fbpx
राजनीति

शृंगारमा अल्झिएको साहित्य

उन्नाइसौं शताब्दीबाट सुरु भएको नेपाली साहित्य आधुनिक कालसम्म प्रवेश गर्दा धेरै आयाम थपिए। यस अवधिमा साहित्यले आफ्नो क्षेत्रलाई थप फराकिलो बनायो। र प्रत्यक्ष होस् वा अप्रत्यक्ष समाजका विविध पक्षलाई डो¥यायो पनि। समाजलाई परिवर्तनको संघारसम्म ल्याइदियो। फरक–फरक समुदायबाट प्रतिनिधिमूलक लेखक जन्मायो। आमनागरिक तहमा साहित्यिक चेतना भ-यो।

बितेका १०÷१२ वर्षयताको साहित्य समीक्षा गर्दा यो कालखण्डमा लेखक मात्रै उदाएनन्, तिनका लेखरचनालाई सहजै बजारसम्म ल्याइदिने निजी प्रकाशन गृह खुले। लेखकलाई जिम्मेवार र होसियार बनाउने पाठक जन्मिए। यहीबाट नेपाली साहित्य तिक्खर बन्न थालेको लेखकहरूको धारणा छ। विश्लेषक खगेन्द्र संग्रौलाको भनाइमा नेपाली साहित्यमा एक दशकमा धेरै राम्रा आयाम थपिएका छन्। धेरै ठूलो अधिकारको संघर्षपछि नेपाल संघीयताको बाटोमा प्रवेश गरेको छ। यहीक्रममा नेपालका कुनाकानीका अल्पसंख्यक समुदायबाट पनि लेखक उदाएका छन्। हरेक समुदायबाट लेखकको प्रतिनिधित्व हुने एउटा इन्द्रेणी प्रकृतिको प्रतिनिधित्व अहिले साहित्यले चाहेको संग्रौलाको भनाइ छ।

नेपाली साहित्यले अझै गन्तव्य भेटेको छैन, यो समाजका धेरै पक्ष भुलेर शृंगारमा अल्झिएको छ। भान हुँदाहुँदै पनि साहित्यकारले समाजलाई समृद्धितर्फ डो¥याउने लेख रचना कोरेनन्। देश विकासको बाटोमा अल्झिरहेका बेला लेखकको कलम पनि शृंगारको जालोमा अल्झियो।

पछिल्लो साहित्यमा केही आयाम थपिए पनि त्यसैले जन्माएका विकृतिप्रति उनी गम्भीर छन्। ‘अहिले कृतिको शिष्टता, उच्चताको कुरा गर्दा धेरै खास लाग्दो, धेरै गर्व गर्नुपर्ने ठाउँ देखिन्न, सामाजिक सञ्जालप्रतिको आममानिसको आकर्षणले पठन संस्कृति खुम्चँदै गएको छ,’ उनी भन्छन्, ‘पछिल्लो दशककै समीक्षा गर्दा साहित्य पढ्न रुचि राख्ने, गम्भीर चिज पढ्ने, धैर्यपूर्वक पढ्नेजस्ता प्रवृत्ति लेखक र पाठक दुवैमा हट्दै गएको छ। यो राम्रो पक्ष होइन।’ उनका अनुसार सामाजिक सञ्जालमा कुनै टिप्पणी गर्दा वा प्रतिक्रिया गर्दा गम्भीर रूपमा सोच्दै सोचिन्न। लेखकहरूको ठूलै जमात सञ्जालमा आफ्नो विज्ञापन गर्न लागेको छ। ‘लेख्नचाहिँ गतिलो लेख्दैन। तर, आफूले लेखेको कुराको आफैंले प्रशंसा गर्दै, आफ्नो घाँटीमा आफैंले फूलमाला लगाउँदै, प्रसन्न हुँदै गरेको प्रवृत्ति व्यापक देखिन्छ। यो सरासर गलत हो,’ उनले भने।
उनका अनुसार नेपाली साहित्यले तल्लो वर्गलाई समेट्न सकेको छैन। त्यसकारण साहित्यको यात्रा अझै गन्तव्यमा पुगेको मानिँदैन।

