fbpx
बिशेष

स्मरण : युरोपको नाट्यशालाका वृद्ध निर्देशक

मानवीय संवेदना संसारका कुनै पनि मुलुकहरुमा एउटै हुँदो रहेछ । पीर व्यथाप्रतिको मान्छेको अभिव्यक्ति पनि उस्तै हुँदा रहेछन् । मान्छेका हाँसो र रोदनको भाषा पनि एउटै हुँदो रहेछ । संवेदनहीन मान्छे यस धर्तीमा हुनु र नहुनुको कुनै अर्थ राख्दैन । हामी युरोपलाई विकसित रुपमा लिन्छौँ । सुनेको छु,  विकसित मुलुकहरुमा विकास वजेटनै हुँदैन अरे, कति सत्य हो थाहा छैन ।

हुन पनि त्यस्तै छ, विकासका नमूनाहरु झ्वाट् हेर्दा लाग्छ यहाँ अब के विकास गर्नु पर्ला र ? त्यहाँको समाज हाम्रोभन्दा फरक छ । हाम्रो सोचभन्दा निकै उच्च छ । तापनि समाजका हरेक विकृतिहरु भने ज्यूँकात्यूँ नै रहेछन् । बाहिर हिँउ परिरहेको छ । हामी मारिबोर शहरबाट गाडीमा हुँइकिरहेका छौं, चेलीयातर्फ । सात बजे त पुगिसक्नु पर्छ । ‘आज तपाईलाई कल्चर हाउसमा नाटक देखाउनु छ ।’

वीरमानजीले स्टेरिंग घुमाउँदै भनेे । त्यही कल्चरल हाउसमा उनको योगा गर्ने कोठा छ । त्यहाँ तीन/चार पटक नै पुगे पनि मलाई त्यहाँ नाटक देखाइन्छ भन्ने थाहा थिएन । वीरमानजीले पनि भनेका थिएनन् । समयको पक्का मान्छेहरु त्यहाँ छन् । सातबजे सबैजना जम्मा भइसके । नाटकको रिहर्सल चलिरहेको छ । त्यसभन्दा पहिला सबैजना गम्भीर छलफलमा जुटेका छन् । सबै आ-आफ्नो कमिकमजोरीका बारेमा समीक्षा गर्दै छन् र आगामी कार्यक्रमको बारेमा छलफल गर्दै छन् ।

छविरमण सिलवाल

करिव २० मिनेटको छलफल पछि स्टेजमा आ-आफ्नो रोल गर्दै छन्, हामी हेरिरहेका छौं । लाइटम्यानदेखि नाटक खेल्ने हेर्ने सबै चुस्त टिम । व्यवस्थापन कस्तो तन्दुरुस्त । निर्देशक भिन्चेयस सेन्टोच्निक ७२ वर्षका युवा ! उनी आफैं पनि नाटक खेलिरहेका । अर्को अचम्मको कुरा यहाँ कोही बेरोजगार छैनन्, राज्यले हामीलाई हेेरेन भनेर गुनासो गर्दैनन्, सम्मान पुरस्कारका लागि कसैले कसैलाई सोर्स लगाउँदैनन् ।

कति सहज छन् यहाँका मान्छेहरु । मैले रातोरात साहित्यकार बनेर राष्ट्रिय पुरस्कार पड्काएका हाम्रा महान साहित्यकारहरुलाई सम्झेँ स्लोभेनियामा । एक/दुईवटा नाटकमा अभिनय गरेपछि वरिष्ठको पगरी गुथेका हाम्रा सर्जकहरुलाई सम्झेँ पार्टीको झोला बोकेर प्राज्ञ बनेका तथाकथित विद्वानहरुलाई पनि सम्झेँ । मलाई हाम्रो अव्यवस्था, बेथिति र हरेक क्षेत्रमा मौलाएको बेइमानीले चसक्क दुखायो । विदेशमा यस्तो कुराले बढी आहत हुन्छ । तर, मैले जति सम्झे पनि, जति विचार विश्लेषण गरे पनि त्यो प्रवृत्ति जानेवाला त पक्कै थिएन । जिम्मेवार निकायले इमान्दारिता र पारदर्शिता देखाए न यस्तो थिति बस्ने हो । ‘सोचेर, कल्पनामा डुबेरमात्र के गर्नु ।’

