fbpx
राजनीति

अनाथका अभिभावक

आफ्ना सन्तान सबैलाई प्यारा लाग्छन्। सन्तानको खुसीमा कुनै अभिभावकको न रिस हुन्छ न त डाह नै। अभिभावकका लागि सृष्टिमा सबैभन्दा प्रिय भनेकै आफ्ना सन्तान हुन् भन्दा फरक पर्दैन। तर, अरुका अबोध सन्तानको खुसीमा रमाउने संसारमा विरलै भेटिन्छन्। यिनैमध्येका एक हुन्, गणेश थापा (२४)। उनी अभिभावकको नजरमा बालक नै हुन्। तर, उनको कामले जीवनलाई निकै फराकिलो बनाइदिएको छ। अनाथका अभिभावक बन्ने अवसर थापासँग छ। आफ्ना सन्तानसँग सबैले रमाउँछन्। तर, अरुका सन्तानसँग रमाउने, हाँस्ने, संरक्षण गर्ने र सुरक्षा गर्न पाउने अवसर थोरैले पाउँछन्। त्यो पनि दिलदार मनले मात्रै। त्यही महान दिल हुने मध्येको पात्र थापा पनि हुन्। थापाले अनाथ बालबालिकाको अभिभावक भएर नै जीवन बिताउने संकल्प गरेका छन्।

‘आफ्ना सन्तानलाई सबैले माया गर्छन्, खुसी बनाउन हर कोसिस गर्छन्। तर, जो अभिभावकविहिन छन्, तिनै बालबालिकाको अभिभावक बन्ने रहर हो,’ गणेश भन्छन्।‘अनाथले अभाव, समस्या र दुःख भोग्नुपर्ने अवस्था छ। राज्य जबसम्म यिनको अभिभावक बन्दैन, तबसम्म यिनले पीडा र समस्या भोगिरहनुपर्छ,’ उनी भन्छन्, ‘त्यो अवस्था हटाउन काम सुरु गरेको हुँ।’

कलेज पढ्दै सेवा सुरु
गाउँबाट एसएलसी सकेर थापा उच्च शिक्षाका लागि काठमाडौं पुगे। त्यति वर्ष भूकम्प गयो। काठमाडौंसहित आसपास क्षेत्र बढी समस्या परे। थापा भूकम्पपीडितको उद्दार र राहतमा खटिए। भूकम्पबाट बढी प्रभावित र पीडामा कोही नभएका, आफन्त गुमाएका र अनाथ बालबालिका नै बढी भेटे।
त्यतिबेला अनाथ बालबालिकालाई सहयोग बढी खाँचो हुन्छ भन्ने उनले महसुस गरे। उनी सहयोगमा पनि विशेष गरी बालबालिकालाई नै गर्न थाले। लामो समय काठमाडौं बस्न नसकिने भएपछि त्यही बेला उनी जन्मघर बाजुरा फर्किए।

घर फर्किएलगत्तै उनले अनाथ बालबालिकालाई सहयोग गर्न परिवारका सदस्यसँग अनुरोध गरे। उनको यसका लागि सहयोगी संस्था खोल्ने योजना परिवारका सदस्यलाई सुनाए। तर, कसैले पनि सहज स्वीकार गरेनन्। ‘बरु केहीले आफन्तलाई नै सहारा दिन सकिँदैन, अनाथलाई सकिन्छ भनी उल्टै प्रश्न गरे,’ थापा सम्झिन्छन्।
परिवारका सदस्यले सहयोग नगरे पनि उनले आफ्नो अठोट छोडेनन्। दाजुभाइको जेठो भएकाले पनि उनको अठोटविरुद्ध कोही उभिएनन्। र, २०७२ सालमा कन्सन बाजुरा नामक संस्था जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरियो। संस्थाको उद्देश्य छ– आमा–बुबा नभएका बालबालिकालाई सहयोग गर्ने।
गणेशकै संकल्पले संस्था स्थापना भएको काका बहादुर थापा बताउँछन्।

‘भूकम्पपछिको बालबालिकाले भोग्नुपरेको पीडा र काठमाडौंमा बसेर बाजुराका भोक, अभाव, गरिबी र अनाथको विचल्लीका समाचार पढिरहँदा बाजुरामै गएर अनाथ आश्रम बनाउने साहस आयो,’ गणेश भन्छन्। देशकै बढी गरिब बस्ने बाजुरामा अनाथ र असहाय बालबालिकाको उद्दार गर्ने अठोेट लिएको उनले बताए।
तर, उद्देश्य प्राप्तिमा उनलाई सहज भने भएन। त्यतिबेला सरोकारवाला निकायले पनि कुरा नपत्याएको उनी सम्झन्छन्।

संस्था दर्तापछि उनले चार अनाथ बालबालिका घरमा राखे। थापा पढ्नका लागि काठमाडौं आए पनि उनकै परिवारले जिम्मा लिए। घरमा राख्ने र नजिकै रहेको वसन्त बालमैत्री आधारभूत विद्यालयमा भर्ना गराए। उनका काका बहादुर पढाउने विद्यालय भएकाले थप सजिलो भयो। सुरुका दुई वर्ष उनको सेवाबारे कमैलाई थाहा भयो।
बहादुर थापाको श्रीमती र सिंगो परिवारले लालनपालन गरेको बारे कसैलाई थाहा भएन। जब संस्थाकै नाममा घर निर्माण गर्न थाले अनि थापाको चौतर्फी चर्चा भयो।
हाल उनको आश्रममा १४ बालबालिका छन्। उनीहरू सबै वसन्त बाल मैत्री आधारभूत विद्यालयमा नै पढ्ने गरेका छन्।