नेपाली साहित्यले अझै गन्तव्य भेटेको छैन, पछ्याइरहेको मात्रै छ। यो अवधिमा साहित्य शृंगारमा अल्झिएको छ, समाजका धेरै पक्ष भुलेर। साहित्यकारले समाजलाई समृद्धितर्फ डो¥याउने रचना कोरेनन्। देश विकासको बाटोमा अल्झिरहेका बेला लेखकको कलम पनि त्यस्तै जालोमा अल्झियो। हल्काफुल्का र फास्सफुस्स साहित्य लेखनमा युवादेखि परिपक्व उमेरका लेखक भुले। उनीहरू यही रंगमा रमाउन चाहन्छन्। अझै पनि लेखकका अक्षर यौन, प्रेम र महिला पुरुषबीचको विभेदको गन्ध दिन्छन्। किनकि समाजले त्यही खोजिरहेको छ। लेखक बुद्धिसागरको बुझाइ मिश्रित छ। उनी पछिल्लो दशकमा नेपाली साहित्य राम्रा र नराम्रा दुवै पक्षमाथि अघि बढेको बताउँछन्। ‘त्यो फरक–फरक धु्रवमा उभिएर साहित्य सिर्जना गर्दा बिक्दैन, बिकाउ बाटो त शृंगार नै हो, जे बिक्छ ट्वाक्क–टवाक्क लेखकहरू लेखिहाल्छन्,’ उनी भन्छन्, ‘नेपाली साहित्यकर्मीले आफ्नो पूर्ण जिम्मेवारी निर्वाह गरेको देखिन्न।’

लेख्नेहरूका पनि आफ्नै समस्या छन्। विकास र समृद्धिमा कलम चलाउँदा सिर्जना बिक्दैन। नेतृत्वले टेर्दैन। कम्तीमा यौन, प्रेम र शृंगार पोतिएको साहित्यले केही छिन त आनन्द दिन्छ। पढुन्जेल भुलाउँछ र अर्कै संसारमा उभ्याइदिन्छ। अहिलेको समाजले सकारात्मकभन्दा नकारात्मक रुचाइरहेको छ। कुनै सकारात्मक र यथार्थ कथनमा कोही बोल्यो भने त्यो समाजले रुचाउँदैन। समाजले त भड्किलो र विवादास्पद स्वाद खोजिरहेको छ। अर्कोतर्फ दशकयता प्रकाशक संस्था र लेखकहरूको संख्या व्यापक बढेको छ। त्यसको अनुपातमा चिन्तन र सिर्जनाको स्तरचाहिँ बढेको देखिँदैन। आजको विश्व एक किसिमले विचारको रिक्तता थलिएको छ। यो रोगबाट नेपाल पनि ग्रस्त छ।

लेखकबाटै विकृति जन्मियो
अश्लील तहमा बढी प्रचार भएको छ। हरेक लेखक प्रशंसा चाहन्छ, हरेक कृतिले प्रशंसा चाहन्छ, स्वाभाविकताको सीमाभित्र रहेर गरेको चाहनालाई अनुचित भन्न नमिल्ला। तर, नछिप्दै ‘राम्रो म’ भनेर हल्ला पिट्दै हिँड्ने बानी ठीक होइन। ती लेखक होइनन्, बकमफुस्से हुन्। नेपाली साहित्यलाई विकृति भर्ने, हल्का बनाइदिने, महŒव घटाइदिने, समाजलाई भड्काइदिने अपराधी हुन्। यस्ता लेखकहरूको जमात बढी छ अहिले। नजिकका प्रकाशक समात्यो। उसलाई फकायो। किताब छाप्यो। विमोचन ग¥यो। आफूलाई फुर्कायो। अनि पाठकलाई झुक्यायो। यो विकृति हटाउने जिम्मा कसको हो ठ्याक्कै जिम्मेवारी तोकिदिन नमिल्ला। तर, विकृतिचाहिँ पक्कै हो।

शारदा शर्मा पछिल्लो दशकलाई साहित्य क्षेत्रमा छलाङ मार्ने दशकका रूपमा लिन्छिन्। ‘पछिल्लो दशकमा नेपाली साहित्य जगत्मा बाढी आएको छ। पुस्तक नबिक्ला कि भन्ने डरमा धेरैजसोले सावधानी अपनाउन थालेका छन्,’ उनले भनिन्, ‘यसले नेपाली साहित्य क्षेत्रलाई सुधार पनि गरेको छ। नयाँ–नयाँ लेखक जन्मिएर साहित्य क्षेत्र फैलिएको मान्न सकिन्छ।’

