fbpx
खेल

नेपालमा बौद्ध धर्मको इतिहास

बसन्त महर्जन
नेपालका केही वंशावलीमा मगध सम्राट अशोकको नेपाल यात्राबारे उल्लेख पाइन्छन्। यही वंशावलीको आधारमा स्वदेशी एवं विदेशी लेखकहरुले त्यही कुराको पुनरुक्ति गरिरहेको पाइन्छ। अशोक नेपालमा आएको, पाटन शहरमा बसेको, पाँच वटा स्तूप बनाएको र ती अशोक स्तूपका नामले प्रख्यात रहेको कुरा प्रकाशनमा पाइन्छन्। यसरी नै छोरी चारुमतिलाई साथमा ल्याएको र चारुमतिको विवाह यहींका देवपाल नामका एक क्षेत्रीयसँग भएको र उनै चारुमतिले बनाएको भएर चारुमति स्तूप भनिएको भनेर पनि काठमाडौं देवपाटनस्थित धन्दो चैत्यलाई चिनाउने गरिन्छ। यही विवरणका आधारमा नेपालमा बौद्ध धर्मको इतिहास सुरु भएको मान्ने गरिन्छ तर यो त्रूटिपूर्ण दृष्टिकोण हो।

सम्राट अशोकको भनिएको त्यो नेपाल यात्रा बौद्ध धर्मसँग सम्वन्धित पारिएको छ। यस अर्थमा उक्त नेपाल यात्राका सम्बन्धमा निरुपण गर्नु अत्यावश्यक छ। सर्वप्रथमतः सम्राट अशोकको नेपाल यात्राको कुरालाई कुनै पनि ऐतिहासिक तथा पुरातात्विक प्रमाणले पुष्टि गर्दैन। जुन वंशावलीमा यो कुरा पर्ेको छ, त्यो वंशावलीमाथि नै शंका गर्ने अनेकौं ठाउँ विद्यमान छ। लामो इतिहासको सन्दर्भमा यी वंशावलीलाई हालसालै मात्र रचना गरिएको पुस्तक भनिदिँदा खासै फरक पर्दैन किनभने यी वंशावली दुई तीन सय वर्षभन्दा पुराना होइनन् र यसअघिका कुनै श्रोतमा यस्तो उल्लेख पाइँदैन। नेपालमा वंशावली लेख्ने परम्परा निकै पुरानो छ। हालसम्म प्राप्त सबैभन्दा पुरानो वंशावली गोपालराज वंशावलीलाई मानिन्छ।

यो १४ औं शताब्दीमा लेखिएको हो। यो एक्कासी लेखिएको नभएर पुराना वंशावलीहरुको विकसित रुप भएको बुझ्न सकिन्छ। मौर्य सम्राट अशोकको नेपाल यात्रा भनिएको उल्लेख यस वंशावलीमा पनि पाइन्न। नेपाली श्रोतहरुको अवस्था यस्तो छ भने भारतीय श्रोत यस सम्वन्धमा पटक्कै खुल्दैन। अशोकको प्रत्येक यात्राको वर्णन अशोकावदान लगायत ग्रन्थमा पाइन्छ। ती ग्रन्थमा उल्लेखित कुराहरु पुरातात्विक दृष्टिले पनि प्रमाणित छन्। अझ अचम्मको कुरा त के भने सम्राट अशोकको परिवारमा चारुमति भन्ने छोरी नै छैनन्। कुनै पुस्तकमा छोरीका रुपमा चारुमतिको उल्लेख त पाइन्छ तर त्यो नेपाली श्रोतबाट लिइएका हुन्छ। यसरी नेपाली श्रोतबाट लेखिएका ती लिखतलाई नै नेपाली लेखकहरुले भारतीय श्रोत भनेर उल्लेख गर्ने र भरपर्दो ठान्ने रमाइलो अभ्यास पनि चलिरहेको पाइन्छ।

