fbpx
राजनीति

गजलमा बसन्तको ‘मृगतृष्णा’

सुविद गुरागाई
‘ओठ निचोर्दा दुध आउने केटाहरू कविता लेख्न नसकेर गजल लेखिरहेका छन्,’ चालीसको दशकमा समीक्षकहरू यस्तै टिप्पणी छपाउँथे। नेपालीमा गजल लेखनको मात्र होइन, गायनको इतिहास पनि उत्साहजनक छैन। सुरुमा पुराना गायक सेतुरामले मोतीराम भट्टको ‘यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्,’ गाएको रेकर्ड त छ तर ‘काफिया’ नभएकाले यसलाई समीक्षकहरू गजल मान्दैनन्।

अलिपछि भीमनिधि तिवारीका शब्दहरू ‘म माहुरी हुँ राधा तिमी आँप मञ्जरी हौ,’ गाएर मास्टर रत्नदाश प्रकाशले गजल गायनलाई थोरै पहिचान दिन खोजेका थिए तर नेपाली गजल गायन परम्परा त्योसँगै जोडिएर विकास हुन सकेन। बीचमा दुई दशक लामो खाडल बनिरह्यो। नातीकाजी, भक्तराज आचार्य, तारादेवी आदि अग्रज गायक–गायिकाले पुराना स्रष्टाका रचना गाउन त गाए तर उनीहरूले तिनलाई गजलको पहिचान दिएनन्, गीत शीर्षकभित्रै मिसाइदिए। त्यही बेला वरिष्ठ संगीतकार अम्बर गुरुङको संगीत र तारादेवीको स्वरमा कवि भूपि शेरचनको गजल ‘किन यौवन उदास–उदास छ मेरो, किन नयन निरास–निरास छ मेरो,’ गाइएको थियो भनिन्छ तर त्यसको सुर, ताल र गायकी कस्तो थियो, सुन्न पाइएको छैन।

डाक्टर कृष्णहरि बरालले ‘गजल ः सिद्धान्त र परम्परा’ पुस्तकमा गजल गायकी उपशीर्षकमा मृगतृष्णा एल्बमबारे चर्चा गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘उहाँको किताबमा मृगतृष्णले स्थान पायो। त्यो मेरा लागि ठुलो कुरा हो।’

तत्कालीन गजल बजाउने एकमात्र माध्यम रेडियो नेपालबाट पनि गजलको पहिचानका लागि कुनै प्रयास भएन। गाउनेले गजल भनेर गाए पनि रेडियो नेपालले ‘आधुनिक गीत’ भनेर बजायो। बरू गुलाम अलीले गाएका मविवि शाहका गीतहरूलाई गजल भनेर बेलाबेलामा चर्चा गर्थे आरजेहरू।
चालीसको दशक पनि नेपाली गजल गायन परम्पराका हकमा अलमलमै बित्यो। एकैपटक ०५० मा मोतीराम भट्टको ‘यी सानै उमेरदेखि मन हर्न लागे,’ सहित आठवटा गजल समेटेर गायक तथा सङ्गीतकार शक्तिबल्लभले ‘गजल’ एलबम निकाले। शक्तिबल्लभको यो प्रस्तुतिसँगै नेपाली गजल गायन परम्पराको रथ यात्रा सुरु भएको मानिन्छ।

तिनै दिनमा नेपाली गजल पुनर्जागरणको महत्त्वपूर्ण हिस्सा गजलगो मनु ब्राजाकी गायन क्षेत्रमा गजल सुहाउँदो आवाजको खोजीमा थिए। त्यही क्रममा ब्राजाकीको आँखामा परे, गायक बसन्त खड्का। ‘त्यो बेला फिल्मी धुन र गीतहरूको लहर चलेको थियो। गजल गाएर कसले टाउको दुखाउने भनिन्थ्यो। म पनि त्यस्तै सोच्थें,’ गायक खड्का भन्छन्, ‘तर जब मनु ब्राजाकीसँग भेट भयो, गजल गायन परम्परा र नेपाली माटोको आवश्यकताको कुरो अगाडि आयो, म नेपाली गजलको मोहनी जालमा परिहालें।’ यो २०५६÷०५७ को कुरो हो। पुल्चोकमा गजलगो सुनील पुरीलाई साक्षी राखेर अग्रज गजलगो ब्राजाकी र गायक बसन्तबीच भएको त्यही प्रारम्भिक सम्झौता नै पछि नेपाली गजल गायन क्षेत्रमा निकै रुचाइएको ‘मृगतृणा’ एल्बमको आधारभूमि थियो।