यस्तै सोचेर मैले चित्त बुझाउने प्रयत्न गरेँ । नाटकमा सहभागी भएकाहरु सबै अन्य पेशावाल पो रहेछन् । कोही प्रहरीमा जागिरे, कोही इञ्जिनियर, कोही नगरपालिकामा काम गर्ने, कोही व्यापार गर्ने, कोही मोटर मिस्त्री रहेछन् । नाटकका पात्रजस्तै यिनका जीवनका पनि अनि रङहरु छन्, यिनका काम र जिम्मेवारीमा विविधता छन् । जीवनका अनेक रुपमा मन्चन भैरहका छन्, उनीहरु ।

यस्ता विविध रङ र आयामका शौखिन कलाकारहरुको एउटै मन्चको प्रस्तुति कस्तो होला, मेरो मन अत्यन्तै उत्साहित भइरहेको थियो । अरु त अरु नाटकका निर्देशक भिन्चेयस सेन्टोच्निक आफैँ पनि पेशेवर नाट्यकर्मी होइन रहेछन् । उनी फायरमेन रहेछन्, अझ चेलिया शहरको फायरमेन प्रमुख पनि रहेछन् । ७२ वर्षको उमेरमा पनि कहिल्यै फुर्सद छैन उनलाई । थकानको अनुभूति छैन ।

हामीकहाँ यो उमेरका वृद्धवृद्धाहरु प्रायजसो बेवास्ता र असहायपनको पट्याइलाग्दा समय काटिरहेका हुन्छन् । प्रायः त घरमै थन्किइरहेका हुन्छन्, उपयोगमा नआउने तर फाल्न पनि नमिल्ने पुरानो सामानजस्तै । सेन्टोच्निक फुर्सद मिल्नासाथ आफ्नो वर्कसपभित्र पसेर कम्युटरमा के के पढलेखमा व्यस्त भइरहेका भेटिन्छन् । उनको जोश, जाँगर र तत्परता कुनै अठार वर्षे तन्नेरीभन्दा कम छैन । उनी आफ्नो वर्कसपमा बसेर नाटक लेख्ने र उल्था गर्ने मात्र गर्दैनन् संसारका अरु नाटकहरुका बारेमा अध्ययन गर्छन् ।

तिनका प्राविधिक पक्षका बारेमा चासो राख्दछन् र निर्देशनका नयाँ नयाँ तौर तरिकाको खोजी गर्दछन् । ‘नाटकको अभिनय यस्तो होस् कि त्यसमा समाजमा घटेको, भइरहेको तीतो यथार्थ झल्कियोस् । यदि त्यस्तो किसिमको प्रदर्शन हुन सकेन भने त्यो अभिनय नै होइन भन्ने म ठान्दछु ।

अर्को कुरा, हाम्रो अभिनय दर्शकले किन हेर्ने त भन्ने कुरा पनि हुन्छ । त्यसैले दर्शकलाई निराश बनाउनु भनेको हामीले आफ्नै खुट्टामा बन्चरो हान्नु हो । हामी कलाकारभन्दा पनि समाजका विकृतिका सुधारक बन्न सक्नुपर्छ । अनि स्वस्थ मनोरन्जनसहित प्रस्तुत हुनु पर्दछ, यति भएमा हामी सफल भएको ठान्दछौँ ।’ आफ्नो नाटकको प्रयोजनका बारेमा चर्चा गर्ने क्रममा सेन्टोच्निकले मसित भनेका थिए । सेन्टोच्निक दुई पटक नेपाल आइसकेका छन् । उनलाई  दुवैपटक मैले भेटेको पनि थिएँ । तर, त्यति लामो कुराकानी भने भएको थिएन । उतिबेला उनी नाटक खेल्छन् र निर्देशन गर्छन् भन्ने जानकारी पनि भएन, खाली एउटा पर्यटकको रुपमा मात्रै उनको स्वागत गरियो ।