पुरातत्वको दुहाई दिनेहरुको एउटा अनौठो प्रवृत्ति के पाइयो भने, जुन बेलाको पुरातात्विक वस्तु फेला प¥यो ठिक त्यति खेरमात्रै सभ्यता र संस्कृति ह्वात्तै सिर्जना भएको बुझ्ने। तर पुरातत्वविद्ले त्यही पुरावशेषको आधारमा सुदूर अतीतको पनि आंकलन गर्नसक्छ। कुनै एउटा घर वा मन्दिरको अवशेषले त्यो भन्दा सयौं वर्षअघिको पृष्ठभूमि बताउँछ।  

बरु सम्राट अशोकको कारुवाक्य नामका एउटी रानी भने थिइन्। उनी उज्जैनकी राजकुमारी हुन् र उज्जैन मगधमा गाभिएपछि विवाह भएको हो। उनै कारुवाक्य जीवनको अन्त्यतिर नेपाल आएको र भूलवश कालान्तरमा नेपाली समाजले अशोकको छोरी भन्ठानेको हो कि भन्ने शंका गर्ने ठाउँ छ। रानी कारुवाक्यलाई नै चारुमति भनेको र भूलवश राजकुमारी भन्ठानेको हुनुपनि उत्तिकै संभव छ। तर यस सम्बन्धमा यो भन्दा बढी चर्चा वा अनुमान गर्न सकिने अवस्था छैन।

नेपालमा बौद्ध धर्मको प्रवेशका सन्दर्भमा सम्राट अशोकको चर्चा बढी मात्रामा गर्ने गरिन्छ। नेपालमा बौद्ध धर्मको प्रचार तेश्रो ईशापूर्वमा थेर मज्झिमको नेतृत्वमा आएको प्रचारक मण्डलीबाट भएको  सुनिश्चित रहेको हरिराम जोशी त ठोकुवा नै गर्छन् (आखे, अंक ६ वर्ष २, ने. सं. ११११ नेपालय् बौद्ध धर्म दर्शनया प्रचार, पृ. १२)। तर बौद्ध धर्मसँग सम्बन्धित नेपालको यो ऐतिहासिक पक्षलाई यत्तिकै स्वीकार्न भने सकिन्न।

सम्राट अशोकको समयमा बौद्धहरुको तेस्रो संगायन पाटलिपुत्रमा भएको थियो। संगायनपछि धर्मको प्रचारप्रसारका लागि चारैतिर धर्म प्रचारकहरु पठाउने क्रममा हिमवत् प्रदेशमा छुट्टै मण्डल थेरमज्झिमको नेतृत्वमा पठाइएको थियो। मण्डलका अन्य सदस्यहरु हुन् थेर काश्यप, थेर अलकदेव, थेर दुन्दु भिस्सर र थेर महादेव। अब प्रश्न उठ्छ, हिमवत् प्रदेश के हो र कहाँ पर्दछ। नेपालीहरु सो हिमवत् प्रदेश नेपाल नै भएको मान्यता राख्छन्। तर हिमवत् प्रदेश नेपालभूमिमा मात्रै सीमित होइन। पञ्जावको पश्चिमस्थित सुृलेमानदेखि पूर्वमा आसाम र अराकान पर्वतमालासम्म फैलिएको सम्पूर्ण पर्वत श्रेणी हिमवत् प्रदेश हो। यस अर्थमा हिमवत् प्रदेशअन्तर्गत नेपाल पनि पर्ने मात्रै हो। पाँच सदस्यको मण्डल नेपालमै आएको भन्ने पनि खुल्दैन। यति ठूलो भूभागमा बौद्ध धर्मको प्रचार कसरी गरे होनाल् भन्ने प्रश्न आफैमा आश्चर्य लाग्दो छ। ती धार्मिक कुराहरु कतिपय अतिशयुक्त पनि रहेको पाइन्छन्। संगायनपछि धर्म प्रचारका लागि हिडेको शिष्ट मण्डलबाटै सोसो ठाउँमा बौद्ध धर्मले जग बसालेको देखिन्न पनि।

