fbpx
Uncategorized

फिल्म समीक्षाः ‘जात्रै जात्रा’ भद्र मनोरञ्जन मात्रा

जीवन के हो ? कति विचारक एवं दार्शनिकले सदियौंदेखि यसको जवाफ खोज्दै आए । तर, सर्वमान्य निचोड दिएनन् । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जात्रै-जात्रा’ निष्कर्षमा पुगेको छ, ‘जीवन जात्रा हो ।’

एकातिर टाल्दा, अर्कोतिर भ्वाङ पर्ने । एकातिर मिलाउँदा, अर्कोतिर भत्कने । एकातिर तान्दा, अर्कोतिर फुत्कने । न यसो गर्दा हुन्छ, न उसो गर्दा । जीवन ‘जात्रै’ त हो ।

‘जात्रा’लाई नेपाली समाजले दुईवटा अर्थमा लिन्छ, एउटा उत्सव । अर्को, भद्रगोल ।

जीवन भद्रगोल मात्र छैन, उत्सवमय पनि छ । जीवनका यिनै आयमलाई बाँधेर निर्माण गरिएको चलचित्र हो, जात्रै जात्रा । तीन बर्षअघि प्रदर्शित ‘जात्रा’ जुन मोडमा आएर टुंगिन्छ, ‘जात्रै जात्रा’ त्यही फेरो समातेर अगाडि बढ्छ ।

कस्तो छ कथा ?

कैद मुक्त भएका फणिन्द्र (विपिन कार्की), जोयस (रविन्द्रसिंह बानिया), मुन्ना (रविन्द्र झा) समाजमा पुर्नस्थापित हुन चाहन्छन् । उनीहरु तीन बर्षअघि नक्कली नोट काण्डमा पक्राउ परेका थिए ।

यी तीन अधवैंशे समाजमा फर्किएका त छन्, तर के गर्ने ? कुनै मेलोमेसो पाएका छैनन् । यत्तिका बर्ष कैदी बनिरहँदा उनीहरुको जीवनको लय छुटेको छ । घर-व्यवहार बिगि्रएको छ । अब यसलाई कसरी सपार्ने ? यो प्रश्नले भन्दा पनि जीवनमा लागेको दाग कसरी मेटाउने भन्ने प्रश्नले उनीहरुलाई चिथोरेको छ ।

कारागारबाट छुटेका जोयस आफ्नो घरतिर लाग्छन् । फणिन्द्र ट्याक्सी कुदाउन थाल्छन् । मुन्ना कैची चलाउन थाल्छन् । सबै कुरा ठिकठाक हुँदै जान्छ । तर, यही मोडमा आइपुगेपछि फणिन्द्र यस्तो भुँमरीमा फस्न पुग्छन्, जसले उनको जीवन-चक्र फनफनी घुमाइदिन्छ । यसले बाँकी दुई मुन्ना र जोयसलाई पनि छाड्दैन ।

के छ राम्रो ?

संवाद, हाउभाउ र हुलियाबाट मात्र हँसाउने चेष्टा गरिएको छैन । बरु परिस्थिती र प्रवृत्तिले स्वभाविक हाँसो पैदा गर्छ । तर, यसले सम्पूर्ण ताकत हँसाउनमा मात्र खर्चिएको छैन । समाजको ति सुक्ष्म र अदृश्य पाटोलाई पनि उँधिनेको छ, जो आफैमा ठट्टाको विषय होइनन् ।

सजाय भुक्तान गरेर वा बेकसुर प्रमाणित भएर कैदमुक्त भएकाहरु कस्तो मनोदसा लिएर समाजमा पर्खन्छन् ? उनीहरुलाई समाजले स्वागत गर्छ वा तिरस्कार ? उत्साह दिन्छ कि उपेक्षा गर्छ ?

फणिन्द्र, जोयस र मुन्ना नियतले नभई परिबन्धले जेल परेका हुन् । उनीहरु बेकसुर छन् । तीन-तीन बर्ष कैदीबन्दी बनिरहँदा उनीहरुको घरबार बिगि्रएको छ । तर, त्यसको क्षतिपूर्ति कसले दिने ? हाम्रो कानुनसँग जवाफ छैन । यी तीनै अधवैंशे समाजमा पुर्नस्थापित हुन चाहन्छन् । जबकी समाजले उनीहरुलाई त्यही आँखाले हेर्छ, जसमाथि ‘ठग’, ‘चोर’, ‘अपराधी’को आरोप लागेको छ ।