अर्को कुरा, अहिले गम्भीर पुस्तकप्रति आमपाठकको रुचि छैन। हल्काफुल्का सस्ता चिज खासगरी आपराधिक गतिविधि, सनसनीपूर्ण कुरा, रोमान्स, हत्याहिंसा, विध्वंसका कुरालाई नेपाली साहित्यले पछ्याइरहेको छ। गम्भीर चिन्तन भएको, गम्भीर सौन्दर्य भएको पुस्तकप्रति आमपाठकको रुचि छैन। बिना अर्थका अक्षरमा दैनिकी खेर फाल्ने जमातको लर्को छ।

निजी प्रकाशनको भूमिका  
निजी स्तरबाट खुलेका प्रकाशन गृहले लेखक र साहित्यलाई उकास्न सहयोग गरे। प्रकाशन गृह खुल्न थालेपछि साहित्य क्षेत्र झनै सरल बन्यो। धेरै लेखक जन्मिए। त्योभन्दा पहिले सरकारी प्रकाशन गृह साझा प्रकाशन थियो। २०६५ पछिको चर्को राजनीतिले यसलाई डुबाइदियो। पुस्तक जन्माउने प्रकाशन संस्थाले पार्टीका पर्चा, पम्प्लेट र दस्तावेज प्रकाशन गर्न थाल्यो। बुद्धिजीवी वर्गले चलाउँदै आएको प्रकाशन संस्थामा पार्टीका भरौटे छिरे। जसले गर्दा सरकारी प्रकाशन संस्था चुर्लुम्म भयो। ०६५ सालपछि खुलेका निजी प्रकाशन गृहले बजार तताउन थाले। नेपालय, फाइनप्रिन्ट, मञ्जिल, सांग्रिला, बुकहिल, स्वदेशीजस्ता नामले खुलेका निजी प्रकाशन गृहले साहित्यलाई फराकिलो बनाउन सहयोग गरे। पछिल्लो दशकमा ‘ननफिक्सन राइटिङ’मा तुफानै आयो। ती संस्थाले लेखकलाई तिखारेका छन्। समाज बदल्न उत्पे्ररणा जगाएका छन्। व्यावसायिक ढंगले भए पनि पाठक र लेखकको चाहना मेटाएका छन्। साहित्यमा स्तर र सरलता थप्न सहयोग गरेका छन्।

बुद्धिसागरको विचारमा २०६२/६३ सालयता नेपाली साहित्यमा सरलीकरण भित्रियो। त्योभन्दा पहिलेका लेखकहरू ‘रिडरसिप’लाई ध्यान दिँदैनथे। उनीहरूका सिर्जना ‘हाई लेभल’का हुन्थे। साहित्य शिक्षित व्यक्तिले मात्रै बुझ्न सक्थे। जसका निम्ति पुस्तक लेखिएको हो, त्यो समुदायले बुझ्दैनथ्यो। समुदायका मानिस आफ्नाबारे लेखकले उठाएको आवाज सुन्दैनथे। सञ्चारको भाषामा भन्ने होे भने त्यतिबेलाका पुस्तकमा ‘वान वे कम्युनिकेसन’ मात्रै चल्थ्यो। किनकि, अशिक्षित वर्गको बाहुल्य भएको समुदायबाट कुनै ‘फिडब्याक’ (प्रतिक्रिया) आउँदैनथ्यो।

रैथाने लेखकको एकाधिकार खोसियो
पछिल्लो एक दशकमा रैथाने लेखकको एकाधिकार खोसियो। यसलाई पनि नेपाली साहित्यमा ठूलो उपलब्धि मान्न सकिन्छ। यसकारण पनि नेपाली लेखनशैली अझ ‘स्पेसिफिक’ भयो। बुद्धिसागर भन्छन्, ‘त्यतिबेला सबै विषय एउटै पुस्तकमा खाँदिएकाले पनि पाठकलाई लेखाइ जटिल लाग्थ्यो। तर, अहिलेको साहित्य त्यस्तो छैन। बजारमा जे बिक्छ, त्यही लेख्न थालिएको छ। यो नेपाली साहित्यमा देखिएको परिवर्तन मात्रै होइन, विदेशी साहित्यमा पनि यस्तै छ।’ उनको भनाइमा अहिले नेपाली साहित्यमा विज्ञान प्रविधिको र विदेशी साहित्यको शैली यत्रतत्र प्रयोग भएको पाइन्छ। जसका कारण लेखक आफैं पनि बदलिएका छन्। उनीहरू आफ्नो समुदायलाई अरू देशका समुदायसँग दाँज्न थालेका छन्। आफूले लेखेको पुस्तक संसारका जुनसुकै कुनाबाट पनि पढ्न सक्ने भएपछि उनीहरू थप सजग भएका छन्।