बुद्धकै जीवनकालमा उनका उपदेशहरु श्रीलंका द्वीपलगायत विस्तुत भूभागमा विस्तार भइसकेको र बुद्धलाई शास्ता (मार्गदर्शक) मानी धर्म अभ्यास पनि गर्न थालिसकेको बुझिन्छ। बुद्धको विचरण क्षेत्र मगध, श्रावस्ती, वैशाली, बज्जी, काशीलगायतमा मात्रै सीमित थियो। तर, भिक्षुहरुलाई धर्म प्रचारका लागि चारैतिर फैलाएको देखिन्छ। बुद्ध सुदूरपश्चिमको गान्धार प्रदेशमा गएका थिएनन्, तर त्यहाँका एक राजा बुद्धलाई भेट्न आएको तथ्य यहाँ महत्वपूर्ण छ। बुद्धको विचरण भूमिबाट तत्कालिन नेपाल उपत्यका खासै टाढा होइन तर बुद्ध यस उपत्यकामा पनि पुगेको पाइँदैन। बुद्धभन्दा अघि नै विकसित यहाँको सामाजिक परिवेशको वाह्य सम्पर्क बुद्धको विचरण क्षेत्रसँग भइसकेको पाइन्छ। यसक्रममा बौद्ध धर्मसँग परिचित हुनु अनौठो कुरा होइन। संगायनपछिको अशोकको मण्डली वा उपमण्डली नेपाललगायत ती ठाउँहरुमा पनि पुगे होलान् जहाँ पहिल्यै बौद्ध धर्मले प्रवेश पाइसकेको थियो। र, त्यो मण्डलीलाई काम गर्न अझ सजिलो पनि भयो होला। कालान्तरमा नेपालीले नेपालको महिमा बढाइचढाइ गर्ने क्रममा उक्त बौद्ध मण्डलीलाई नै सम्राट अशोकको यात्रा भन्न पुगेको अनुमान हुन्छ।

बुद्धको जीवनकालमा नै नेपालमा बौद्ध धर्मको प्रवेश भइसकेको भन्नुको आधार सर्वास्तिवाद सम्प्रदायसम्बद्ध एउटा बौद्ध ग्रन्थ ‘मूलसर्वास्तिवाद–विनयसङ्ग्रह’ हो। नेपालको तत्कालिन वस्तुस्थितिको चित्रण दिइएपनि त्यसमा बौद्ध विहार नै बनिसकेको वा स्थानीय जनताले बौद्ध धर्म ग्रहण गरेर बौद्ध अभ्यास थालिसकेको उल्लेख भने पाइँदैन। तर श्रावस्तीका बौद्ध भिक्षुहरु नेपाल घुम्न आएको, केही दिन बसेर फर्केको मात्रै नभएर स्वयं भिक्षु आनन्द (बुद्धको उपस्थापक) आफन्तजनलाई भेट्न नेपाल आएको प्रसङ्ग त्यसमा परेको छ।

