fbpx
प्रमुख समाचार

महेश थापाको ‘मरीचिका’मा कहाँ छ मोटर न्युरोन ?

पाठकले श्रष्टाको शरीर हेर्दैन, केवल उसको सिर्जना हेर्छ । तर, जसरी झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ पढ्दा आँखाअघि उनको अप्ठ्यारो जीवनशैलीको दृष्यले हाहाकार मच्चाउँछ, ठीक त्यस्तै दशा हुँदो रहेछ फरक क्षमताका अन्य श्रष्टाहरुको कृति पढ्दा पनि ।

महेश थापाको कथा कृति ‘मरीचिका’ पढ्दा मैले जति पटक उनको मोटर न्युरोन रोगले ग्रस्त भएको शरीर बिर्सन खोजे पनि मनले बिर्सन दिएन । बाध्य भएर यो समीक्षा लेख्दैछु ।

महेश थापा साहित्यका लागि प्रतिष्ठित नाम होइन । उनी  पहिचान बनाउँदै गरेका कथाकार हुन् । फेसबुकमा साहित्य प्रेमीका माझ उनी लोकपि्रय छन् । केही वर्षयता उनका सिर्जना देशका प्रतिष्ठित पत्रिकाहरुमा छापिन्छन् । सायद यही कारण धेरै पाठक झैँ म पनि महेश थापाको सिर्जनाबाट केही वर्षअघिदेखि नै आकर्षित भएर फेसबुकमा साथी भएको रहेछु ।

म्यासेन्जरमा गफ भइरहे पनि गत बैशाख ६ गते एक साहित्यिक कार्यक्रममा श्रष्टा महेश थापालाई नजिकबाट हेर्न मौका पाएँ । शारीरिक दुर्बलताले उहाँको लेखन शक्तिमा उहाँको साहित्य यात्रामा कुनै किसिमको व्यवधान पार्न नसकेको प्रत्यक्ष प्रमाण उहाँ आफैँ हुनुहुन्थ्यो ।

‘मोटर न्युरोन डिजिज’ले उहाँका शारीरिक अङ्गहरूलाई नराम्रोसँग जकडेको रहेछ । उनको एउटा हातका एउटा औँला बाहेक शरीरका अन्य अङ्गहरूले काम गर्दैनन् । तर, उहाँको मष्तिष्कलाई त्यो शारीरिक दुर्बलताले प्रभाव पार्न सकेन । उहाँको मष्तिष्क खुब चलायमान छ, जसको प्रमाण उहाँको साहित्यिक सक्रियता हो ।

एकदेव अधिकारी

एउटा औँलाको सहयोगले मात्र फेसबुकका स्टाटस त लेख्न गाह्रो हुने अवस्थामा लगातार आइरहेका साहित्यिक कृतिलेे मलाई सुरुमै हैरान बनायो । बौद्धिक र साहित्यिक गफ गर्ने महेशका यसअघि आएको हाँस्यब्यङ्ग्य कृति ‘नमोनम’ का विषयमा सुनेको भए पनि पढेको थिइन । यसमा पनि अपशोच लाग्यो ।

चितवन फर्केको दुई हप्तापछि र पुस्तक विमोचन भएको एक महिनापछि मैले पुस्तक अध्ययन सुरु गरेँ । अहिलेका कतिपय पुस्तक पढ्न नै सकस हुन्छ । प्रारम्भमा यो पुस्तक पनि त्यस्तै हुनसक्छ भन्ने आशंका नउब्जिएको होइन । किनभने शारीरिक अवस्थाका कारण जसले पनि पुस्तक निकस्नु नै ठूलो कुरा हो भन्ने स्वतः अनुभव हुन्छ । तर, पढ्दै गएपछि आफ्नै सोचाइप्रति लाज लागेर आयो । मानिस सधैं शारीरिक कमजोरीलाई पनि मानसिक कमजोरी ठान्ने गर्दछ ।

‘मरीचिका’ को पहिलो कथा नै शीर्षकथा हो । विज्ञान कथालाई मनोविज्ञानसँग मिसाएका कारण यसमा समाज र विज्ञानको अद्भूत कल्पनाशीलता देख्न पाइन्छ । विकसित समाजमा हुनसक्ने संभाव्यतालाई पात्र मार्फत बुन्न सफल छ ‘मरीचिका’ ।

प्रेम विवाह र यौनका बारेमा अहिलेको समाजमा भइरहेका परिवर्तनहरू हेर्दा पनि यस कथाले इंगित गर्न खोजेको भविष्यको चित्रणलाई उपेक्षा गर्न सकिँदैन । कथाको मध्यभाग तिर कथाका पात्रहरू उर्वशी र मेनकाको वास्तविकताको रहस्योद्घाटनका साथ कथाले एक नयाँ उचाई लिन्छ जसबाट लेखकको कल्पनाशक्तिको कायल नभई रहन सकिँदैन ।

