fbpx
प्रमुख समाचार

दिगो शान्ति र राष्ट्रिय एकता प्रमुख शर्त : राष्ट्रपति

४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताएकी छन् । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिगो शान्ति र राष्ट्रिय एकतामा जोड दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ-आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैमा आहृवान पनि गरेकी छन् ।

विश्वशान्तिका अग्रदूत गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने उनको भनाइ छ । बुद्धका उपदेशले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सदभाव कायम गर्ने उनको विश्वास छ ।

राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको दिनमा हामी सबैमा एकापसमा सहिष्णुता, सदभाव, अहिंसा एवम् विश्व शान्तिको  अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा उनले शुभकामना समेत दिएकी छन् ।

उभौलीले सदभाव कायम गर्ने विश्वास

यसैबीच राष्ट्रपति भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन् ।

किराँत समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिपूजक किराँत समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

उनले  मौलिक र विशिष्ट रूपमा मनाइने उभौली पर्वले नेपालीबीच आपसी सदभाव कायम गर्दै सामाजिक एकताको वातावरण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरेकी छन् ।