fbpx
राजनीति

साच्चिकै सत्यमोहन

सत्यमोहन दाइ साच्चिकै सत्यमोहन हुनुहुन्छ। सत्यमोहनको अर्थ हो, सत्यले मोहनी लगाएको मान्छे। उहाँले वास्तवमै देशभित्र र बाहिरका मानिसलाई मोहनी लगाउनुभएको छ। उहाँलाई सबैले रुचाउँछन्। नामको सार्थकता त्यहाँनेर छ।नामको सार्थकतासँग उहाँको गरिमा निस्कन्छ। उहाँको उमेर १०० वर्ष  पुगेको छ। शताब्दी पुरुष त उहाँलाई पाँच वर्षअगाडि नै दिइएको थियो नई प्रकाशनले। त्यो शुभकामना थियो। तर, सार्थकता वैशाख ३० गते पाएको छ।

उहाँको कीर्तिमय जीवन जता गयो, उतै कीर्ति। उहाँले लोकगीत, लोककथा, लोकभाका संग्रह मुखरित भएर लेख्नुभएको छ। उहाँले नेपालको संस्कृतिका लागि महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँले २०१६ सालमा तथ्यांक विभागको खरिदारको नियुक्ति पाउनुभएको थियो। तर, बिपी प्रधानमन्त्री भएपछि उहाँलाई पुरातात्व विभागको डाइरेक्टर बनाइयो। बिपीले उहाँको प्रस्ताव सुनेर डाइरेक्टरमा नियुक्त गर्नुभयो। उहाँको क्षमता देखेर नै बिपीले उहाँलाई डाइरेक्टर बनाउनुभएको जस्तो लाग्छ।

कुनै पनि कर्मचारी एकै पटक ३–४ तह बढुवा भएको मैले सुनेको थिइनँ। तर, २०१७ सालपछि उहाँलाई त्यो पदबाट मुक्त गराइयो। उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो, सदाचार र उत्तम व्यवहार। अहिले सबैले समृद्धिको कुरा गर्छन्। तर, सदाचारबारे चासो राख्दैनन्। सदाचारबिना समृद्धिको कल्पना गर्न सकिन्न। हामीले उहाँबाट सदाचार सिक्न सक्छौं।

उहाँसँग मेरो भेट जनगणना क्रममा २००९ सालतिर सिंहदरवारको कैलाश लाइब्रेरीमा भएको थियो। म करारको कर्मचारीको रूपमा थिए। त्यतिबेला तालिमका क्रममा उहाँसँग सामान्य भेट भएको यियो। तर, उहाँसँग प्रभावित हुने भेट भने २०१० सालमा भक्तपुरस्थित नेपाल साहित्य मन्दिरले सञ्चालन गरेको कार्यक्रममा भएको थियो। म त्यो संस्थाको उपाध्यक्ष थिए। उहाँले त्यो बेला बोल्नुभएको कुराले म प्रभावित भएको थिए। उहाँको कुरा प्रष्ट र सरल थिए।

भक्तपुरमा पछिल्लो समयमा आयोजित एक कार्यक्रममा पनि उहाँले त्यही कुरा दोहो-याउनुभयो। यसले उहाँको स्मरणशक्ति राम्रो रहेछ भन्ने स्पष्ट हुन्छ। तर, उहाँभन्दा १६ वर्ष कान्छो मलाई धेरै कुराको सम्झना छैन। त्यति मात्र होइन, म उहाँभन्दा धेरै कुरामा कमजोर भइसकेको छु। उहाँ फटाफट हिँड्नुहुन्छ। तर, म सक्दिनँ। उहाँ पहिल्यै पनि फटाफट हिँड्नुहुन्थ्यो। एक चोटी एउटा कार्यक्रमबाट हामी फर्कदै थियौ। उहाँले भोटाहिटी पुगेपछि अर्को कार्यक्रममा सँगै जाउँ भन्नुभयो। मैले हुन्छ भने। र, उहाँ सँगै हिँड्न थाले। तर, जहिल्यै उहाँ मभन्दा पाँच पाइला अघि हुनुभयो। म तन्नेरी भए पनि उहाँभन्दा पछि नै परेँ।

उहाँको हिँडाइ तीव्र थियो। यसले उहाँको शारीरिक गति राम्रो भन्ने दर्शाउँछ। त्यति मात्र होइन, उहाँको मानसिक गति पनि तीव्र नै थियो मैले चिनेदेखि। उहाँसँगको भेटको अर्काे सम्झना पनि छ। २०१० सालतिर पाटन ढोकामा भएको कार्यक्रममा म पनि थिए। उहाँ मञ्चको तल बस्नुभएको थियो। उहाँले मलाई पनि निबन्ध पढ्न प्रोत्साहित गर्नुभयो। त्यसैले उहाँ प्रेरक व्यक्तिमा पर्नुहुन्छ।

यस्तै, उहाँमा हतास भावना पनि छैन। २०१६ सालमा पुरातत्व विभागबाट राजाले हटाएपछि उहाँ निरास हुनु भएन। बरु आफूले जानेका कुराहरू लिपिबद्ध गर्नुभयो। र, त्यसलाई कितावको रूप दिनुभयो। उहाँको कीर्तिमानी काम यही हो। उहाँमा अफ्ठेरो अवस्थामा पनि सृजना गर्नसक्ने क्षमता छ। त्यसको केही समयपछि राजाले कू गरेको उहाँलाई मनपरेको थिएन। उहाँले राजाले गर्न नहुने काम गर्नुभयो भन्ने साथीभाइबाट सुनेको थिएँ।

उहाँ जीवनमा सधैं सकारात्मक रहनुभयो। उहाँको समग्र जीवनशैली व्यवस्थित थियो। मिठो बोल्ने। सत्य बोल्ने। ठमठम हिँड्ने। मिठो मानेर खाने। उहाँको बुबा पनि धेरै वर्ष बाँच्नुभएको थियो। त्यसैको प्रभाव उहाँको जीवनमा पनि परेको छ। उहाँको जीवन सार्थक छ। अझै धेरै बाँच्नु पर्छ। यहीँ मेरो शुभकामना।