fbpx
बिशेष

जबजको ‘च्याप्टर ओपन’ छ, म देशभरका कार्यकर्ताबीच जान्छु : ईश्वर पोखरेल

३ जेठ, काठमाडौं । यो साता नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेल एकीकृत पार्टीको विचाराधारा के हुने भन्ने विषयमा बहसमा उत्रिए । यसलाई कतिपयले आगामी महाधिवेशनको पूर्वाभ्यास पनि भनेका छन् ।

पोखरेलले अहिले नेकपाको कुनै मागदिर्नेशक विचार नभएको भन्दै साबिक एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादलाई अघि बढाउनुपर्ने बताएका छन् । प्रचण्डले भने पुराना बिचार बोकेर होइन, नयाँ प्रयोग गर्नुपर्ने भन्दै पोखरेललाई पहिलेकै कुरा बोकेर नहिँड्न सुझाव दिएका छन् ।

प्रचण्डले अझ अगाडि बढेर पुरानै विचार बोकेर बसेको भए नेकपा एकीकरण पनि सम्भव नहुने भन्दै आफूले नयाँ विचार प्रयोग गरेकै कारण तत्कालीन एमालेका तीनजना नेतालाई लाइन लगाएर प्रधानमन्त्री बनाएको बताएपछि तरंग सिर्जना भएको छ ।

पोखरेलले भने नेताहरुलाई लाइन लाएर प्रधानमन्त्री बनाउनु सिद्धान्त र विचार नहुने जवाफ दिएका छन् ।

के पार्टी एकीकरणको सांगठानिक प्रक्रिया टुंगिएपछि नेकपामा अब विचारको बहस शुरु भएको हो ? किनकि कम्युनिस्ट पार्टीहरुमा महाधिवेशन लागेपछि विचारको बहस हुने गर्छ । पछिल्लो समय ईश्वर पोखरेलले गर्न खोजेको बहस के हो ? यसै सन्दर्भमा पोखरेलसँग गरिएको कुराकानी प्रस्तुत छ  :

पार्टी एकीकरणको एक वर्ष पुगेकै बेला नेकपाभित्र वैचारिक विवाद छ भन्ने गन्ध आउने गरी अध्यक्ष प्रचण्ड र तपाईवीच एक प्रकारको घोचपेच नै शुरु भएको छ । यो सोचविचार गरेरै आएको कुरा हो कि संयोगमात्र हो ?

त्यसदिन आफ्नो कुरा राखेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले बोल्ने बेलामा म थिइनँ । त्यसकारण मैले जस्ताको त्यस्तै सस्वर सुन्न पाइनँ । उहाँले बोलेका कुरा मैले समाचारमा पढेँ । आज हाम्रो सचिवालयको बैठक पनि थियो । त्यो बैठकमा पार्टी अध्यक्ष कमरेडले प्र्रधानमन्त्रीलाई समेत सुनाउँदै हुनुहुन्थ्यो- हिजो उहाँको र मेरो एउटै धारमा कुरा गएको थियो । तर, सञ्चारमाध्यमले यस्तो लेखे, अचम्मै भएँ भन्नुभयो । मैले पनि अचम्मै मानें ।

यसको मतलव, सुविचारित ढंगले विचारको बहस थाल्नुभएको होइन ?

मैले आफ्नो भनाइ राखेको हुँ । मैले त पार्टी एकताका शुरुआती दिनदेखि नै आफ्नो दृष्टिकोण राख्दै आएको छु । एकता आवश्यक थियो । कम्युनिस्टहरु फुट्नमात्र होइन, जुट्न पनि जान्दछन् भन्ने कुराको उदाहरण हामीले पेश गर्‍यौं । तर, विचार र सिद्धान्तको अनि संगठनात्मक श्रृंखलाको सन्दर्भमा चाहिँ टाटेपांग्रे हुनु हुँदैन भन्ने मेरो मत हो ।

तपाईले शुरुमै पार्टी एकता हुने बेला पनि कम्युनिस्ट पार्टीमा बहुकेन्द्र हुनुहुँदैन भनेर दुई अध्यक्षको विरोध गर्नुभयो, त्यसबेलै विचारमा पनि प्रष्ट हुनुपर्छ भन्नुभएको हो । तर, त्यो त अहिलेसम्म भएन नि होइन ?