वैवाहिक सम्बन्धलाई मात्र कामक्षुधा शान्त पार्ने उपक्रमको रूपमा लिइएको उक्त विकसित समाजमा मानिसहरू रोबोट जस्ता र रोबोटहरू मानिस जस्ता देखिनु स्वाभाविक नै लाग्छ ।

‘मरीचिका’का पात्रहरू कथ्य र समापन सबै उत्कृष्ट छन् र यो कथाले उक्त पुस्तकको शीर्ष कथा हुनुको सार्थकता पनि बोकेको छ । मानव पात्रहरू पुरु र पुरुकी पारपाचुकेको अपेक्षा गरिरहेकी श्रीमती अनि रोबोट पात्रहरूको संवादात्मक शैलीमा लेखिएको कथा वास्तवमै पढ्न लायक बनेको छ ।

कथा पढ्दै जाँदा रोबोटमा पाइएको मानवीय संवेदनाका साथै अर्को रोबोटको उपस्थितिमा मालिकका प्रश्नहरूको प्रतिक्रिया नदिनु अनि मानवहरूमा देखिएको संवेदनहीनताको कथालाई केलाउन सफल बनेका छन् कथाकार । कथाको अन्तमा आएको रोबोट र पुरु बिचको संवादको प्रसंग पठनीय छ ।

शीर्षकथा मात्र नभई सङ्ग्रहका सम्पूर्ण कथाहरूमा मृगतृष्णाका भावहरू भेट्न सकिन्छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा होडको विपठन शैलीमा लेखिएको होड-२का पात्रहरू सीमा र क्षितिजदेखि अपहृत हाँसो कथाका पात्र लाटो माझीसम्मका पात्रहरू उनीहरूको आफ्नो परिवेशमा उनीहरूकै अगाडि देखिएका मरीचिकाहरूलाई अन्तिम सत्य मानेर बाँचिरहेका भेटिन्छन् या भनौँ त्यसलाई नै अन्तिम सत्य मान्न विवश छन् ।

अर्को विज्ञान कथा ‘द द द’ मा वैज्ञानिकताका साथै पौराणिकतालाई मानवीय दृष्टिचेतबाट हेर्ने प्रयास गरिएको छ । कथामा प्रस्तुत वर्गीय स्वरूप अहिलेको समाजमा देखिने उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्गको संघर्षका साथै एक आपसको द्वन्द्वसँग तुलना गर्न सकिन्छ ।

उपनिषदको कथामा उल्लिखित सृष्टिकर्ता ब्रहृमाजी को भनिएको सूत्र द-द-द (दमन, दान र दया) को विश्लेषण साँच्चै नै घतलाग्दो छ । सूर पात्र भनाउँदा उच्च वर्गीय संभ्रान्तहरूको दमन नीति र त्यसले निम्त्याएको समस्या जसको फलस्वरूप ती सूदूर ग्रहका प्राणीहरूको युटोपिया डिस्टोपियामा परिणत भएको तथ्यले अहिलेको वर्ग संघर्षको परिणाम देखाएको छ ।

‘यात्रा’, ‘प्रेमको लाली’ तथा ‘अपहृत हाँसो’मा लेखकका व्यक्तिगत अनुभवहरू सँगालिएका छन् । ‘यात्रा’ कथामा भएको स्वैच्छिक मृत्युवरण वहसको विषय हुन सक्छ । तर, यसका बारेमा अहिले विश्वमा नै विमर्श सुरू भएको छ । ‘प्रेमको लाली’ मनसाको मनमा अंकुराउँदै गरेको प्रेममाथि वरुणको शारीरिक दुर्बलताको रहस्योद्घाटनसँगै तुषारापात हुँदाको कथा पठनीय बनेको छ । ‘निम्तोपत्र’मा सामाजिक संस्कारले निम्त्याएको आडम्बरका कारणले हरिशरण पात्रको मनोवैज्ञानिक उद्वेगलाई मिहीन ढङ्गले केलाइएको छ ।

‘पलायन’ छुवाछुतको कुसंस्कारका कारणले विदेश पलायन हुन बाध्य एक युवाको कारुणिक कथा प्रस्तुत गरिएको छ भने, ‘धर्मो रक्षति रक्षितः’ले धर्म संस्कार तथा संस्कृतिको नाममा गरिने शोषणको नमूना प्रस्तुत गरेको छ ।

‘अभयदान’ र ‘क्रान्तिको पोको’ले द्वन्द्वकालको बेलाको आम जीवनको कष्टहरूलाई सरल रूपमा प्रस्तुत गरेको छ, र उक्त समयको स्मरण गराउँछ भने ‘पुच्छर’ कथामा भएको किचकन्याको विम्बले अहिलेको बजारतन्त्रलाई प्रष्ट्याउन खोजेको छ ।

