fbpx
बिशेष

कर्णाली र तराईमा सरकार कहाँ देखिन्छ ?

नेपालमा गाउँघर घुम्नु मेरो नियमित रुटिनमध्ये एक हो । यस क्रममा हामीले देख्ने दृश्यको वर्णन गरिरहनु पर्दैन । सरकारको अवस्था कस्तो छ, म त्यो एकछिन पछि बताउने छु । तर, खुसीको कुरा, यस्तो कठिन अवस्थामा पनि  आशाका साथ बाँच्ने नेपाली स्वभावको जति प्रशंसा गरे पनि कमै हुन्छ ।

पहाडी क्षेत्रका कालिकोट, जुम्ला, मुगु र डोल्पाका केही गाउँहरुमा बस्दा मलाई लाग्ने गर्छ,  मानियस्तो अवस्थामा पनि उनीहरु जीवन चलाइरहेका छन् । सकी नसकी काम गरिरहेछन् । धन्य, महिलाहरु  बोलिरहेछन, जिस्की पनि रहेछन् ।

कर्णालीको कहाली र स्वास्थको अवस्था हेर्न धेरै ठाउँ घुम्नै पर्दैन । शौचालयविहिन घर र पानीविहीन शौचालय र ती क्षेत्रमा महिलाहरुले चलाइरहेको घर व्यवहार हेर्दा तुरुन्तै अनुभव हुन्छ । कर्णालीका महिलाहरुको दिनदिनै भोग्नुपर्ने स्वास्थ समस्या काठमाडौंसम्म कहिलै आइपुग्दैन । जब धेरै मानिसहरु एकैचोटी विरामी हुन्छन्, धमाधम मानिस मर्न थाल्छन्, बल्ल काठमाडौं तात्न सुरु हुन्छ । काठमाडौंको नेता र योजना आयोगको पटके तताइकै कारण कर्णालीले बर्षौदेखि स्वास्थ समस्या झेलिरहेको छ र समस्या जस्ताको तस्तै छ ।

जब-जब कर्णालीमा स्वास्थ्य समस्याको कुरा आउँछ, केन्द्र र स्थानीय सरकार भन्न थाल्छ, ‘हामी प्राथमिक उपचार केन्द्र बनाउँछौ, नर्स र डाक्टर ल्याउँछौ’ आदि आदि । सरकार र यसमा रहेका व्यक्तिहरुको कुरा सुन्दा यस्तो लाग्छ मानौ ‘स्वास्थ राम्रो पार्न’ अस्पताल, औषधि, स्वास्थ केन्द्र भए  पुग्छ बनाइदिए पुग्छ । स्वास्थ भनेको केवल औषधि र डाक्टर धेरै भएर मात्र राम्रो हुने होइन भन्ने कुरा सायद सरकारसम्म कहिल्यै पुग्दैन । स्वास्थ मन्त्रालयभित्रका स्वास्थकर्मी, सल्लाहकारले यो सल्लाह कहिल्यै दिदैनन् । सल्लाह दिनु त परको कुरा, पत्रपत्रिकामा आउने स्वास्थसम्बन्धी लेखहरु सरकारको समूहहरुले पढ्ने गरेकै छैन ।

स्वास्थ राम्रो पार्न, सरुवा रोगबाट बच्न बनाउन अन्य कुराको व्यवस्थापन गर्नुपर्छ भन्ने संयन्त्र सायद सरकारभित्र छैन । हरेक वर्ष सञ्चारमाध्यमहरुका मुख्य समाचार ‘कर्णालीमा सरुवा रोगका कारण …मान्छेको मृत्यु’ देखिनु सायद कुनै नौलो कुरा होइन । किनभने दोस्रो दिन सञ्चारमाध्यममा अर्को समाचार देखिन्छ, ‘कर्णालीमा हेलिकप्टरबाट डाक्टर र औषधि पठाइयो’ । तेस्रो दिन कर्णालीका सांसद र सरकारका स्वास्थ मन्त्रीहरुबीच बहस सुरु हुन्छ । स्वास्थ मन्त्रीले ‘कर्णालीमा उपचार व्यवस्था गर्न सरकार लागेको’ बताउँछन् र त्यो समाचार पनि हामीले पढ्नु पर्छ ।