यसबेला ज्याकारान्डा फुलेर राजधानी सहर नीलाम्मे भएको छ। बसन्त ऋतुको यही शुभ बेलामा नौ वर्षपछि आमाबुबा र साथीभाइ सम्झेर अमेरिकाबाट नेपाल आएका गायक बसन्त खड्का नेपाली गजल गायनमा थप रचनात्मक काम गर्न लागिपरेका छन्।  १४ वर्षदेखि अमेरिका बस्दै आएका खड्कासँग १९ वर्षपछि ललितपुर, धोबीघाटस्थित उनकै निवासमा दोस्रो भेट भयो। समयको यो अन्तरमा परिदृश्यहरू बदलिए। पृष्ठभूमि बदलिए। विचारहरू बदलिए। प्रविधि बदलिए। तर गजल गायनमा उनको आत्मीयता र लगाव आज पनि उस्तै छ।

०५७ सालमा मनु ब्राजाकी साथ थिए, अहिले छैनन्। त्यो बेला बसन्त काठमाडौंमा काम गर्थे, अहिले नर्थ क्यारोलिनामा काम गर्छन्। त्यसबेला ‘मृगतृष्णा’ गजल एल्बमको तयारीको सिलसिला थियो, अहिले ‘कञ्चन’ गीत–गजल एल्बमको तयारी चलिरहेको छ। फरक यत्ति हो। म ब्राजाकीसँगै पेइङ–गेस्ट भएर बसेको थिएँ, धोबीघाटमा। नजिकै थियो बसन्तको घर। गजल संकलन र छनोटको सिलसिलामा एकदिन ब्राजाकी र पुरीले मलाई बसन्तको घर लिएर गए। मैले उनलाई केही गजल दिएँ। ब्राजाकी र पुरीले मेरो गजल लेखनको प्रशंसा गरेका थिए। खड्काले पनि ‘हुन्छ, म हेर्छु,’ भनेका थिए। तर त्यसबेला सुरु भएको गजल एल्बम निकाल्ने सिलसिलाले सात वर्षपछि मात्र पूर्णता पायो।

०६३ मा खड्काले ‘मृगतृष्णा’ शीर्षकमा एल्बम निकाले, जसमा मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, बूँद राना, रत्नशम्शेर थापा, ललिजन रावल, रवि प्राञ्जल, विजय वजिमय, रासा, धीरेन्द्र प्रेमर्षि र सुनील पुरीका गजल परे, मेरो परेन। सायद मेरा शब्दहरूले उनलाई छोएनन्।
दोस्रो भेट भने पहिलोभन्दा ठिक विपरीत भयो। दुई साताअघि नेपाल आएका उनले पुराना परिचितहरू को–कहाँ भनेर खोजीनिती गरे। त्यही क्रममा म फेला परें। भेटमा मैले ‘जूनको आगो’ गजल–संग्रह सप्रेम हस्तान्तरण गरें।

‘यो संग्र्रहमा जे छ, त्यो त म हेर्छु नै, यसबाहेक अरू नयाँ केही लेख्नुभएको छैन ?,’ उनले सोधे।
‘छ नि !’ मैले भनें।
‘सुनौं त, के छ नयाँ ?’ उनी जिज्ञासु भए।
त्यसपछि मैले आफ्नो पछिल्लो गजल सुनाएँ–
‘यता हे¥यो चिहान देख्छु, उता हे¥यो चिहान देख्छु।
के हुँदै छ बस्तीभित्र ? ज्युँदो एक्लो भगवान् देख्छु।’
‘कस्तो राम्रो। सुरुकै दुई हरफले मेरो मनै छोयो। लु, यो गजल अरू कसैलाई पनि नदिनू, यसमा म गाउँछु,’ उनले भने, ‘यसमा तीन शेर रहेछ एउटा अर्को शेर थप्यो भने ठिक्क हुन्छ।’