लेखक शारदा शर्मा पछिल्लो दशकलाई साहित्य क्षेत्रमा छलाङ मार्ने दशकका रूपमा लिन्छिन्। ‘पछिल्लो दशकमा नेपाली साहित्य जगत्मा बाढी आएको छ। पुस्तक नबिक्ला कि भन्ने डरमा धेरैजसोले सावधानी अपनाउन थालेका छन्,’ उनले भनिन्, ‘यसले नेपाली साहित्य क्षेत्रलाई सुधार पनि गरेको छ। नयाँ–नयाँ लेखक जन्मिएर साहित्य क्षेत्र फैलिएको मान्न सकिन्छ।’

देशमा संक्रमणकाल अन्त्य भएसँगै साहित्य क्षेत्रमा बाढी आएको हो। दशकयताको साहित्यमा लेखकपिच्छे फरक–फरक धारणा बाहिर आए। बीच–बीचमा भीषण संघर्ष पनि चलिरह्यो। संक्रमणकालले साहित्यिक र सांस्कृतिक क्षेत्रमा पनि दरिलो प्रभाव परेको थियो। त्यतिबेला लेखिएका पुस्तकले साहित्यिक–सांस्कृतिक सत्तालाई पनि हल्लाए। २० वर्षअघिको साहित्य हेर्दा लेखकहरूमा दर्शन, विचार, अर्थ–व्यवस्था, जीवनशैली, पद्धति, वातावरण, परम्पराजस्ता विषय धेरै पाइन्छ। यद्यपि, संक्रमणकाल अघिका पुस्तक अहिले पनि उत्तिकै कालजयी मानिन्छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, विश्वेश्वर कोइराला, बालकृष्ण समजस्ता लेखक नेपाली साहित्यका जग मानिन्छन्। यी कवि, लेखकले त्यतिबेलाको नेपाली समाजलाई परिवर्तनको संघारमा ल्याएका थिए।

पूर्णकालीन लेखकका रूपमा चिनिने अमर न्यौपाने संक्रमणकालयता उपन्यासको क्षेत्रमा पल्पसा क्याफे र प्रकाशनको क्षेत्रमा धेरै प्रकाशन संस्था आएपछि साहित्य क्षेत्रमा धेरै अदलबदल देखिएको बताउँछन्। ‘पहिले–पहिले पत्रपत्रिकामा मदिराका विज्ञापन छापिन्थे, अहिले पुस्तकका विज्ञापन छापिन थालेका छन्। यो सुखद पक्ष हो,’ उनी भन्छन्। साथै ०६२÷६३ यता साहित्यमा अधिकारका कुरा उठान गर्न थालिएको छ।

पछिल्ला युवा आवाज र शृंगारिक साहित्यमा कलम चलाउँदै आएका सुबिन भट्टराई पनि अहिलेको साहित्य मिश्रित किसिमको भएको बताउँछन्। उनी भन्छन्, ‘०६३ यता नेपाली साहित्यमा मात्रै होइन पाठक, कृति, लेखक र प्रकाशन सबैतिर क्रान्ति नै आयो, नेपाली साहित्य अंगे्रजी साहित्यका रस भरिन थाले, यहाँका धेरैजसो लेखकमा अंग्रेजी साहित्यको भाव भेटिन्छ।’ उनको बुझाइमा समकालीन वा सोभन्दा पहिलेको साहित्य बुझ्न महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भूपी शेरचन, बिपी कोइराला, भानुभक्त, कालिदास, पारिजात लगायतलाई पढे पुग्छ।