उनको परिवारले प्रायः सबैलाई लालनपालनको जिम्मा लिएको छ। ‘बालबालिकाको लालनपालमा वार्षिक ७ लाख रूपैयाँसम्म खर्च हुने गरेको छ,’ गणेशले भने।
त्यसको सबैजसो खर्च व्यवस्थापन थापाकै परिवारले गर्ने गरेको उनले बताए। थापालाई बुबा बलबहादुर, काका बहादुरले हर अभियानमा साथ दिइरहेका छन्।
‘अनाथले पढ्न पाऊन् र भविष्य बनोस् भन्ने मान्यता राख्छु, त्यसको सुनिश्चितताका लागिपरेको छु,’ उनले भने।

परिवारको जिम्मा दिएर थापा आफू काठमाडौंमा पढ्ने गर्थे। तर पनि तीन महिनाको एक पटक अनिवार्य एक पटक स्वास्थ्य जाँचका लागि भए पनि आफै गाउँ पुग्छन्। सानै देखिको बच्चासँग रमाउने बानीका थापा हालपनि अनाथसँगै रमाउने, घुम्न जाने देखि नुहाउने, कपडा धोइदिने काममा आफै सघाउँछन्। आश्रममा १४ महिनादेखि १३ वर्ष उमेरसम्मका बालबालिका छन्। गाउँ तथा नगरपालिकाको सिफारिसमा ती बालबालिका कन्सनमा राखिएको हो। उनको सुरक्षा र संरक्षण हाल परिवारकै जिम्मा भए पनि स्वामित्व स्थानीय तह वा संघीय सरकारको होस् भन्ने मान्यता थापाको छ। घरमै राखेर पठन पाठन गर्दै आएका अनाथ बालबालिका हाल आफ्नै भवनमा बस्न थालेका छन्। गएको वैशाखबाट अनाथ आश्रम निर्माण सुरु गरिएको हो। देशकै कान्छो सामाजिक अभियान्ता केपी खनालको अगुवाइमा उक्त भवन निर्माण गरिएको हो।

खनाल स्वयमले शिलान्यास गरिएको भवन ६० लाखभन्दा बढीको लागतमा निर्माण भइरहेको छ। क्लिन काठमाडौं अभियानसञ्चालन गर्दा भेट भएका खनाल र थापाबीच सहकार्य भई भवन निर्माणको अगुवाई केपी खनालले नै गरिरहेका छन्। ५७ लाख भवन र ३ लाख बढी शौचालयका लागि लागत इस्टिमेट गरिएको छ।
भवन निर्माण सुरु गरिएको एक वर्षमा ३१ लाख बढी नगद संकलन गरेका छन्। केही संकलनकै दौरानमा छन्। भारतका विभिन्न सहरमा बस्ने नेपालीहरूमाझ पुगेर खनाल र थापा सहितको टिमले रकम संकलन गरेर अनाथ आश्रम बनाउन लागेका छन्।

उनले आश्रमका लागि देशकै नमुना भवन बनाइरहेका छन्। यसको प्रगतिप्रति सरोकारवाला निकाय पनि सन्तुष्ट छन्। सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल उनले गरेको काम प्रशंसनीय र उपलब्धीमूलक भएको बताउँछन्। हालसम्म बाल गृह निर्माण भनेर अमेरिकाबाट ७५ हजार,  बाल कल्याण समितिले ३५ हजार, तत्कालीन ब्रह्मतोला गाविसबाट ९० हजार, कर्णबहादुर थापाको सांसद् विकास कोषबाट २ लाख सहयोग भएको छ। त्यो बाहेक यो वर्ष भवनको फिल्ड, निर्माणका लागि संघीय सरकारको पूर्वाधार विकास कार्यक्रमको १५ लाख र प्रदेश सरकारको ८ लाख रकम दिने सांसदले वचन दिएका छन्।

छाउप्रथा विरोधी अभियान
थापाले जिल्लामा छाउप्रथा विरुद्धको अभियान चलाएका छन्। अभियानअन्तर्गत उनले सेनेटरी प्याड वितरण र विद्यालय शिक्षा कार्यक्रम गरिरहेका छन्। जिल्लाका बुढीगंगा, त्रिवेणी, बडिमालिका र बुढीनन्दा नगरपालिकाका दुई दर्जनभन्दा बढी विद्यालयमा अभियान सञ्चालन गरेका हुन्। उनले तीन हजार बढीलाई सेनेटरी प्याड, लुगा समेत वितरण गरेका हुन्।

अनाथ आश्रम निर्माण कार्य अन्तिम चरणमा रहेको उनले बताए। हाल परिवारको लगानी रहेपनि सबै विषयमा परिवारकै निगरानी र नियन्त्रण अनि सहयोगले अपुग हुने हुन्छ। उनलाई केपीले सहयोग गरिरहेका छन्।