दुई भूगोलबीचको व्यापारसम्बन्ध विशुद्ध रुपमा व्यापारव्यवसायमा सीमित पाइँदैन। व्यापारका साथसाथै धर्मसंस्कृति, रीतिरिवाज तथा अनेकौं कुराको पनि आदानप्रदान हुने गर्दछ। बुद्धको विचरण क्षेत्रभन्दा बाहिर भिक्षुहरुका अलावा व्यापारीहरुबाट पनि धर्मको प्रचार भएको प्रसङ्ग अनेकौं पाइन्छन्। व्यापारीहरु नेपालमा सामान किन्न आउने मात्रै नभएर आफूसँग भएको सामान बेचेर पनि जाने गर्दा रहेछन् र यसका लागि लामो समय नै बस्नु पर्दथ्यो। अन्य प्रसङ्गहरुको अध्ययन गर्दा नेपाल उपत्यका वस्तुको उत्पादनस्थल मात्रै नभएर वरिपरिका ठाउँहरुमा उत्पादन भएका वस्तु बेच्न ल्याउने वा किनेर लैजाने व्यापारिक केन्द्रका रुपमा विकसित भएको पाइन्छ। यस अवस्थामा बौद्ध व्यापारीलाई धार्मिक गतिविधिको जरुरत पर्ने हुन्छ नै। बौद्ध भिक्षुहरुको आगमन तथा विहार निर्माणलाई नकार्न सकिन्न। कोशल महाजनपदबाट कपिलवस्तुमाथि आक्रमण हुँदा ज्यान बचाउन भागेका शाक्यहरु नेपाल उपत्यकामा पनि पुग्नु र यहीँ स्थायी बसोवास गर्नुले पनि स्पष्ट पार्दछ, उनीहरुका लागि उपयुक्त वातावरण नेपालमा रहेछ। शाक्यहरु उक्त आक्रमणअघि नै पनि यहाँ आएर बसिसकेको हुनु पनि धेरै संभावना छ। शाक्यहरु मात्रै नभएर कोलीय, बज्जी, मल्लहरुको पनि आवमण भइसकेको दृष्टान्त पनि पाइन्छन्। यस्तो परिवेशमा बौद्ध धर्मको अभ्यास अनौठो होइन।

बुद्धको जीवन कालमै नेपालमा बौद्ध धर्म प्रवेश भइसकेको दावी गर्न ‘मूलसर्वास्तिवाद–विनयसङ्ग्रह’ एउटै ग्रन्थ पर्याप्त नभएको र कुनै पुरातात्विक अवशेष नपाइएको अवस्थामा त्यस्तो दावी गर्न मिल्दैन भन्ने वर्ग पनि छन्। वंशावली तथा कथाकहानीमा भरपर्ने तर ‘मूलसर्वास्तिवाद–विनयसङ्ग्रह’मा प्रसङ्गवश उल्लेखित घटनालाई आधारहीन देख्ने दोहोरो मापदण्ड ठिक छैन। पुरातत्वको दुहाई दिनेहरुको एउटा अनौठो प्रवृत्ति के पाइयो भने, जुन बेलाको पुरातात्विक वस्तु फेला प¥यो ठिक त्यति खेरमात्रै सभ्यता र संस्कृति ह्वात्तै सिर्जना भएको बुझ्ने। तर पुरातत्वविद्ले त्यही पुरावशेषको आधारमा सुदूर अतीतको पनि आंकलन गर्नसक्छ। कुनै एउटा घर वा मन्दिरको अवशेषले त्यो भन्दा सयौं वर्षअघिको पृष्ठभूमि बताउँछ।  

नेपाल बुद्धको जीवन कालभन्दा अघि नै सभ्यता र सांस्कृतिक दृष्टिले विकसित रहेको र बौद्ध धर्मले पनि सुरुवाती समयदेखि नै निरन्तरता पाइरहेको कुराले यसको ऐतिहासिक महत्व बुझाउँछ। बुद्धको गृहनगर कपिलवस्तु र कोलीय राज्य वर्तमान नेपालको सहरभित्रै पर्छ र बुद्धको जीवन कालमै ती क्षेत्रहरुमा बौद्ध धर्मले पकड जमाइसकेको थियो तर निरन्तरता भने पाउन सकेन। नेपालबाहिर मगध, अंग, वैशाली, श्रावस्तीलगायत कुनैपनि निरन्तरता कायम गर्न सकेन। निरन्तरताको त्यो इतिहास नेपालले (वर्तमान काठमाडौं उपत्यका उपत्यका र वरिपरिको भूक्षेत्र) जोगाइराख्न सक्नु गौरवको कुरा हो। यही इतिहास पनि हो। अध्ययनको सुई यतातिर सोझिनु पर्ने देखिन्छ।