मैले त्यही कुरालाई ख्याल गरेर त्यो मिल्दो कुरा भएन भन्ने लागेको हो । त्यो अडान राख्दा लचकता नभएको भनेर बुझ्छन् कि भन्ने लागेको पनि छैन । हामीले पार्टी एकता गरिरहँदाखेरि विचारको मामिलामा के भनेका छौं भने- नेकपा माओवादी केन्द्रले अवलम्वन गर्दै आएको माओवाद र एक्काइशौं शताव्दीको जनवाद तथा एमालेले अवलम्वन गर्दै आएको जनताको बहुदलीय जनवादका सकारात्मक कुराहरु अध्ययन गर्दै उपयुक्त समयमा औपचारिक ढंगले निर्णय गरौंला भनियो । तत्कालका लागि हामीलाई गाइड गर्ने विचार चाहिँ के हो भन्दा अलि खैरे-खैरे खालको प्रस्तुति भयो भन्ने मलाई लागेको हो । जुन कुरा मैले शुरुदेखि नै भन्दै आएको छु ।

जनताको बहुदलीय जनवाद भनेको यतिबेला छलफल नै गर्न नपाइने कुरा होइन । अध्ययन गर्दै, छलफल गर्दै बहस गर्दै उपयुक्त समयमा राष्ट्रिय मञ्चबाट विचारको निरुपण गरौंला भनिएको हो । माओवादका बारेमा पनि अध्ययन गर्न पाइने भो । एक्काइशौं शताब्दीको जनवादको पनि अध्ययन गर्न पाइने भो । जनताको बहुदलीय जनवादका बारेमा पनि बहस गर्न पाइने भयो भन्ने हाम्रो एकता घोषणाको बेलामै गरिएको प्रतिवद्धता हो ।

भनेपछि, अहिले तपाईले जबजको ‘च्याप्टर ओपन’ गर्नुभएको हो ?

मैले ओपन गरेको भन्दा पनि त्यो यसअघि नै ओपननै थियो । जबजको च्याप्टर क्लोज नै भएको छैन । त्यसकारण हर कोहीले विचारमा छलफल गर्न रुचाउने साथीहरुले एकताका बेला भनिएका कुराहरुलाई हेक्का राख्नुपर्छ ।

जहाँसम्म बहुकेन्द्रको विरोध गरेको कुरा छ, मैले कम्युनिस्ट पार्टीमा नेताहरु धेरै हुनुहुन्छ, उहाँहरुको व्यवस्थापन गर्ने अनेक विधि हुन सक्छन् । त्यो समय अवधिको कुरा हुन सक्छ । जिम्मेवारी पृथक ढंगले बाँड्नुपर्ने पनि हुनसक्छ । तर, पार्टीभित्र बैधानिक अधिकार प्रयोग गर्ने हिसाबले नै बहुकेन्द्र बनाउने कुरा ठीक होइन भनेको हो । ‘मल्टी सेन्टर इज नो सेन्टर’ हो र ‘नो सेन्टर’ भनेको अराजकता हो ।

भनेको, अहिलेको दुई अध्यक्षको अभ्यास त्यस्तै हो ?

ठीक छ, हामीले विशिष्ठ आवश्यकताले गर्दा दुई अध्यक्ष बनायौं भन्दै गरौंला । यहाँ हाम्रो विशिष्ठ स्थिति थियो, आवश्यकता थियो भनेर हामी कम्युनिस्टले भन्न जानेकै छौं । बाध्यताले होस् वा संगति नमिलेको कुरा होस, योचाहिँ हाम्रो विशिष्ठ स्थितिमा हामीले गरेका हौं भनेर हामी भन्दिछौं ।

तर, त्यो संगतिपूर्ण छ कि छैन भनेर विचार गर्नुपर्छ । अहिले त हाम्रो आवश्यकताले नै गरेका हौं । किनकि एकताका लागि यो जरुरी थियो भन्यौं । अहिले दुईटा अध्यक्षको व्यवस्था भनेको बहुकेन्द्र होइन । पावर सेन्टर दुईवटा बनाएर औपचारिक बैधानिक ढंगले नै जानुहुँदैन भन्ने हो ।

त्यसोभए अहिले पावर सेन्टरचाहिँ कुन हो त दुई अध्यक्षमध्ये ?

