fbpx
राजनीति

नारी संवेदनापूर्ण गहिराइ

जमुना रोका
स्वप्निल र आदर्शवादी दृष्टिले जिन्दगी नियाल्नेहरूलाई प्रगतिवादी बाटो देखाउँदै कविताको दियो बाल्ने एउटा नाम हो– सुनिता गिरी। आलोकमा उभिने मोहले अन्धकार विरुद्ध कविता लेख्ने सुनिता संघर्ष लेख्दिनन्  मात्र संघर्षमा बाँच्छिन्। यिनको जीवनको सम्झौताविहीन आयाम सदैव आकर्षक छ मेरा लागि। हङकमा बसेर नेपाली माटो र ममताको गन्ध सुँघ्दै अक्षरको खेती गर्दै आएकी छिन्। उनको कविताकृति ‘माइत जाने बाटो’ आएको छ।   

नेपाल हङकङ क्लबले छापेको पुस्तकमा ३२ कविता छन्। पहिलो कविता ‘सपनामा आमा’ छ भने अन्तिम कविताका रूपमा ‘धराहरासँगै ढलेको धराहरा’ छ। कवितामा देशप्रेम, प्रकृतिप्रेम, युगीन कुरूपताप्रति व्यंग्य, मातृप्रेम, मानवतावादी चिन्तन पाइन्छ।
मानवीय संवेदनालाई पक्रन सफल छिन् गिरी। प्रगतिवादी चिन्तन, मातृप्रेम, देशप्रेम, मानवतावाद, नारीवादी चेत, विद्रोहात्मक स्वर, व्यंग्य, आशा, प्रवासीले भोगेका कथा, कल्पनाशीलता, नारी विद्रोह, अन्तरलयको प्रयोग, सुत्रात्मक तथा व्यन्जनात्मक, वैचारिकता तथा कलाको उचित संयोजन उनका विशेषता हुन्।

मानवीय संवेदनालाई पक्रन सफल छन् सुनिताका कविता।  

उनी अन्याय, अत्याचार, शोषण र कुरीति विरुद्ध कतै आगो बनेकी छिन् त कतै हुरी। परदेशमा रहे पनि घरदेशकोे राजनीतिक अस्थिरता, सामाजिक आर्थिक समस्याप्रति गम्भीर छिन्। युवाको समस्या बुझेकी छिन्। देश दुखेको कुरा मार्मिक ढंगमा लेखेकी छिन्।
उनी आजका नारीलाई चुलो र चौकोमा सीमित नबन्न आग्रह गर्छिन्। आत्मनिर्भर  बनेर सभ्य, सफल, शिष्ट, भव्य जीवन जिउन सक्नु पर्छ भन्ने उनको सन्देश छ।
विदेशमा कहिलेकाहिँ उनलाई घरदेशको यादले ऐठन गर्दो रहेछ अनि बेसी सम्झिने  रहिछन् घरदेशको माटो, गोरेटो, पानी, पँधेरो साथी, देउराली, भन्ज्याङ, उकालीओराली पनि। विगतको यादले गला निमोठिँदा उनी अतालिन्छन् ः  
विरक्त लागेको साँझ
सिरानी हालेर
आकाश हेर्दै जब
तिनीहरूलाई नै सम्झिरहन्छु
पीरै पीरको बगर बिछ्याएर
व्यथै व्यथाको सिरानी हालेर
यतै कतै अल्झिरहँदा पनि
हिमाल हेर्ने रहर
बाटो चिन्ने प्रहर
मनमै गाँठो पारेर राखेकी छु
कतिपय कवितामा परदेसिएका नेपालीको  वास्तविक पीडा पाइन्छ भने कतिपय कविताले कविको भोगाइ पस्केको छ। अधिकांश कविताले मातृप्रेमपूर्ण भाव व्यक्त गरेका छन्।