एकातिर टाल्दा, अर्कोतिर भ्वाङ पर्ने । एकातिर मिलाउँदा, अर्कोतिर भत्कने । एकातिर तान्दा, अर्कोतिर फुत्कने । न यसो गर्दा हुन्छ, न उसो गर्दा । जीवन ‘जात्रै’ त हो

आखिरमा उनीहरु जीवनको लय मिलाउनमा भन्दा पनि समाजको दृष्टिदोष पखाल्नमै तल्लिन हुनुपर्ने हुन्छ । अन्ततः यसले उनीहरुलाई धकेल्दै त्यही भङ्गालोमा पुर्‍याउँछ, जहाँ जालझेल, लुछाचुडी, छलकपट, खिचातानीको अँध्यारो साम्राज्य छ । यही साम्राज्यभित्र जस्तोसुकै इमान्दारिता पनि स्खलित हुनपुग्छ ।

दिनहुँ कति कैदीबन्दी जेलको पर्खालबाट बाहिर आउँछन् । उनीहरुले समाजबाट कसरी क्षमादान लिन्छन् र घुलमिल हुन्छन् ? सायदैले खोजेका छन् । कैदमुक्त भएपछि भ्रष्ट नेता/मन्त्रीलाई फूलमाला र अबिरले स्वागत गर्ने समाजले सामान्य व्यक्तिलाई भने धारे हात लगाउने र नाख खुम्च्याउने गर्छ । यही प्रवृत्तिले सद्दे मान्छे पुनः अपराधकर्ममा र्फकन्छ ।

यस किसिमको उपेक्षा र तिरस्कारले उनको परिवार र बालबच्चालाई कसरी विथोल्छ ? अर्को संवेदनसिल पक्ष हो । फणिन्द्रलाई ‘नालायक र ठग’ बनाएर अलग गरिदिएपछि उनको नावालक छोरोको मनोविज्ञानमा जसरी ठेस पुग्छ, त्यो आज कैयौं बालबालिकाले झेलिरहेका छन् । कमेडी जनराको चलचित्रमा यस्ता दृश्यहरु पनि छन्, जसले दर्शकको मन भक्कानिन्छ ।

मान्छे चाहेर बेइमान हुँदैनन् । बेइमान बनाइन्छ । ‘जात्रै-जात्रा’को मूल मर्म यत्ति हो । यति संवेदनसिल विषयलाई मनोरञ्जनात्मक ढंगले पेश गर्नु प्रदीप भट्टराईको खुवी हो ।

विपिन कार्की, जसको उपस्थितीले यस चलचित्रको तौल बढाएको छ । फणिन्द्रको चरित्रमार्फत उनले कति स्वभाविक ढंगले हँसाउँछन्, रुवाउँछन् । रविन्द्रसिंह र रविन्द्र झा पनि जोडदार छन् । फणिन्द्रको छोरोको भूमिकामा अवि्रन खड्काले जति स्वभाविक अभिनय गरेका छन्, दर्शकको मन छुन्छ ।

चलचित्रको क्लाइमेक्स गज्जब छ । कथाको बान्की र सिलसिला मिलाइएको छ ।

के छ कमजोरी ?

‘जात्रा’ जत्तिको कसिलो छैन ‘जात्रै-जात्रा’ । ‘जात्रा’ले दर्शकमा जसरी भय, त्रासदी, अत्यास पैदा गरेको थियो, ‘जात्रै-जात्रा’मा ति तत्व छैनन् ।

कथाको वहकाव मोड्न केही यस्ता घटनाहरु घटित गराइन्छ, जो त्यती जोडदार छैन । जस्तो दावाको कब्जाबाट फणिन्द्रको पोल्टामा सुन पुग्नु । १० केजी सुन ओसार-पसारमा त्यती असावधानी अपनाएको, कोठा-कोठामा सुन लुकाइरहँदा सुराक नपाएको कुरा तर्कसंगत लाग्दैन । दर्शकलाई हँसाउनकै लागि सुन तस्करलाई त्यती कमजोर र मूर्ख बनाइएको हो ?

सुनकाण्डका मास्टर माइन्ड दावा (दयाहाङ राई)को चरित्र र मनोविज्ञान आपसमा बाझिएको छ । उनका आसेपासेको उपस्थिती त्यती स्वभाविक देखिदैन ।

फिल्म: जात्रै जात्रा

निर्देशक: प्रदीप भट्टराई

कलाकार: विपिन कार्की, दयाहाङ राई, रबिन्द्रसिंह बानिया, रबिन्द्र झा, बर्षा  राउत

जनराः कमेडी

अवधि: २ घण्टा १७ मिनेट