बजारले हामीलाई कसरी उल्टो दिशातिर हिँडाउँदै छ, कसरी बजारीकरणले मानिसहरूमा दृष्टिभ्रभ पैदा गरेको छ भन्ने तथ्य कथामा किचकन्याको विम्ब मार्फत बुनिएको छ ।

‘अभिप्सा’ कथामा चरम उपभोक्तावादी सोचले ग्रस्त बन्दै गएको मान्छे भौतिक सुख प्राप्तिका लागि कसरी मूल्यहीन र स्खलित बन्दै गएको छ र कसरी उसका जीवन जिउने मान्यताहरूमा परिवर्तन हुँदैछ भन्ने तथ्य प्रस्तुत गरिएको छ ।

‘दाउ’कथामा कसरी मानिसले जुवाको नशामा सही र गलत बीचको भेदलाई छुट्याउन नसकेर घटेका दुर्घटनाहरूको शिकार हुनुपर्छ भन्ने तथ्यलाई देखाइएको छ ।

‘मोबाइल’ कथाले वैवाहिक एक वैवाहिक जोडीमा एक अर्का बीच शंकाको वातावरण आउनुको कारण र यो शंकाले निम्त्याएको असमझदारी साथै दुर्घटनालाई प्रष्ट्याइएको छ भने ‘कल्पभीर’को विम्बले पाठकलाई आफ्नो कर्तव्यपथमा विचलित नभइकन संघर्ष गरेर नै जीवनमा सफलता हासिल गर्न सकिने भावनालाई सुन्दर रूपमा प्रस्तुत गरेको छ ।

विविध विषय, विविध शैली, विविध परिवेश महेश थापाको कथासङ्ग्रह ‘मरीचिका’का विशेषता हुन् । ‘मरिचिका’ले एक प्रविधीसंपन्न भविष्यको कल्पना गरेको छ जसमा एक पारिवारिक संबन्धलाई एक अत्याधुनिक तथा विकसित कालखण्डको एक मानवपात्रको दृष्टिकोणबाट त्यसबेलाको पारिवारिक, वैवाहिक संबन्धलाई केलाउने प्रयास गरिएको छ ।

‘यात्रा’ पूर्ण रूपमा आत्मपरक तथा पत्रात्मक शैलीमा लेखिएको कथा हो भने ‘अभीप्सा’ कथामा आत्मपरक तथा वर्णनात्मक दुवै शैली प्रयोग गरिएको छ । ‘अभयदान’, ‘पुच्छर’ र ‘अपहृत’ हाँसो प्रथम पुरूष दृष्टिविन्दुबाट लेखिएको छ भने अन्य कथाहरूमा पनि भाषागत, शैलीगत विविधता देख्न सकिन्छ । सुललित भाषा, कथ्य सन्देशका कारण ले महेशका कथाहरू पठनीय बनेका छन् ।

कथाको सुरुदेखि अन्तसम्म पाठकलाई बाँध्न सक्नु नै कथाहरूमा प्रयुक्त भाषाको विशेषता हो र यो प्रयोजनमा कथाकार महेश थापा सफल पनि भएका छन् ।

कथाको अन्त्य व्यवस्थापन पनि कथाको एक मुलभूत तत्त्वका रूपमा मानिन्छ । ‘मरीचिका’ कथाको अन्त्यमा पुरूले रोबोटलाई गरेको अनुरोध र रोबोटको जवाफले पाठकलाई एकपल्ट झस्काएको छ, सोच्न बाध्य बनाएको छ । के साँच्चै आधुनिक युगका मानिसहरू पुरु जस्तै र रोबोटहरू उर्वशी, मेनका र पार्टनर जस्तै हुने हुन् त? यो कुरा साँच्चै नै सोच्न लायक छ । ‘होड-२’को अन्तमा क्षितिज र सीमाको बीचको वार्तालापले उनीहरू बीचको क्षणिक अहम्ताको अन्त्य हुनाको साथै फेरी उनीहरूको बीचको सम्बन्ध फेरि पहिला झैं सुमधुर बनेको भनक दिन्छ ।

पुस्तक पढेर सकिएपछि म पुनः महेशको रोगी शरीर सम्झन्छु । उनका चल्न नसकेका प्रत्येक अङ्ग कथामा खोज्छु कतै पाउँदिन । आफ्ना कुण्ठा र कमजोरीको रोदन छर्ने कथाकारका बीचमा महेश मलाई अग्ला श्रष्टा लागिरहन्छन्