तराईमा बाटो पुगेका कारणले समस्या कम छ जस्तो लाग्छ । पहाडी दलितको तुलनामा उनीहरु शिक्षित छन् कि भनेजस्तो पनि लाग्छ । तर, ती टोलको सामाजिक अवस्था, गाउँमा फोहोरको अवस्था र पोषणको कमी देख्दा कर्णाली र तराईका दलितबीच खासै भिन्नता देखिदैन

मलाई याद आउँछ, पञ्चायत कालमा कर्णालीको विकास भन्नु नै चामल बाँड्ने काम थियो । त्योबेला यस्तो लाग्थ्यो मानौं, कर्णाली र चामल एक अर्काका पूरक हुन् । ०४६ सालपछि कर्णालीको केही भागमा बाटो पुगे । गाडीहरु पुगे । अब चामलभन्दा रोग र महामारीको समाचारले ढाक्न थालेको छ ।एकजना स्वास्थकर्मी र नागरिक भएका नाताले मलाई सधैं अनौठो लाग्छ, सरकारले कर्णालीमा यति धेरै समस्या किन छ भनेर किन विचार गरेको छैन ? अध्ययन अनुसन्धान भएको छैन ? त्यसलाई कसरी अम्बल गर्ने भन्ने कुराको सही निर्क्यौल गरेको छ ?

कर्णालीको स्वास्थ समाचार बडो अनौठो गरी आउँछ । कहिले यो सरुवा रोगमार्फत, कहिले एचआइभी जस्ता रोगमार्फत, कहिले खला दिसामुक्त जिल्ला भएर र कहिले फोहोर पानीको सङ्क्रमण भएर । मानौं, कर्णाली भन्नु रोग, भोक र शोकको क्षेत्र हो ।

एकपल्ट मैले पनि स्वास्थ्यकर्मीको नाताले जिल्ला भ्रमण गर्ने मौका पाएको थिएँ । त्यसमध्ये खुला दिसामुक्त गरिएको कालीकोटमा शौचालय त रहेछन् । तर, त्यहाँ पानी हुँदो रहेनछ । खुला दिसामुक्त योजना अन्तरगत गैरसरकारी संस्थाहरुले शौचालय त बनाए तर शौचालयसँगै त्यहाँ पानीको व्यवस्था हुनुपर्छ भन्ने कुरा सायद योजना बनाउनेलाई थाहा पाएन । घर-घरमा शौचालय छन् । तर, त्यहाँ शौचालय कमै गरिन्छ । कारण पानी नभएका कारण त्यहाँका शौचालय बसिसक्नु छैन ।

सरकारी तथ्याङ्क अनुसार कर्णालीमा ७८ प्रतिशतले शुद्ध पानी पिउन पिउँछन् भन्ने देखाउँछ । तर, यथार्थमा त्यस्तो छैन । कर्णालीका कतिपय गाउँमा शुद्ध पानी त परको कुरा, अशुद्ध पानी पनि पिउन कठिन छ । विहानभरी लगाएर डोकोमा ल्याएको पानी अशुद्ध हुन्छ र यही अशुद्ध पानी पिएकै कारण बालबालिकाहरु कुपोषणको शिकार हुन्छन् । शिक्षित मानिसलाई अशुद्ध पानीले रोग निम्त्याउँछ भन्ने थाहा भए पनि कुपोषण पनि बढाउँछ भन्ने सायदै थाहा होला ।

सरुवा रोग र कुपोषण लाग्ने कर्णालीका स्वास्थ चौकीमा सरकारले यसबाट लड्न भिटामिन, क्याल्सियम, प्रोटिनका कुरा गरे पनि शुद्ध पानी नपिएसम्म स्वास्थमा सुधार आउँदैन भन्ने सामान्य जानकारी भएको देखिँदैन । रोग लाग्ने वित्तिकै ह्वारह्वार्ती बालभिटा र बनिबनाउन पौस्टिक दिए पनि वर्षौंअशुद्ध पानी पिएको शरीरमा त्यसले खासै फरक पर्दैन भन्ने  जानकारीको सर्वथा अभाव छ । यसले जतिसुकै स्वास्थसम्बन्धी काम गरे पनि कर्णालीमा ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैँ कर्णालीमा घुम्दै सरुवा रोग आइपुग्छन् ।