स्वाभाविक छ, पार्टी अध्यक्ष हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ । अर्को अध्यक्ष हुनुहुन्छ, त्यसमा त उहाँहरु एकतावद्ध भएरै काम गरिरहनुभएको छ । मेरो भनाइ के भने प्रधानमन्त्री एउटा, संसदीय दलको नेता अर्को । अनि पार्टी अध्यक्ष अर्कै, यस्तो हुँदा हाम्रो जस्तो पार्टीमा त्यसले राम्रो गर्दैन भनेको हो मैले ।

हुन त अध्यक्ष दुईटा भनिए पनि बैठकको अध्यक्षता केपी ओलीले नै गरेको देखिन्छ, सचिवालय बैठक बालुवाटारमै हुँदा अध्यक्षको अभ्यास त ओलीले नै गरेको देखियो नि होइन र ?

त्यो जे हो, त्यति नै हो नि । केपी ओली अध्यक्ष हो, प्रधानमन्त्री हो । पुष्पकमल दाहाललाई पनि अध्यक्ष बनाएर हामीले विधानमै व्यवस्था गरेका छौं । यो यथार्थ हो, अब यसलाई के बुझ्नुपर्छ, के भन्नुपर्छ, बुझे हुन्छ भने हुन्छ ।

पालैपालो अध्यक्षता गर्ने भनिएको थियो नि ?

त्यस्तो भनेको छैन । स्वाभाविक छ, एउटा अध्यक्ष नभएका बेला अर्कोले गर्नुहुन्छ । तर, पालो मिलाएर अध्यक्षता गर्ने भन्ने होइन ।

हामी विचारको बहसमै फर्कौं, तपाईले विचारविनाको पार्टी हुन सक्दैन भनेपछि प्रचण्डले जवाफ दिनुभयो । तपाईको जनवादप्रतिको मोहचाहिँ उहाँलाई नरुचेको हो कि जस्तो उहाँको भाषणबाट पनि बुझियो । पुरानो छाड्दै नयाँ प्रयोग गर्नुपर्छ भन्ने उहाँको भनाइ र जबज नै श्रेष्ठतम विचार हो भन्ने तपाईको भनाइले वैचारिक बहस सिर्जना गरेको होइन र ?

त्यति पर गएर बुझ्नुपरेन । जनताको बहुदलीय जनवाद भनेर साविकको नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा अंगीकार गरेको हो । माक्र्सवाद लेनिनवादलाई नेपालको विशिष्ठतामा प्रयोग गर्दा विकसित भएको विचारका रुपमा त्यसलाई मानेको हो । त्योचाहिँ संयोगले एमालेले भन्यो, तर एमालेको मात्र विचारचाहिँ त्यो होइन ।

यसको आफ्नै आन्तरिक ऐतिहासिक विकासक्रम छ । यो हिजोदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनका अग्रजहरुले अभ्यास गर्दै, विकसित गर्दै आएको जगमा उभिएको चीज हो । मदन भण्डारी र एमालेसँगमात्र जोडेर यसलाई हेर्न जरुरी पनि छैन ।

मदन भण्डार नेकपा एमालेको महासचिव हुनुभयो । उहाँ यो बिचारको प्रवक्ता बनेर प्रस्तुत हुनुभयो । यो बिचारलाई योग्यतापूर्वक उहाँले निर्माण गर्नुभयो । यसका सैद्धान्तिक दार्शनिक पक्षको सबिस्तार ब्याख्या गर्नुभयो । पहिलो कुरा यसको आफ्नै ऐतिहासिक श्रृंखला छ । दोस्रो कुरा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सफलता असफलताको निर्मम समीक्षा हो यो ।

तपाईको भनाइ चाहिँ नेकपाले अब महाधिवेशनबाट जनताको बहुदलीय जनवादलाई नै सिद्धान्त मानेर जानुपर्छ भन्ने हो ? तपाईको प्रस्तावका रुपमा यसलाई बुझ्दा हुन्छ ?