‘निम्तोपत्र’का ज्वाइँ-ससुरा हरिशरण र कृष्णप्रसाद उनीहरूका आफ्नो आडम्बरका कारण ज्वाइँ कृष्णप्रसाद निम्तापत्रबाट आफ्नो नाम नलेखिने निर्णयलाई पनि मान्न बाध्य भएका छन् । ‘यात्रा’को अन्तमा कथाको प्रमुख पात्रको आमालाई चिठी कारूणिक बनेको छ ।

‘अभयदान’को सुरक्षाकर्मीद्वारा कथाको अन्तमा आएको सामान्यीकरणले कथालाई साँच्चै नै सुन्दर बनाएको छ । ‘अभीप्सा’को अन्तमा दुवै पात्रहरू एकै ट्याक्सीमा जानुले कथालाई नयाँ घुम्ती दिएको छ । पुच्छर कथाको म पात्रमा आएको शारीरिक परिवर्तनले पनि पाठकलाई झकझक्याउन सफल भएको छ ।

‘प्रेमको लाली’मा देखिएको प्रेमको दुःखद अवसानले मनसाको मनमा तथा नीलिमामाथि परेको प्रभावलाई कथान्तमा देखाउने प्रयास गरिएको छ ।

‘पलायन’ कथामा छुवाछुत जस्तो सामाजिक कुसंस्कारको मारमा परेको पात्रको मनोदशा प्रस्तुत गरिएको छ जसको कारण उसले देशबाट पलायन हुनुपरेको छ । ‘क्रान्तिको पोको’मा युद्धकालको द्वन्द्वका चपेटामा परेका सर्वसाधारणका कारूणिक कथा देखाइएको छ जसमा सर्वसाधारण दुवै पक्षबाट प्रताडित हुनुपर्ने बाध्यतालाई केलाउने प्रयास गरिएको छ ।

‘धर्मो रक्षति रक्षितः’मा कसरी मानिसहरूले धर्मको नाममा शोषण गरिरहेका छन भन्ने तथ्यमात्र देखाइएको छैन, बरू कसरी धार्मिक आस्थाकै कारण उसले समस्याबाट छुटकारा पाएको तथ्यलाई देखाइएको छ ।

‘दाउ’ कथामा महाभारतको जुवाकाण्डको झल्को दिने कथ्य प्रस्तुत गरिएको छ जसमा यसका पात्रहरू जुवाकै कारण आफ्नो ज्यान तथा सर्वस्व नै गुमाउन पुगेका छन् । ‘कल्पभिर’को अन्त्यमा वैभव साथीहरूसँग जानुको सट्टा घर फर्की आएकाले कथा सन्देशपूर्ण बनेको छ। कठीन परिश्रम गर्ने व्यक्ति अन्तमा सफल हुन्छ भन्ने सन्देश कथा मार्फत दिन सफल छ यो कथा ।

अन्तिम दुई कथा दुखान्त बनेको छ । ‘मोबाइल’ कथामा पति-पत्नीवीचको सम्बन्ध चिसिएको कारण दुवै विकल्पको खोजीमा रहेको इंगीत हुन्छ भने ‘अपहृत हाँसो’को पात्र लाटो माझीको कारूणिक दुखान्त कथाले मन छुन्छ ।

महेश थापाका कथाहरूले आजको समाजको प्रतिनिधित्व मात्र गरेको छैन, अपितु यो समाजमा व्याप्त उहापोहहरूलाई मिहीन तरिकाले केलाएर समाजको वास्तविकतालाई कथाकारको आफ्नो कथाकौशलको माध्यमबाट पाठकहरू समक्ष पस्किएको छ ।

कथामा व्याप्त विविध विषयहरू समाज, यौन, विज्ञान, मनोविज्ञान, अपराध, आस्था, अनास्था, आडम्बर जस्ता विविध तत्वहरूको सम्मिश्रण हो ‘मरीचिका’ र साँच्चै नै ‘मरीचिका’ एक पठनीय पुस्तक बनेकोमा दुई मत हुनै सक्दैन ।

भूमिका लेखक होम भट्टराईको शब्दमा ‘महेश थापाका अधिकांश पात्रले आधुनिक जीवन शैली अँगालेका छन् भने केहीले परम्परा पनि धानेका छन् । महेशले आफ्ना पात्र राम्ररी चिनेका छन् र हैसियतअनुसारको जिम्मेवारीमा उभ्याएका छन् ।’ हो पात्र नचिनिकन एक सफल कथाकार बन्न सकिँदैन, महेश सफल कथाकार हुन यसमा कुनै शंका छैन ।

पुस्तक पढेर सकिएपछि म पुनः महेशको रोगी शरीर सम्झन्छु । उनका चल्न नसकेका प्रत्येक अङ्ग कथामा खोज्छु कतै पाउँदिन । आफ्ना कुण्ठा र कमजोरीको रोदन छर्ने कथाकारका बीचमा महेश मलाई अग्ला श्रष्टा लागिरहन्छन् ।