नेपाल सरकारले अहिलेसम्म नबुझेको कुरा के भने रक्तअल्पत्ता अर्थात रगतको कमी भएकी आमाबाट जन्मेको शिशुमा नै ‘रोगसंग लड्ने शत्ति कम हुन्छ । आमाबाट दूध नपाउँदा वा घरमा रहेका पोषणयुक्त खाना नपाउँदा बच्चा झन कुपोषित हुन जान्छ । सरुवा रोग लागेर ठीक भयो भने पनि उ कमजोर, पिलन्धरे हुन्छ । यो अवस्थामा कुनै समस्या आउनेवित्तिकै झाडा पखाला, खोकी लागेर, पानी शरीरमा नभएर वा निमोनिया भएर मृत्यु हुन्छ । कतिपय कर्णालीको घरमा बालबालिकाको मृत्यु हुँदा राष्ट्रिय तथ्थाङकमा समेत आउँदैन ।

कर्णालीमा जुन अवस्था छ, तराईका मुसहर र दलितको अवस्था त्योभन्दा भिन्न छैन । यो जाति बस्ने क्षेत्र वरपर पानी, जंगल, स्रोतमा उनीहरुको पहुँच छैन । तराईका दलितको घरहरु मध्ये ९० प्रतिशत घरमा शौचालय छैन भन्ने कुरा मैले पटक-पटक गरेको भ्रमणका आधारमा अनुमान गरेकी छु ।

मेरो अनुमानमा २० प्रतिशत बालबालिकाहरुले शिक्षा सुविधाबाट पूर्ण बञ्चित छन् । ७० भन्दा बढी बाबालिका कुपोषित छन् । किशोर अवस्था नपुगी उनीहरु आमा बन्ने गरेका छन् । धेरै बच्चा जन्माउने प्रवृत्ति छ । किनभने उनीहरुमध्ये धेरै मर्छन् । यस विषयमा उनीहरुले धेरै शोक गरेको पनि देखिँदैन । भाग्यमा भए बच्चा बाँच्छन्, नभए मर्छन् भन्ने धारणा व्याप्त छ । दलितकी र छोरी बुहारीको प्रायः नागरिकता  छैन । उनीहरुमा आत्मविश्वास छैन । दलित महिलाहरुको कर्णालीमा झैं कुपोषण छ । तर, तराईका नेताहरु यो विषयमा बोल्दैनन् वा बोल्न चाहँदैनन् ।

कर्णालीको सरुवा रोग, कुपोषण र तराईका दलितहरुमा कुपोषण हुनुमा अशिक्षा मात्रै एउटै कारण देखिन्छ । तराईमा बाटो पुगेका कारणले समस्या कम छ जस्तो लाग्छ । पहाडी दलितको तुलनामा उनीहरु शिक्षित छन् कि भनेजस्तो पनि लाग्छ । तर, ती टोलको सामाजिक अवस्था, गाउँमा फोहोरको अवस्था र पोषणको कमी देख्दा कर्णाली र तराईका दलितबीच खासै भिन्नता देखिदैन ।

एकपल्ट मैले तराईका दलित बस्तीमा खोपको विषयमा खोजी गरेकी थिएँ । मेरो सोध सरकार र विदेशी दातृ निकायले बर्षौदेखि खोपका विषयमा ठूलो लगानी गरिरहेको छ । मुसहर र अन्य दलित बस्तीमा उनीहरुले त्यो सुविधा लिएका छन् कि छैनन् भन्ने मेरो चासो जियो । उनीहरु मध्ये धेरैले यो खोप लगाएको बताउँछन् । तर, खोप लगाएको कागज माग्दा छैन भन्ने जवाफ दिने गरेका छन् ।

सरकारी तथ्याङ्मा खोप लगाएको कुरा आए पनि कागजबिना थप खोपको मात्रा दिन असम्भव छ । यस्तो खोज गर्दा मैले खोजी गर्दा उनीहरुलाई  सोधेकी थिएँ, ‘स्वास्थ्य चौकLमा खोप लगाएपछि त खोपको कागज त दिनै पर्ने हो, दिएन र ?’ भन्दा केही महिलाले भनेको जवाफ यतिखेर याद आइरहेको छ । उनीहरुले भनेका थिए, ‘खोप लगाउनुपर्छ भने भन्ने कुरा कसैले भन्न आएन ।’ कसैले भने, ‘महिला स्वयं सेवक-सेविका हाम्रो गाउँमै आएनन् ।’

