायाँै। एकलास जंगलको झण्डै बीचमा पनि शताब्दीऔँ अघिको भौतिक संरचनालाई संरक्षित राख्नु कति सुक्ष्म चिन्तनशीलताको उपलब्धी थियो, जर्मन सरकारको। भर्खरै देखेको क्यासल र त्यहाँको संग्रहालयबारे कुरा गर्दै हामी गाडी चढ्यौँ। इतिहासलाई संरक्षण गर्ने काम त वर्तमानको हो नि ! नेपालका नदी बेँसीहरू, डाँडा र थुम्काहरूले पनि त इतिहास बनाएका छन्, तिनको खोजी, अन्वेशण गरी हामीले संग्रहालयहरू बनाउन सके कति जाती हुँदो हो। हाम्रो यात्रा पुनः जारी रह्यो। हामीले कोलोनबाट सात सय किमी टाढा बर्लिन पुग्नु थियो।