गजल गाउने मामलामा निकै ‘चुजी’ र सौखिन छन् बसन्त। शब्दमा कालजयी हुने क्षमता छ कि छैन, निकै विचार गर्छन्। मन छोयो भने ठिक छ। छोएन भने छोएन–छोएन। भन्छन्, ‘राम्रा शब्द छन् भने धेरै सिँगारीरहनु पर्दैन।’

समाजमा जहिले पनि गीत–सङ्गीतको क्षेत्रमा आत्मनिर्भरताको प्रश्न उठ्ने गर्छ। लेख्नेले लेखेर, गाउनेले गाएर र बजाउनेले बजाएर बाँच्न सक्ने वातावरण हुनुपर्छ भनिन्छ। गीत–सङ्गीतको रोयल्टी संकलन गर्नेसंस्था पनि थुप्रै छन्। तर बसन्त यी सबै तर्कना, बहस, विवाद र आवश्यकताको घेराबाट परै छन्। आफू पैसाका लागि होइन, शोखका लागि गायक भएको बताउने उनका कुरा सुन्दा लाग्छ, आजको व्यावसायिक जमानामा पनि गीत–संगीते क्षेत्रमा आफ्नो लगानी गर्ने र रमाउने उनी जस्ता मान्छे पनि छन् समाजमा।

‘म सोखिन गायक हुँ। मैले भ्युअर बढाउने, रोयल्टी खाने बारेमा अहिलेसम्म सोचेको छैन,’ अग्रज संगीत–साधक अम्बर गुरुङका चेला बसन्त भन्छन्, ‘म क्षणिकका लागि होइन, जिन्दगीका लागि गाउँछु। अरूले भनेर होइन, आफ्नो रुचिले गाउँछु।’ डाक्टर कृष्णहरि बरालले ‘गजल ः सिद्धान्त र परम्परा’ पुस्तकमा गजल गायकी उपशीर्षकमा मृगतृष्णा एल्बमबारे चर्चा गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘उहाँको किताबमा मृगतृष्णले स्थान पायो। त्यो मेरा लागि ठुलो कुरा हो।’

०३६ सालमा रेडियो नेपालको चर्चित कार्यक्रम पाण्डव सुनुवारको ‘चौतारी’मा सरोज कार्थकको संकलन रहेको ‘कर्ममा छैन क्या गर्नु ज्यानले,’ बोलको तामाङ सेलो गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका बसन्त यो क्षेत्रमा निरन्तर राम्रो गर्ने चाहनाको बलमा आजसम्म टिकिरहेका छन्। किशोर तथा युवा वयमा त्यसबेला गायन क्षेत्रमा प्रवेश गर्नुअघि छिचोल्नैपर्ने फलामे ढोका रेडियो नेपालको ‘भ्वाइस टेस्ट’ एकफेरा अनुत्तीर्ण हुँदा निरासिएका, लाखापाखा लागेका थुप्रै छन् समाजमा। तर त्यस्तो स्वर परीक्षामा दुई–दुईपल्ट अनुत्तीर्ण हुँदा पनि आफ्नो सोखको भुत्भुते बचाइराख्ने उनको लगाव मान्नुपर्छ।

चालीसको दशकको प्रारम्भमा म्युजिक नेपाल नामक संगीत उत्पादक संस्था स्थापना भयो, जुन घटना बसन्तका लागि ‘के खोज्छस्…,’ भनेसरह भयो। उनले म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मालाई पाँच हजार रुपियाँ दिएर १० वटा गीत गाए। त्यो भनेको गीत–सङ्गीतप्रतिको लगाव देखेर नयाँलाई प्रोत्साहन गर्ने हिसाबले बसन्तलाई दिइएको मौका थियो। तिनै १० वटा गीत समेटिएको ‘गोधूली’ एल्बम उनको गायन जीवनको पहिलो कोसेढुंगाा हो।