म त विल्कुल त्यही पक्षमा हो । अहिले एकता गरिरहा,यत्रो ऐतिहासिक काम गरिरहँदा कुनै एउटा पक्षले जितेको र अर्को पक्षले हारेको जस्तो मनोविज्ञान नहोस् भनेर अन्तरिम व्यवस्थापन भएको भनेर सकारात्मक रुपमा लिउँ । तर हामी जाने त्यतैतिर हो र त्यसबाट निर्देशित भएर चल्ने हो ।

यसलाई लिएर एमालेको ट्रेडमार्कको रुपमा कायम राख्न खोजेको पनि होइन । यो आजको आवश्यकता हो । अहिले हामी अभ्यास के गरिरहेका छौं ? हामी तत्कालिन एमाले र तत्कालीन माओवादीको अभ्यास गरिहेका छैनौं । हामीले शान्तिपूर्ण राजनीति, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै प्रगतिशील कार्यक्रम, आवधिक निर्वाचन, संवैधानिक सर्बोच्चता जस्ता कुरा मानेका छौ. ।

यी महत्वपूर्ण विषयमा जुन हामी अभ्यास गरिरहेका छौं, ती त जनताको बहुदलीय जनवादका मुख्य विषय हुन् । यति भएपछि हामी त्यो बिचारबाट निर्देशित हौं भन्ने कुरामा अप्ठेरो मान्नुपर्ने छैन ।

तपाईले सभागृहमा जुन प्रश्न उठाउनुभयो, त्योचाहिँ कसलाई भन्न खोजेको त ?

मैले त के भन्न खोजेको हो भने युवा संघको २९ औं स्थापना दिवसमा एउटा महत्वपूर्ण सन्देश दिएको हो । कम्युनिस्ट आन्दोलनले महत्वपूर्ण उचाइ प्राप्त गरेको छ,तर यसका चुनौति पनि उत्तिकै छन् । यी चुनौतिलाई सामना गर्न बिचारमा स्पष्ट बन्नुपर्छ, संगठनमा हामी स्पष्ट बन्नुपर्छ भनेको हो ।

आजको राजनीतिक कार्यदिशा सुहाउँदो संगठन संरचना हुनुपर्छ । श्रृंखलाबद्ध संगठन पद्दति हुनुपर्छ । कम्युनिस्टहरुले आफ्नो शक्ति संगठनमा देख्छन् । संगठन भनेको श्रृंखलाबद्ध कमिटी प्रणालीमा साङ्ली-साङ्ली भएर प्रकट हुनुपर्छ, तबमात्र शक्ति प्रवाहित हुन्छ ।

अहिले हाम्रा कमिटीहरुबाट त पार्टी अघि बढ्न गाह्रो छ । ३ सय, ४ सय, ५ सय का कमिटी छन् । न त बैठक नै बस्न सक्छ । संगठन एउटा प्रणालीमा ढाल्नुपर्छ । नेतृत्वको विषयमा पनि चित्त बुझाउन राख्ने होइन निश्चित मापदण्डका आधारमा राख्नुपर्छ । अहिले अन्तरिम ढंगले कमिटी बनाइएको छ, तर यो लामो समय जाँदैन, नयाँ ढंगले कमिटीहरु आउछन् ।

अनि जनताको जनवाद भन्ने विचार पनि अन्तरिम नै हो ?

यो अन्तरिम नै हो । महाधिवेशनले निर्णय नगरुन्जेलका लागि होला । तर, यो लामो समय जाँदैन ।

तपाईले भनेजस्तो अहिले नेकपाले जबजको सार त्यही मानेको छ भने नाम अर्को राखेर पनि त जान सकिन्छ नि होइन ?

ठिकै छ, त्यसो हो भने पनि आउनुपर्‍यो । सार त्यही हो, नामै चाहिँ किन राख्ने भनिन्छ भने आफैंमा पनि त्यो स्वभाविक लाग्दैन । मूल कुरा त सार हो । सार त्यही राखेपछि जतिबेला जे आउँछ, त्यही गरेर जाने भन्दा पनि त्यसको एउटा निरन्तरता हुन्छ । विचारको निरन्तरता पनि हुनुपर्छ । जतिबेला जे आउँछ त्यही गर्ने त विचार हुँदैन । हामी व्यवहारिक त हुनुपर्छ, तर व्यवहारवादी हुनुहुन्न ।