यो एकजनाको जवाफ थिएन, एकैमुखले धेरैले भनेका थिए, ‘महिला स्वयंसेविका त हाम्रो वडामा कसरी आउँछन् । उनीहरु त ठूलो मान्छे, हाम्रो गाउँमा आउँदैनन् ।’

एउटा, दुईटा दलित बस्तिमा मात्र होइन, तराईका धेरैजसो दलित वस्तिमा महिला स्वयम सेविका जाँदैनन् । अध्ययनकै क्रममा मैले स्वास्थ्य चौकीमा गएर मुसहर बस्तीमा स्वयंसेवीका नपुगेको कुरा बताउँदा सुरुमा उनीहरुले भनेको सम्झन्छु, ‘हाम्रा स्वयंसेविका घर-घर जान्छन् । आमा समूहको मिटिङ पनि राख्छन् ।’

तर, जब मैले स्वयंसेविकाहरुले कस-कसलाई भेटे ? आमा समूहको मिटिङमा को-को आएका थिए ? त्यो मिटिङ बसेको र स्वास्थसम्बन्धी कुरा गरेको प्रमाण के छ भन्दा उनीहरुको जवाफ थियो, ‘हामीसँग लिखित प्रमाण केही छैन । लिखित प्रमाणको कुरा हामीलाई राख्नु भनिएको छैन ।’

यसको अर्थ हो, हामीले गाउँ-गाउँमा स्वास्थ सेेविका त खटायौं, तर उनीहरुसँग  काम लिन सकेनौं । यो कसको कमजोरी हो ?

बरु कर्णालीका दुरदराज गाउँमा पुग्दा पनि त्यहाँका महिलाहरुलाई आफ्नो स्वयंसेविका गाउँमा छन् भन्ने थाहा रहेछ । केही समस्या परे उनीहरुलाई सोध्नुपर्छ भन्ने कुराको जानकारी पनि उनीहरुलाई रहेछ । ‘कहिलेकाहीँ उनीहरु आउँछन् । तर, खानेकुरा ल्याउँदैनन्’ भन्नेहरु धेरै  भेटिए । यसको अर्थ हो, उनीहरुमा स्वास्थ सेविकाहरुले भिटामिनको पोको र औषधिहरु ब्ाोकेर घरघर आउन् भन्ने चाहाना रहेछ ।

खासमा स्वयंसेविकाको काम स्वस्थ चेतना जगाउने, बिरामी हुँदा अस्पताल जान सहयोग गर्ने जस्ता कामहरु हो भन्ने जानकारी कमलाई रहेछ भन्ने थाहा हुन्छ ।

तराईका दलितको स्वास्थ अवस्था र तराईका दलित महिलाहरुको मातृमृत्युदर कर्णालीको जतिकै छ ।  राजनीतिक पहुँच नहुनु, आत्मविश्वासले बोल्न नसक्नु, आफ्नो वेदना भन्न नसक्नु, पोषणको अभावले बारम्बार विरामी पर्नेजस्ता साझा कारण हुन्,  कर्णालीका जनता र  तराईका दलितको समस्या ।

त्योबेला तराईका नेतालाई दलितको समस्या र स्वास्थ समस्याका बारेमा  पनि मैले केही प्रश्न राखेकी थिएँ । उनीहरुलाई कति दलितहरु विद्यालय जान्छन,  घरमा शौचालय छ कि छैन, उनीहरुले खोप लगाएका छन् कि छैनन् भन्ने जीवनसँग सम्बन्धित कुराको आधिकारिक जानकारी रहेनछ । तर, कुनै ठूलो घटनामा आफूहरु हेलिकोप्टरबाट बस्ती गएको बताउँछन् । सुविधायुक्त ठाउँमा कहिलेकाहीँ गाडी लिएर पुगेको पनि उनीहरु बताउँछन् ।

यसको अर्थ, जसरी कर्णालीसँग सरकार धेरै टाढा छ, त्यसैगरी तराईका दलित बस्तीहरु पनि सरकारबाट धेरै टाढा छन् ।