न त दिनभरिको कामको थकान, न त समाज अनि सरकारसँग कुनै गुनासो न त आफ्ना कामहरुको चर्चा र कदर भएन भन्ने किसिमको गनगन । न त यति काम गरेँ भन्ने किसिमको घमण्ड नै । ती नितान्त आफ्नो मनको आवाज सुनिरहेका थिए । आफ्नो विवेकले डोहोर्‍याएको बाटो हिँडिरहेका थिए । तब न ती खुशी थिए

त्यतिबेला उनको यो प्रतिभाको जानकारी मिलेको भए हाम्रा नाट्यघरहरुसम्म डोर्‍याउने थिएँ होला उनलाई, हाम्रा नाट्यकर्मीहरुसित भेटाउने थिएँ होला । अनि हाम्रो नाट्य परम्परासित उनलाई अलिकति मात्रै परिचित गराउन सकेको भए कति सार्थक हुन्थ्यो होला । जब स्लोभेनिया पुगेको केही दिन पछिमात्र उनको यो प्रतिभाका बारेमा जानकारी मिल्यो, म थकथक भएको थिएँ ।

आफ्नो नाटकका बारेमा उनलाई सदृश्य वर्णन गर्न नपाए पनि आफूले जानेसम्मको जानकारी दिन पछि परिनँ म । मलाई पनि त्यहाँको नाटकको विषयमा जान्न मन लागिरहेको थियोे । आफ्नो सामान्य चासोलाई उनका अगाडि व्यक्त गरेको थिएँ । तर बूढा मान्छेले त अत्यन्तै उत्साहित हुँदै पर्सि नै नाटक देखाउने कुरा पो गरे गाँठे ! उनको त्यो आत्मीय उत्साहले परदेशमा मलाई अपनत्वको आभासमात्रै दिएन, सिर्जनाको महत्वलाई पनि बुझायो । कहाँ कहाँको एउटा मान्छेको रहर पूरा गर्न नाटक देखाउन तयार हुनु सानो कुरा थिएन । उनले मलाई दिएको महत्व र नाटकप्रतिको प्रेमभावले मलाई नतमस्तक बनाइदिएको थियो ।

‘सर आज हिँउ धेरै परेको छ स्वीमिङ जाऔँ !’

‘हिउँमा स्वीमिङ ?!’

म अक्क न बक्क परेँ । मैले यो उमेरसम्म हिउँमा स्वीमिङ गर्ने कुरा देखेको त सुनेकोसम्म पनि थिइनँ । युरोप पुरै सेताम्मे छ, कसैले मिलाएर पाउडर छरिदिएजस्तो ।

वीरमानजी पनि अनौठा कुरागरिरहेका छन् । वीरमानजी मात्र होइन, भिन्चेयस पनि स्वीमिङ जान हौस्याइरहेका छन् । बिस्तारै मैले पत्याए पनि विश्वास भने लागिरहेको थिएन । स्वीमिङ कस्ट्युम खोज्नका लागि चाइनिज स्टोरमा पुग्यौं । बल्लबल्ल भेटियो स्वीमिङ कस्ट्युम ।

वीरमानजीको छोरा पनि स्वीमिङ जान तम्सियो । बाहिर हिँउ परिरहेको छ, भित्र हामी स्विमिङ गरिरहेका छौँ । तातो पानीमा बढो रमाइलो नै हुने रहेछ । यतिबेला मलाई जीवन नै एउटा नाट्यशाला जस्तो लागिरहेको थियो । उसमाथि साथमा थिए नाट्यकर्मी ।