पुरानो विचार बोकेर नहिँड्नुस भनेर प्रचण्डले भनिसकेपछि महाधिवेशनमा दुईटा विचारको रुपमा बहस हुने र मतदानबाट टुंगिने अवस्था आउने भयो त ?
मैले अहिले भनेका विचारलाई पुराना विचार भन्नुहुन्छ भने नयाँ विचारचाहिँ के हो त ? त्यो मलाई भन्दिनुस न ।

जनताको बहुदलीय जनवादको विचारचाहिँ मलाई जहिलेसम्म सही लाग्छ, म एक्लै भए पनि दृढतापूर्वक उभिन्छु । देशव्यापीरुपमा पार्टीका कार्यकर्ताले यो विचारको सारलाई बुझ्नुहुन्छ

नयाँ भनेको आइसक्यो त एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाइदिएँ, अब अझै नयाँ प्रयोग गर्न मन छ भन्ने कुरा प्रचण्डले भन्नुभएन र ?

के हो त नयाँ भन्ने कुरा आउनुपर्छ । उहाँले बोलेको मैले सुनिनँ । समाचारमात्र हरेको हो । तर ,तपाईले नयाँ भन्नुहुन्छ भने के हो त नयाँ ? यो प्रष्ट हुनुपर्छ । लाइन लाएर प्रधानमन्त्री बनाइदिएँ भन्नुभयो भनेर आयो । के लाइन लाएर प्रधानमन्त्री बनाइदिएको नयाँ विचार हो ? मैले बनाइदिएँ भन्नेखालको कुरा पनि मलाईचाहिँ त्यति सहज लाग्दैन ।

जबजको कुरा पूर्वएमालेका अरु नेताभन्दा पहिले तपाईले बढी जोड दिनुको कारण चाहिँ आगामी नेतृत्वका लागि दाबेदारीका रुपमा बुझ्न सकिन्छ ?

महाधिवेशन कहिले आउला छलफल गरौंला, त्यसमा एउटा विधि तय गरौंला । त्यसतर्फ मैले सोचेकै होइन । म के भन्छु भने, यतिबेला एकतावद्ध भएको पार्टी विचारका नाममा विश्रृंखलित मान्यता बोकेर हिँड्नुहुँदैन । बैचारिक श्रृंखला भएनन् भने पार्टी कहिँ पुग्दैन । जुनबेला जे पर्छ, त्यही विचार हो भन्ने कुरा विचार होइन ।
जनताको बहुदलीय जनवादका सारभूत कुरासँग केमा विमति भयो ? केमा आपत्ति भयो ? त्यसले अघि सारेका विचारहरुमा केमा आपत्ति भयो ? हामी जबजका सार्वभौम पक्षबाट निर्देशित छौं भने आपत्ति जनाउनुपर्ने कुरा छैन ।

हामीले पार्टी एकता गर्दै सबै विचारमाथि बहस गर्ने भनेकाले यी कुरा गर्न गुट बनाउँदै हिँड्न पर्दैन । भेला बैठक जहाँ पनि छलफल गर्न सकिन्छ । मेरो यसमा प्रष्ट कुरा के हो भने, विधिपूर्वक उचित तरिकाले समयमा हामीले यसको टुंगो लगाउँछौं ।

तपाईले जबजको मोर्चा खोलेर आगामी नेतृत्वको दावी गरेको बुझाइका कारण प्रचण्डले जवाफ दिनुपरेको भनेर पनि टिप्पणी त हुन थाले नि ?

नेपालको राजनीतिमा कमरेड पुष्पकमल दाहालको आफ्नै राजनीतिक पहिचान छ । उहाँको पृष्ठभूमि, उठान र शान्ति प्रक्रियामा उहाँको जुनखालको भूमिका रहृयो र उहाँले जुनखालको चिनारी बनाउनुभएको छ, त्यसमा एउटा किसिमको पहिचान छ उहाँको । त्यसप्रति हामीले अन्यथा टिप्पणी गर्न मिल्दैन । म कम्युनिस्ट पार्टीमा क्रियाशील भएर रहन रुचाउने मान्छे हुँ ।

म हिजो साबिकको एमालेमा हुँदा पनि केन्द्रीय कमिटीमा ०३३ सालदेखि कोअर्डिनेशनको केन्द्रीय सदस्य हुँ । ०३५ मा माले बन्दा पनि म संस्थापक सदस्य हुँ । पछिल्लो समय माले माक्र्सवादी एकीकरण भएर एमाले हुँदा पनि संस्थापक सदस्य हुँ । एमालेको केन्द्रीय कार्यालय प्रमुख, सचिवालय सचिव, संगठन विभाग प्रमुख हुँदै दुईपटक महासचिव भएँ ।

अब अध्यक्ष हुन बाँकी रहृयो होइन ? 