०४६ सालको जनआन्दोलनपछि नरबहादुर दाहालसँग मिलेर १२ वटा गीत भएको ‘लालीमा’ एल्बम लोकार्पण गरे। गीतकार रत्नशम्शेर थापाको सभापतित्व र संगीतकार अम्बर गुरुङको आतिथ्यमा भएको ‘लालीमा’ एल्बम लोकार्पण समारोह नै नेपालमा भएको पहिलो ‘क्यासेट विमोचन’ समारोह थियो। पछि ०५७ मा १० वटा गीतको एल्बम ‘छहरा’ र ०६३ मा अम्बर गुरुङको एउटा गीतसहित १० वटा गजल समेटेर ‘मृगतृष्णा’ एल्बम बजारमा आयो। अहिले पाँचौं एल्बम ‘कञ्चन’को तयारी हुँदै छ।
‘मृगतृष्णा’मा बसन्तले काम गर्नुको कारण मनु ब्राजाकीजस्ता अग्रज स्रष्टाको आग्रह र सहयोगमात्र थिएन, समकालीन गजल गायनमा नौलो आयाम स्थापित गर्न सकिने लालसा पनि थियो। नभन्दै बसन्तको संगीत र शरद गुरुङको एरेन्जसहित सार्वजनिक भएको ‘मृगतृष्णा’ गजलप्रेमीहरू किनै रुचाए।

‘ऊ बेला हामीले गाउँदा गजल गाउने मान्छे भनेर अचम्म मानेर हेर्थे,’ बसन्त भन्छन्, ‘अचेल त्यो बेलाको जस्तो शब्द–शब्द केलाउने चलन कम छ। गायकहरू पैसामा बिकेको देख्दा चित्त बुझ्दैन।’ उनका अनुसार एरेन्जरहरू महँगो हुँदै जाँदा सर्जकहरू मारमा पर्छन्। गीत–संगीतको मर्ममा चोट पर्छ।

‘कञ्चन’ एल्बममा वरिष्ठ संगीतकार अम्बर गुरुङको शब्द र सङ्गीत भएको ३० वर्ष पुरानो एउटा गीत पनि छ। ‘राजमार्ग कतै छ, कतै सडक छ, एउटा न एउटा हिँड्ने बाटो छ,’ बोलको सो गीत गुरुङ आफ्ना चेलाचेलीलाई संगीत सिकाउँदा क्वायर (समूह गायन)मा गाउन लगाउँथे। उनले गुरुङका छोरा किशोर र परिवारको अनुमतिमा यो गीत रेकर्ड गरेका हुन्।

छोरीको नामबाट न्वारान गरिएको ‘कञ्चन’मा रत्नशम्शेर थापाले ०२१ सालमा लेखेको ‘भन लौ किन मेरो घुम्टो उघारेको, हेरने रहरले तिमी रिसाएको,’ बोलको गीत पनि छ। ‘जुन बेला नारायणगोपालले ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो गाएका थिए, त्यही बेलाको गीत हो यो। त्यही भएर गीत कहिले मर्दैन। संगीत कहिले पुरानो हुँदैन,’ उनले भने। यसबाहेक अरू छानिएका गजल छन् कञ्चनमा, जसलाई भ्वाइस अफ स्टुडियोका दीपरत्न तुलाधरले एरेन्ज गरिरहेका छन्।
यसरी जिन्दगीमा जहाँ गए पनि जहाँ भए पनि बसन्त नेपाली गीत–संगीतमा विशेषगरी गजलमा सकेसम्म राम्रो गर्ने मृगतृष्णा (मृग मरीचिका) बोकेर हिँडिरहेका हुन्छन्, जहाँ ओयासिस देखापर्छ त्यहीं आनन्दले रमाउन थाल्छन्।