म वीरमानजीसँग हल्का मजाक गर्छु । नाटकको शीर्षक रहेछ- ‘पिरिवारे’ । खासमा यो रसियन भाषाको नाटक रहेछ, जसलाई उल्था गरेर स्लोभेनियामा धेरैपटक देखाइसकिएको रहेछ । रसियन नाटककारले त्यहाँका हरेक परिवारभित्र घट्ने घटनालाई नाटकका प्रस्तुत गरेका रहेछन् । करिब आधा शताब्दी पहिलेको परिवेशको चित्रण भए पनि आज पनि उक्त नाटकले त्यस समाजको प्रतिनिधित्व गरिरहेको छ । परिवारमा भित्रिएकी बुहारीले कसरी सासू, ससुरा, देवर नन्दहरुलाई सताउन सक्छे र श्रीमानलाई बेबकुफ बनाउन सक्छे भन्ने कुराहरु त्यहाँ जीवन्तरुपमा देखाइएको थियो ।

मलाई ‘घरघरकी कहानी’नामको हिन्दी सिनेमा जस्तै लाग्यो त्यो नाटक । ‘यति विकसित मुलुकमा पनि यस्तो होला र ?’ भन्ने सोच्न वाध्य बनायो मलाई पनि तर त्यसबेलाको समाजले व्यहोरेको यस्तो अवस्था आज पनि होला कहीँ कतै । इतिहासका कुराले वर्तमानमा सजग हुन्छ भन्ने र स्वच्छ मनोरन्जन लिन सकिन्छ भन्ने धारणा नाटकको मूल सन्देशका रुपमा रहेको मैले पाएँ ।

न त दिनभरिको कामको थकान, न त समाज अनि सरकारसँग कुनै गुनासो न त आफ्ना कामहरुको चर्चा र कदर भएन भन्ने किसिमको गनगन । न त यति काम गरेँ भन्ने किसिमको घमण्ड नै । ती नितान्त आफ्नो मनको आवाज सुनिरहेका थिए । आफ्नो विवेकले डोहोर्‍याएको बाटो हिँडिरहेका थिए । तब न ती खुशी थिए, सुखी थिए । आफ्नो खुशीका लागि गरेको काममा अरु कुरा खोज्नु हुँदैन, मात्र आनन्दको खोजी गर्नुपर्छ, भन्ने सन्देश मैले उनीहरुबाट ग्रहण गरेँ ।

जब मान्छे आफ्नो काममा खुशी हुन्छ, तबमात्रै उसले आफ्नो कामबाट अरुलाई पनि खुशी बनाउन सक्छ । झन् कला र साहित्य जस्ता सिर्जनात्मक क्षेत्रमा समर्पित मान्छेले त आफ्नो सिर्जनामा आनन्द भेट्न सक्नुपर्छ । सिर्जनाको क्षेत्रमा कुनै आग्रह, अहम् अथवा द्वेष मिसाइयो भने त्यसले आनन्द दिन सक्दैन । न त त्यो सिर्जनामा अमरत्व हुन्छ ।

यहाँ आएपछि लाग्यो सिर्जना कति महान् कर्म रहेछ । सिर्जना आनन्दको खोजी रहेछ, ध्यान र साधना रहेछ । यतिबेला मैले हामीकहाँ राष्ट्रिय रोगको रुपमा रहेको गुनासो, अहम्, इश्र्या, घमण्डले कला साहित्यको क्षेत्रमा पनि कसरी वनमारा झारको झैँ काम गरिरहेको छ, दुःखपूर्वक सम्झिरहेको थिएँ र मनमनै आफूले पनि भिन्चेयस र उनका साथीहरुले समातेको सिर्जनशील आनन्दको बाटो हिँड्ने प्रयत्न गर्ने प्रण पनि गरिरहेको थिएँ ।