जनताको बहुदलीय जनवादको विचारचाहिँ मलाई जहिलेसम्म सही लाग्छ, म एक्लै भए पनि दृढतापूर्वक उभिन्छु । देशव्यापीरुपमा पार्टीका कार्यकर्ताले यो विचारको सारलाई बुझ्नुहुन्छ । म ती विचारलाई कार्यकर्ताको बीचमा लिएर जान्छु ।अब मेरो पालो यहाँ हो भनेर हिसाब-किताब गरेर चल्ने मान्छे म होइन । मेरो ब्रह्मले जे सही देख्छ, त्यो म गर्छु । त्यो विषयमा अहिले बेलै आएको छैन । म पार्टीमा हिसाब-किताब गरेर चल्ने मान्छे होइन, यसमा प्रष्ट हुनुस् ।

तर, यहीवीचमा केेन्द्रीय सचिवालयका ५ जना नेता प्रचण्डसहित बसेको कुरा पनि आयो, महाधिवेशनकै अभ्यास होइन र ?

म मेरो स्पष्ट मान्यतासहित देशभरका कार्यकर्ताबीच जान्छु । तर, यहि पद चाहिन्छ भनेर हिसाब किताब गरेर हिँडि्दनँ

यसबारेमा त मलाई थाहा भएन । मैले पनि समाचारबाट थाहा पाएको हुँ । कहाँ बस्नुभयो, किन बस्नुभयो भन्ने कुरा मलाई ठूलो लाग्दैन । बसेको कुरालाई अस्वाभाविक रुपमा लिनु पर्दैन ।

पार्टी कमिटीको औपचारिक बैठकमा यस्ता बारेमा हामीले छलफल गर्दैनौं । राम्रै कामका लागि बस्नुभएको होला । म सकारात्मक ढंगले हेर्छु । अनौपचारिक बस्न नपाइने भन्ने होइन । तर, अर्थपूर्ण ढंगले यस्ता बसउठ हुन्छन् भने चर्चा-परिचर्चा हुन्छन् ।

पार्टी कमिटीहरु एकीकरण हुँदै गर्दा पूर्वएमालेमा केपी ओली र माधव नेपालले भागबण्डा गरेको पनि सुनियो, तपाईको चाहिँ हिस्सेदारी छैन ?

म त हिस्सेदारीमा विश्वास गर्दिनँ । एउटा मापदण्ड र विधिका आधारमा हुनुपर्छ भन्ने हो । कसका कति मान्छे आए भनेर कुखुरा चल्ला हुन् र पार्टीका कार्यकर्ता छोप्नलाई ? जो आउँछन् उनीहरु सबै हाम्रा बोनाफाइड कमरेडहरु हुन् ।

केपी ओलीको उत्तराधिकारी बन्न खोज्नुभएको हो ?

म व्यक्तिलाई समाएर हिँड्ने भन्दा पनि विचार समातेर हिँड्ने हो । जो-जो त्यो विचारमा सहमत हुनुहुन्छ, त्यसमा एक ठाउँ हुने हो । म मेरो स्पष्ट मान्यतासहित देशभरका कार्यकर्ताबीच जान्छु । तर, यहि पद चाहिन्छ भनेर हिसाब किताब गरेर हिँडि्दनँ ।मैले त्यस हिसाब-किताबबाट बोलेकै छैन । केपी ओली पार्टीको अध्यक्ष हो । प्रक्रियासंगत ढंगले बनेको प्रधानमन्त्री । उहाँका बारेमा सकारात्मक बोल्नु र प्रतिरक्षा गर्नु सबैको कर्तव्य हो । कमजोरी रहेछन् भने प्रक्रियासंगत ढंगले ठाउँमा बोल्नुपर्छ । कमरेड पुष्पकमलको हकमा पनि त्यही हो ।