पछिल्लो दशकमा जमेका लेखक बुद्धिसागर, अमर न्यौपाने, रामलाल जोशी, राजन मुकारुङ, नारायण वाग्ले, महेशविक्रम शाह, सुबिन भट्टराई, शारदा शर्मा, पुष्कर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रुक्मांगद कटवाल, नवराज पराजुलीलगायत उदाए। यी लेखकले सबै समुदायको प्रतिनिधित्व गरेका छन्। त्यसैले पनि यो दशक आसलाग्दो मानियो। बुकहिल प्रकाशनका भूपेन्द्र खड्काले गएको एक दशकमा पाठकको मन जित्ने र आसलाग्दा लेखक उदाएको सुनाए। ‘यो दशकमा लेखक र पाठकको हुल आयो, त्यससँगै निजी प्रकाशक पनि आए,’ उनले सुनाए, ‘समाजमा शिक्षित वर्ग बढ्नु, इमेल, इन्टरनेटको विकास हुनु, निजी प्रकाशन संस्था खुल्नु, विभिन्न समुदायबाट लेखन क्षेत्रमा प्रतिनिधित्व गर्ने जस्ता क्रियाकलापले साहित्यलाई उकास्न मद्दत गरेको छ।’ यो दशकलाई पाठकको दशकका रूपमा पनि मान्छन् उनी। भन्छन्, ‘लेखकले पनि युवालाई सम्बोधन गरे, त्यसैले पनि लेखन क्षेत्रमा युवा जमात बढ्यो।’

प्रवासमा साहित्य
नेपाली साहित्यमा युवा सक्रियता र क्रेज बढ्दो छ। विदेशमा पनि साहित्यप्रेमी युवाको जमातै छ। पछिल्लो समय युरोपका धेरै ठाउँमा साहित्यिक कार्यक्रम हुने गरेका छन्। नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष नवीन आचार्यले युरोपका धेरै सहरमा नेपाली साहित्यका धेरै कार्यक्रम आयोजना हुने गरेको बताए। ‘विभिन्न क्लव, संघसस्था खोलेर, नेपालीहरू एक ठाउँमा जम्मा भएर साहित्यमार्फत आफ्ना भावना साटासाटा गर्ने प्रचलन पछिल्लो समय बढेको छ, हामीले पोर्चुगलको लिस्वनमा बसेर पनि नेपाली साहित्यको जगेर्ना गर्ने खालका कार्यक्रम गर्दै आएका छौं,’ उनले भने।

विदेशमा रहेका साहित्यकारको साहित्य सिर्जनाको मुख्य विषय नै नेपाल हो। नेपालमा विभिन्न पक्षलाई स्मरण गर्दै विदेशमा साहित्य सिर्जना हुने गरेको छ। यसबाहेक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले साहित्यलाई विदेशमा सक्रिय बनाएको छ। सोही उद्देश्यले ४२ वटा देशमा ९० शाखा खोलिसकेको छ। अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली भन्छन्, ‘पछिल्ला युवाहरू साहित्यमा धेरै तल्लीन बन्दै गएका छन्, उनीहरूको सक्रियता राम्रो छ, विदेशीमा पनि हामीले नेपाली साहित्यलाई स्मरण गर्न सक्ने र बुझ्न सक्ने भएका छौं।’

अनेसास र नवोदित मोबाइल साहित्यले संयुक्त रूपमा कार्यक्रम गरेर हरेक वर्ष भानु जयन्ती र लक्ष्मी जयन्तीको अवसर पारेर नेपालबाट साहित्यकार बोलाएर कार्यक्रम गर्ने गरेको अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राई बताउँछन्। कविता, गजल र उपन्यास विद्या प्रवासमा चर्चित छ। यी विधामा कलम चलाउनेको संख्या पनि उत्तिकै बढ्दो छ।

साहित्यमा बालबालिका
कुनै पढेलेखेका, सौखिन र ठूलाबडामा सिमित रहेको नेपाली साहित्य अहिले बालसाहित्य भनेर जन्मन थालेको छ। स्रष्टा माधव सयपत्री पछिल्लो साहित्यले बालबालिकालाई छोएको बताउँछन्। उनका अनुसार नेपाली साहित्य अहिले फराकिलो बन्दै गएको छ। बाल्यकालदेखि नै नेपाली साहित्यका विविध विधामा कलम चलाउन थालिएको छ। लोककथा, दन्त्यकथामा बालबालिका बढी चासो दिन्छन्। आफ्नो भाषा, संस्कृति, परिवेश र आदर्शबारे बालबालिकाले रचना गर्न थालेका छन्।